गण्डकी


मनाङमा आवतजावत पूर्ण अवरुद्ध, ३५ किलोमिटरमा ३५ वटै पहिरा

मनाङमा आवतजावत पूर्ण अवरुद्ध, ३५ किलोमिटरमा ३५ वटै पहिरा

लमजुङको बेशीसहर नगरपालिका–६ खरखरेमा गाडी चालक र यात्रु ढुङ्गा हटाउँदै। तस्बिर : नवीन लामिछाने/रासस


नेपालखबर
साउन २८, २०८० आइतबार १४:३७, काठमाडौँ

हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ। डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो।

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ। 

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिएए। 

‘केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ,’ उनले भने।

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए। निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए। 

सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताए। 

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए। 

‘लमजुङतर्फ ३५ किलोमिटर छ। किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्’, उनले भने।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेको जानकारी दिए। उनले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको पनि बताए।

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ। यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ।

खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad