अर्जेन्टिनाका एक शीर्ष लिग च्याम्पियन्स ट्रफीको फाइनल खेलमा रेफ्रीले १० खेलाडीलाई रातो कार्ड दिएका छन्। कतार विश्वकप खेलाउनेमध्येका एक रेफ्री फाकुन्डो टेलोले बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा १० वटा रातो कार्ड दिएका हुन्।
आइतबार भएको खेलमा पहिला बोका जुनियर्सले १९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। रेसिङ क्लबका माटियास रोजासले बराबरी गोल फर्काएपछि निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।
खेलको ११८ औं मिनेटमा रेसिङ क्लबका लागि कार्लोस अल्काराजले विजयी गोल गरेका थिए।
अल्काराजको गोलसँगै खेलमा तनाव उत्पन्न भएको थियो। गोल गरेपछि उनले बोका जुनियर्सका फ्यानको अगाडि गरेर विवादास्पद तरिकाले उत्सव मनाए। त्यसपछि बोका जुनियर्सका खेलाडीहरुले उनलाई धकेल्नुका साथै कान तान्ने र बल प्रहारसम्म गरेका थिए।
त्यसपछि भएको झगडापछि रेफ्री टेलोले पाँच बोका जुनियर्सका खेलाडी र दुई रेसिङ क्लबका खेलाडीलाई रातो कार्ड दिए।
यसअघि नै खेलमा बोका जुनियर्सका दुई र रेसिङ क्लबका एक खेलाडीले रातो कार्ड पाएका थिए। यससँगै खेलमा समग्रमा १० रातो कार्ड देखाइएको हो।
प्रतिक्रिया