दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गरिरहेको संस्था ‘आस्था-फेथ’ले भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई खुलापत्र लेखेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनलाई ‘आस्था-फेथ’की कार्यकारी प्रमुख रिना लामाले खुलापत्र लेखेकी हुन्।
उक्त संस्थाले तीन हजार यौनकर्मीका अनुभवका आधारमा निर्माण गरेको फिल्म ‘लालिमा’ फागुन २९ देखि देशभरका हलमा प्रदर्शन भइरहेको छ।
कार्यकारी प्रमुख रिना भन्छिन्, ‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले फिल्म बनाएका हौँ।’
यो फिल्म कथा मात्र नभई हजारौँ यौनकर्मीको सामूहिक आवाज भएको दाबी उनले गरेकी छन्।
रास्वपाका वरिष्ठ नेता बालेनलाई लेखिएको खुलापत्रमा लाखौँ यौनकर्मी महिलाले हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कार भोगिरहेको उल्लेख गरिएको छ।
‘यौनकर्मीहरूमध्ये धेरै दैनिक रूपमा दुर्व्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ। तर उनीहरूको अनुभवहरू नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ। र, जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ’, पत्रमा लेखिएको छ।
पत्रमा बालेनलाई ती महिलाको मानवअधिकार सुनिश्चित गर्न संवादका लागि निम्तो दिइएको छ।
साथै पत्रमा राज्यले यौनकर्मीलाई मानवका रूपमा सम्मान-सुरक्षा ध्यान दिनुपर्ने र उनीहरूको उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याइएको छ।
कार्यकारी निर्देशक लामाले पत्रको अन्त्यमा लेखेकी छन्, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु हो। राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ।’
यस पत्रले सामाजिक सुधार र मानवअधिकारको क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने लामाको विश्वास छ।
Shares

प्रतिक्रिया