गण्डकी


रविले अदालतमा भने- सूर्य थापाले लेखेको स्क्रिप्टअनुसार फिल्म छायांकन हुँदै छ, मन्ध्यान्तर भयो

‘उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिट बिर्से’
रविले अदालतमा भने- सूर्य थापाले लेखेको स्क्रिप्टअनुसार फिल्म छायांकन हुँदै छ, मन्ध्यान्तर भयो

वाशुदेव मिश्र
मंसिर २७, २०८१ बिहिबार १६:६, काठमाडौँ

जिल्ला अदालत कास्कीको माथिल्लो तला। इजलास नम्बर ६। न्यायाधीश चन्द्रकान्त पौडेलासामु सरकारी वकिलमार्फत अनुसन्धानको लागि ९ दिन हिरासतमै राख्न समयावधिको माग पेस गरियो।

कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै सो माग गरिएको थियो।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको समेत कसुरमा अनुसन्धान चलिरहेका रविको पक्षमा बहसको लागि वरिष्ठ अधिवक्ता सुशील पन्तसहितको टोली नै तैनाथ थियो। रविलाई थप हिरासतमा राख्ने-नराख्ने पक्षमा वकिलहरूले आ–आफ्नो तर्क प्रस्तुत गरे।

‘वाकपटुताका धनी’ रवि स्वयं पनि त्यहाँ आफ्ना कुरा राख्न तम्सिए। बोल्ने क्रममा उनले इजलाससमक्ष आफू निर्दोष भएको जिकिर मात्र पेस गरेनन्, अहिलेसम्म आफूमाथि लगाइएका सबै आरोपहरू सहकारी घोटाला छानबिनका लागि गठित संसदीय विशेष समितिका संयोजक तथा एमाले नेता सूर्य थापाकै निर्देशनमा भइरहेको पनि बताए। 

‘श्रीमान्। यो स्क्रिप्ट र कहानीका लेखक सूर्य थापा हुन्। उनले लेखेको स्क्रिप्टअनुसार नै छायांकन भइरहेको छ। अहिले मन्ध्यान्तरमा छ,’ उनको भने, ‘मैले संसदीय छानबिन समितिमा गएर आफूले निर्दोष भएको बताएँ तर उनले हरेक मिडियामा पुगेर ममाथि झुटा कुरा लगाए। बोलाउँदै नबोलाएको मिडियामा पनि गएर बोले तर उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिट बिर्से।’

उनले आफूमाथि अन्याय हुँदा अदालत पनि साक्षी बसेको गुनासो सुनाए।

गुनासो सुनेपछि न्यायाधीश पौडेलले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छौँ भनेपछि अदालतले म्याद थपका सन्दर्भमा कानुनअनुसार गर्ने हो। तपाईं मन्त्री भइसकेको व्यक्ति कानुन र प्रक्रिया बुझ्नुभएकै छ। सामान्य व्यक्तिलाई अनुसन्धानको प्रक्रिया जसरी चल्छ त्यसरी नै। फरक किसिमले गर्नुपर्ने अवस्था भए गर्नु पनि पर्छ। मुख्य कुरा कानुन, प्रमाण र दसीपछि अब मुद्दा आउँदा के हुन्छ, त्यो हेर्नै बाँकी छ। साक्षीको रूपमा भन्दा पनि अदालतले अनुसन्धान अगाडि बढाउनूस् भनेर कानुनअनुसार म्याद थप गर्ने हो। त्यसमा हाम्रो नियणन्त्रण तपाईंको स्वास्थ्य र मानव अधिकारका कुरामा हुन्छ।’

त्यसपछि चाहिँ उनले न्यायाधीशसमक्ष भने, ‘तपाईँले छाड्नुपर्‍यो। म भोलि पनि असल नागरिक भएर बाँच्छु। तपाईँ रिटायर्ड भएर निस्कँदा पनि म यहाँलाई त्यही हिसाबले सम्मान गर्छु।’

तर, उनको पुकाराले काम गरेन। थप ५ दिन हिरासतमा राख्ने अनुमति अदालतले दियो। 

रवि कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यही राति उनलाई पोखरा लगिएको थियो।

प्रहरीले उनीविरूद्ध तत्काल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। कास्कीका अलावा रूपन्देही, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा चलाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad