चुनावी माहोलले छपक्कै छोपेको छ। नेताहरू जनता फकाउन घरघर पुगिरहेका छन्। जहाँसुकै पार्टीगत चुनावी गीत घन्काउँदै उम्मेदवारहरुको लस्कर हिँडिरहेको देख्न सकिन्छ।
हरेक पार्टीका चुनावकेन्द्रित प्रचारात्मक गीतहरू युट्युबमा सार्वजनिक भइरहेका छन्। टिकटक र अरु सामाजिक सञ्जालमा पनि तिनै गीत छाएका छन्।
यसपालिको चुनावमा, अब की बार बालेन सरकार, युवाको आशा भरोसाको केन्द्र गगन दाइ, बदलियो कांग्रेस बदल्छौँ देश, घण्टी बजाऊ, रवि बालेन छानौँ, रेनु दाहाललाई जिताउन, देशभरि घण्टीको लहर, एमाले हुँ म, राष्ट्रनायक प्रचण्ड, यसपालिको भोट कांग्रेसलाई नामका गीत ज्यादा चर्चामा छन्।
जब–जब चुनाव नजिक आउँछ, तब–तब पार्टीगत चुनावी गीतहरू आउन थाल्छन्। जुन पुरानै प्रचारात्मक शैली हो। माओवादीले जनयुद्धताका गीतसंगीतको प्रयोग बडो रोचक तरिकाले गरेको थियो। त्यतिबेला आएका जनवादी गीतहरूमा परिवर्तनशील र क्रान्तिकारी भाव थिए। जसमा दबिएका जनताले आफूलाई भेटाउँथे। गणतन्त्र ल्याउन ती गीतहरूले पनि निकै सहयोग गरेका थिए।
२०६४ यता हरेक चुनावमा पार्टी तथा उम्मेदवारहरूले चुनावी गीत ल्याउँदै आएका छन्। यद्यपि, २०७४ को स्थानीय चुनावमा आएको एमालेको चुनावी गीत ‘मै पनि एमाले’ अत्यधिक चर्चित भयो। यसलाई अहिलेसम्मकै हिट चुनावी गीतको रूपमा हेरिन्छ। पछिल्लो आठ वर्षमा प्रतिनिधि र स्थानीयसहित यो पाँचौँ चुनाव हो। तर, अहिले पनि यो गीत एमालेको चुनावी कार्यक्रममा घन्किरहेकै छ।
‘मै पनि एमाले’ सहित अरु कयौँ चुनावी गीतहरू सधैँ हिट छन्। जुन गीत बजेपछि बल्ल चुनाव आएको महसुस हुन्छ। २०७४ देखि सर्वाधिक हिट भएका चुनावी गीतबारे चर्चा गरौँः
मै पनि एमाले
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले ठूलो जनधनको क्षति भयो। त्यतिबेला नेपालीहरूमा मनोवैज्ञानिक रूपमा एकताको भाव पैदा भएको थियो।
असोज ३ गते नेपालको संविधान जारी भयो। त्यसमा असन्तुष्ट जनाउँदै भारतले आर्थिक नाकाबन्दी लगायो। नाकाबन्दीका बेला तत्कालीन प्रधानमन्त्री थिए एमालेका केपी शर्मा ओली। भारतसँग नाकाबन्दी खुलाउन उनी सफल भए। जसकारण त्यसबेला उनको क्रेज व्यापक बढेको थियो।
२०७४ सालमा स्थानीयसहित प्रतिनिधि र प्रदेश सभाको चुनाव तोकियो। स्थानीय चुनावकै लागि ‘मै पनि एमाले’ गीत ल्याइएको सुनाउँछन् वैकुण्ठ महत। यो गीत महतकै लगानी र नेतृत्वमा आएको थियो। जुन गीत मतदातासहित गैरमतदाताहरूले समेत निकै मन पराए। यस गीतले त्यसबेलाको चुनावमा समेत ठूलो योगदान गरेको ओली स्वयंले स्वीकारेका थिए।
तर, महतले भने विषम परिस्थितिमा ओली र एमालेको क्रेज व्यापक हुँदा यो गीत अझै चर्चित हुन पुगेको सुनाए।
उनले भने, ‘०७४ सालको स्थानीय चुनावमा हामीले यो गीत ल्याएका थियौँ। त्यो परिस्थितिमा नेपालीहरूको मनोवैज्ञानिक एकतासहित संविधानले थप ऊर्जा दिएको थियो। जसले नेपालीहरूमा देश बनाउनुपर्छ भन्ने उत्साह थियो। त्योबेला एमालेलाई धेरैको सपोर्ट पनि थियो, निर्वाचनमा राम्रो नतिजा पनि आएको थियो।’
विद्यार्थी जीवनदेखि नै एमालेमा आस्था राख्ने महतले आफूले व्यक्तिगत लगानीमा यो चुनावी गीत ल्याएको दाबी गरे। त्यसपछि एमालेको जनसांस्कृतिक संघको अध्यक्ष समेत भएका उनले पार्टीको सकारात्मक ऊर्जा र खबरदारीको लागि चुनावी गीत ल्याउने गरेको सुनाए।
उनका अनुसार त्यसवर्षको चुनावमा उनले आठ वटा चुनावी गीत ल्याउनुपर्ने जिम्मा लिएका थिए। जसमध्ये ‘मै पनि एमाले’ गीत नारायण भण्डारीले लेखे। यस गीतमा बद्री पङ्ग्रेनी र प्रिया भण्डारीले स्वर भरे। गीतको भिडिओमा पार्टीकै फुटेजहरू राखिएको थियो। अडियोमा डेढ लाख खर्च गरिएको गीत महतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। टिकटकदेखि सामाजिक सञ्जालमा व्यापक हिट यस गीतले युट्युबमा पनि ६६ लाख भ्युज पाएको छ।
झ्याप्पै रुखमा छाप लाउनी
कांग्रेस पार्टीको ‘झ्याप्पै रुखमा छाप लाउनी’ पनि चर्चित चुनावी गीतमा पर्छ। यो २०७९ को चुनाव प्रचारप्रसारका लागि बनाइएको गीत हो। हुन त त्यतिबेला कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो। तर, ‘झ्याप्पै रुखमा छाप लाउनी’ नितान्त नेपाली कांग्रेसको पार्टीको प्रचारात्मक गीत हो।
यस गीतमा विमलराज क्षेत्री र प्रीति आलेको स्वर रहेको छ। खेम पुनको संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन्।
गायक विमलराजका अनुसार यो गीत नवराज पन्त र खेम पुनको टिमबाट निकालिएको थियो। यस गीतको भिडिओमा राम्रै खर्च भएको उनले सुनाए।
विद्यार्थी कालदेखि नै कांग्रेसप्रति आस्था राख्ने विमलले पहिल्यैदेखि कांग्रेसका गीत गाउँदै आएका छन्। यसअघि उनले कांग्रेसका लागि सुन सुन साथी, जय नेपाल नाराले, कांग्रेसको सिपाही म लगायतका चुनावी गीतहरू गाएका थिए। यसपटकको चुनावमा पनि उनले बदलियो कांग्रेस, बदल्छौँ देश बोलको गीतमा स्वर दिएका छन्।
तर, ‘झ्याप्पै रुखमा छाप लाउनी’ धेरै मन पराइएको छ। युट्युबमा यस गीतलाई साढे आठ लाख पटक हेरिएको छ। गायक क्षेत्रीले पनि यस गीतलाई धेरै रुचाइएको स्वीकारे।
‘यो धेरैले मन पराउनुभएको छ। यसमा पार्टीसहित देशसँग जोडिएका कुराहरू छन्। नेपालको भूगोल, शासन प्रणाली र नेपालको भविष्यसँग जोडिएका कुराहरू छन्। इतिहासका कालखण्डमा के–के कुराहरू हुँदै आए। यसमा नेपाली कांग्रेसको भूमिका कस्तो हुँदै आयो र आगामी देशको भविष्य कस्तो बनाउने भन्ने कुराहरू सकारात्मक रूपमा यस गीतमा प्रस्तुत गरिएको छ,’ उनले भने।
आयो माओवादी
२०७९ को चुनावताका सार्वजनिक भएको चुनावी गीत ‘आयो माओवादी’ रुचाइएको गीत हो। चेतन गोतामे युट्युब च्यानलमार्फत सार्वजनिक गीतको शब्द गजेन्द्र परियारले लेखेका हुन्।
नेपाली लोकशैलीमा तयार पारिएको गीतमा चेतन गोतामेसहित निरु श्रीष मगरको स्वर सुन्न सकिन्छ। गीतमा चेतन गोतामेको म्युजिक एरेन्ज छ। गीतलाई युट्युबमा आठ लाख पटक हेरिएको छ।
मनोरञ्जनसहित विभिन्न राजनीतिक घटनालाई उजागर गर्ने र जनताको आवाज बोल्ने गीत ल्याएको गोतामेको भनाइ छ। उनले गीतसंगीतको माध्यमबाट समाज रूपान्तरणको अभियान चलाउन खोजेको बताए।
उसो त माओवादीले पहिल्यैदेखि चुनावी गीत निकाल्दै आएको थियो। अखिल जनसांस्कृतिक महासंघमा चन्दा उठेको पैसाबाट चुनावी गीत ल्याउने गरेको चेतन सापकोटाले बताए।
कम्युनिस्ट आस्था राख्ने भएकाले माओवादीबाहेक अरूको गीत नगाएको उनले बताए।
‘म जनताको मात्रै गीत गाउँछु। कम्युनिस्ट र प्रचण्डको विचार बोकेर हिँडेको मान्छे हुँ। धेरै पार्टीको चुनावी गीत गाउँदा विश्वसनीयता पनि कम हुन्छ। २०/३० वर्षदेखि राजनीति गरेको ममा र अरूमा के फरक हुन्छ?’ सापकोटा भन्छन्।
उनका अनुसार यसपटक भने महासंघले चुनावी गीतको लागि बजेट छुट्याएको छैन। अहिले पार्टीभन्दा पनि स्वतःस्फूर्त र व्यक्तिगत रूपमा पार्टीलाई सहयोग गर्छु भनेर केहीले गीतहरू ल्याएको उनको भनाइ छ।
यसअघिको चुनावमा चेतनले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर गठबन्धनलाई नजिताइ भाछैन बोलेको गीत ल्याएका थिए। उनले उठ क्रान्ति अझै बाँकी छ, साथीहरू हो, हो हो हामी माओवादी हो लगायतका गीत गाइसकेका छन्। यसवर्ष भने उनले राष्ट्रनायक प्रचण्ड बोलको गीतसहित ५ वटा गीतमा स्वर दिइसकेका छन्।
पहिले जनसांस्कृतिक महासंघबाट २० लाख छुट्याउने गरेको उनले सुनाए। जसबाट १०/१२ गीतहरू निकाल्ने गरेको उनले सम्झे।
उनले भने, ‘स्थानीय कलाकारलाई चाहिँ धेरै फाइदा हुन्छ। उनीहरू नआउँदा माहोल बन्दैन। त्यस्तो अवस्थामा स्थानीय माननीयहरूले र गाउँका माननीयले पैसा खर्च गर्नुहुन्छ। तर, केन्द्रमा समग्र गीतसंगीतको लागि २० लाख छुट्याएको थियो। १०/१२ वटा निस्किन्छ। त्यसमा पनि हामीले श्रमदान गर्छौँ। २० लाखबाट एक करोडको काम निकाल्छौँ।’
घण्टी टिनिनी
‘घण्टी टिनीनी’ गीत पनि चलेको चुनावी गीतमा पर्छ। रविन लामिछानेको शब्द रहेको यस गीतमा सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ।
खड्काकै म्युजिक रहेको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्। यस गीतमा रास्वपाका सभापति रवि लामिछानेको गुनगान गाइएको छ।
जुलाई २३, सन् २०२३ मा सार्वजनिक भएको यो गीत यसपालिको चुनावमा पनि उत्तिकै चर्चामा छ। टिकटकमा चलेको यस गीतलाई युट्युबमा १६ लाखभन्दा बढी पटक हेरिएको छ। गीतको भिडिओमा अर्जुन सापकोटा र रुविना अधिकारी फिचर्ड छन्।
मेरो देशै एमाले, म त यसै एमाले
२०७९ को चुनावताका रिलिज भएको नेकपा एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ निकै चलेको गीत हो। यस गीतमा सुजन लम्सालको शब्द र संगीत रहेको छ। यस गीतमा बद्री पङ्ग्रेनीसहित रामजी खाण, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, पूर्णकला बिसी, सुनिता बुढा क्षेत्री लगायतका चर्चित कलाकारको स्वर रहेको छ। यस गीतलाई युट्युबमा १५ लाख पटक हेरिएको छ।
समग्रमा हेर्दा अरू पार्टीभन्दा एमालेका गीतहरू बढी चलेका छन्। सूर्यमै भोट हालौँ पनि चलेको चुनावी गीत हो। रामप्रसाद अवस्थीको शब्द र संगीत रहेको छ। गीतमा रामसहित पूर्णकला बिसीको स्वर रहेको छ। २०७९ ताका ल्याइएको यस गीतमा लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउने कुरालाई विशेष जोड दिइएको छ। गीत झण्डै आठ लाख पटक हेरिएको छ।
गायक वैकुण्ठ महतले पनि गीतसंगीतमा एमालेले अगुवाइ गरेको बताए।
Shares

प्रतिक्रिया