गण्डकी


इमेज सहकारी पीडितद्वारा ढोरपाटनका मेयर देवकुमारको घरजग्गा लिलामी घोषणा

इमेज सहकारी पीडितद्वारा ढोरपाटनका मेयर देवकुमारको घरजग्गा लिलामी घोषणा

वाशुदेव मिश्र
माघ १२, २०८० शुक्रबार २०:५५, पोखरा

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक सञ्चालक रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उनको घरजग्गा लिलामीको सूचना निकालेका छन्।  

सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेकै बेला संघर्ष समितिको नाममा नेपालीको स्वामित्वमा रहेका विभिन्न कित्ताका जग्गा र घर बिक्रीको सूचना सार्वजनिक गरिएको हो।

इमेज बचत तथा ऋण सहकारी संघर्ष समिति बागलुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालीको स्वामित्वमा रहेको ४५ कित्ता घरजग्गामध्ये काठमाडौं, पोखरा र बागलुङ बजार तथा बुर्तिवाङमा रहेको घरजग्गालाई बिक्री गर्न चाहेको भन्दै किन्नेले १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले काठमाडौं महानगरपालिका ४ को घरलाई ७५ करोड, पोखराको घरलाई ४५ करोड, बागलुङ बजारको घरलाई २५ करोड र बुर्तिवाङको ८० करोड मूल्य तोकेर खरिद गर्न चाहनेको खोजी गरेको हो। त्यसका लागि अग्रिम २५ प्रतिशत रकम बुझाउनुपर्ने सर्तसमेत संघर्ष समितिको रहेको छ।  

यसरी उठ्ने अग्रिम मूल्यबाट देवकुमार नेपालीले लिएको ऋण तिरेर घरजग्गा समितिको नाउँमा ल्याउने र त्यसपछि मात्र देवकुमार नेपालीलाई झिकाएर जग्गा बेच्ने योजना कार्कीले सुनाए।

रोक्का रहेको घरजग्गा कसरी तेस्रो पक्षले बेच्न सक्छ भन्ने प्रश्नमा उनले देवकुमार स्वयंले नै जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु भनेकाले व्यवहारिक रुपले यो निर्णय गरिएको जानकारी दिए।

देवकुमारले यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग ३ अर्बभन्दा बढीको सम्पत्ति भएको र त्यो बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए। त्यसपछि पनि उनले आफू निकट व्यक्तिहरुसँग सम्पर्क गर्दै सहकारी ब्यूँताउने र नयाँ सञ्चालक समिति चयन गरेसँगै रकम फिर्ता प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।

त्यही प्रतिवद्धता अनुसार माघको ६ गते बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्थाको शनिबार विशेष साधारणसभा भएको थियो। करिब ६० प्रतिशत  सहकारीका पीडित बचतकर्ता तथा शेयर सदस्य उपस्थित साधारण सभाले रकम फिर्ता गर्ने पहिलो खुड्किलो नै साधारण सभालाई बनाएको पनि संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताएका थिए।

सहकारी रजिष्ट्रारको कार्यालय, स्थानीय प्रशासन र सहकारी बैंकको सल्लाहमा नै विशेष साधारण सभा गरिएको उनको भनाइ थियो। साधारणसभा कार्यक्रममा गण्डकी प्रदेशका सदस्यहरु जीत शेरचन, कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, सहकारी बैंकका संचालक रामबहादुर जिसी, सहकारी महासंघकी सदस्य हुमाकुमारी जिसी लगायत सहभागी थिए। उनीहरुले बचतकर्ताको रकम फिर्तामा सघाउने प्रतिवद्धता पनि जनाएका थिए।

तरलता अभाव भन्दै गएको वैशाख ५ गते सहकारी बन्द गरिएको थियो। जेठ ४ गतेदेखि नै  संस्थापक अध्यक्ष रहेका नेपाली फरार भएका थिए। बचतकर्ताको १ अर्ब ५६ करोड रुपैयाँ नेपालीले हिनामिना गरेको आरोप छ। त्यसबाहेक नेपालीले ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र गरिमा विकास बैंकको गरी झण्डै ३५ करोड ऋण लिएको देखिएको छ।

नेपालीको नाउँमा रहेका केही भौतिक सम्पत्ति बैंकले धितो राखेको छ। कुल सम्पत्तिको ४० प्रतिशत मूल्यांकनको मात्रै ऋण लिएकोले पुरै सम्पत्ति बेच्दा सबै बचतकर्ताको रकम फिर्ता गर्न पुग्ने भएकोले त्यसकालागि वैधानिकताको लागि समेत विशेष साधारणसभा गरिएको जनाइएको छ।

पीडित भएका १ हजार ५५० जनाले नेपालीविरुद्ध जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दिएका छन्। उनीहरुको १ अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ। यता पोखरामा ५२४ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्। उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन्।

सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ
इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष पक्राउ परेकी छिन्। गत जेठ पहिलो सातादेखि फरार भएकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार ललितपुरबाट पक्राउ परेकी हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट बिहीबार बेलुकी पक्राउ गरेको हो। सहकारीका अध्यक्ष चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .