ad ad

गण्डकी


बजेट भाषणमा मुस्ताङको स्वादिलो आलु : किसानसँग जग्गा छैन, उत्पादनको बजार छैन

बजेट भाषणमा मुस्ताङको स्वादिलो आलु : किसानसँग जग्गा छैन, उत्पादनको बजार छैन

वाशुदेव मिश्र
जेठ १५, २०८० सोमबार १८:४०, पोखरा

सरकारले मुस्ताङको आलु प्रवर्द्धन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा प्रवर्द्धधनको घोषणा गरेसँगै मुस्ताङको स्वादिलो आलुले बजार पाउने र यसको ‘ब्राण्डिङ’ हुने सम्भावना बढेर गएको छ।

कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा वार्षिक ९ हजार ५ सय टन आलु उत्पादन हुन्छ। उनका अनुसार मुस्ताङका सबैजसो मानव बस्ती भएका सबैजसो ठाउँमा आलु खेती हुन्छ। हाल त्यहाँको ३१२ हेक्टरमा मात्र आलु खेती भइरहेको उनले बताए।

‘यहाँ व्यक्तिको नाममा असाध्यै कम जग्गा छ, जसले गर्दा आलु र अन्य खेती बिस्तारमा समस्या छ,’ उनले भने, ‘सरकारी स्वामित्वमा रहेको जग्गालाई भाडामा दिने व्यवस्था गर्न सकिएमा खेती बिस्तार हुन्छ।’ बस्ताकोटीका अनुसार त्यहाँ उत्पादन हुने आलु उन्नत जातको नै हो। ‘पहिला बाहिरबाटै बीउ ल्याएर आलु खेती सुरु गरिए पनि अहिले बीउ नै रैथाने भइसकेको छ, उच्च हिमाली भेगको भएकाले स्वादिलो हुनु यसको विशेषता हो,’ उनले भने।

ज्ञान केन्द्रले खेती बिस्तारलाई प्राथमिकता दिएको सुनाउँदै उनले मुस्ताङको लागि आधुनिक जातको आलुको बीउ अनुसन्धान, ब्राण्डिङ र बजारीकरण आवश्यक भएको बताए। उनका अनुसार यो वर्ष किसानहरुले आलुको राम्रो मूल्य पाएनन्। अघिल्लो वर्ष मुस्ताङमै ६० रुपैयाँ प्रति किलोग्राममा बिक्री भएको आलुको भाउ यो वर्ष ४५ रुपैयाँमा झर्यो।

‘यहाँको आलु ग्रेडिङ गरेर, प्याकेजिङ गरे बजारको समस्या हुँदैन,’ उनले भने, ‘हामीले आलु खेती प्रोत्साहनको लागि खेती बिस्तारमा नै जोड दिएका छौँ। डडुवा रोगका मुस्ताङमा समस्या छैन। तर जलवायू परिवर्तनले पोहर र अहिले पानी बढी परेको छ। त्यसले केही समस्या निम्त्याएको छ।  मलखाद पनि सर्पोट गर्छौं। प्राङ्गारिक मलमा अनुदानमा दिन्छौँ।’

गण्डकी नीति तथा योजना आयोगले २०७५ सालमा सार्वजनिक गरेको स्थितिपत्र अनुसार २०७४ सालमा २ हजार ५७४ मेट्रिक टन आलु उत्पादन भएको थियो।

उत्पादित आलु मुस्ताङकै जनतालाई भाग लगाउँदा एउटालाई मेट्रिक टन हुन आउँथ्यो। मुस्ताङको जस्तै स्वादिलो आलुको लागि चिनिएको बागलुङमा २४ हजार २६९, म्याग्दीमा ११ हजार १०१ र मनाङमा ५ हजार ६५१ मेट्रिक टन आलु उत्पादन हुन्छ।

२०७८ सालको जनगणना अनुसार मुस्ताङमा १४ हजार ४५२ जना नागरिक बसोबास गर्छन्। खेतीयोग्य जग्गाको बाँडफाट गर्दा त्यहाँ एउटा व्यक्तिको भागमा  ५.३ रोपनी जग्गा पर्छ।   

घरपजोङ र थासाङ तथा लोमान्थाङको को १ देखि ५ नम्बर वडा, बाह्रगाउँ मुक्तिक्षेत्रको १ देखि ४,लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको १ देखि ५ सम्मलाई आलु पकेट क्षेत्र घोषणा गरिएको छ।

मुस्ताङमा ३ लाख ५६ हजार ३२१ हेक्टर जमिन रहेकोमा खेतीयोग्य जमिन एक प्रतिशतमात्र रहेको छ। व्यक्तिको नाममा जग्गा नहुँदा खेतीयोग्य जमिन कम देखिएको हो।

गण्डकीमा प्रतिव्यक्ति उपभोग्य आलु आवश्यकताभन्दा २१ किलोग्राम बढी देखिन्छ तर सम्बन्धित जिल्लामा मात्र खपत गरिएको अवस्थामा कास्कीमा केही मात्रामा अपुग र तनहुँ र नवलपुरमा उल्लेखनीय मात्रामा अपुग देखिने नीति तथा योजना आयोगले जनाएको छ।

मुस्ताङको आलु लोकप्रिय रहे पनि त्यहाँ खाद्यान्नको भने अभाव नै छ। खेतीयोग्य जमिनमध्ये ७९.५ प्रतिशतमा अहिले खेती गरिरहेको अवस्था छ।

खेतीयोग्य जमिनमध्ये २०.५ प्रतिशत जमिन बाँझो छ भने ८७ प्रतिशत जमिनमा बाह्रै महिना सिंचाइ सुविधा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .