गण्डकी


जीबीका जेठान बमजन सुटुक्क अदालत आए, १० लाख धरौटीमा छुटे

सूर्यदर्शन ठगीका अभियुक्त धमाधम छुट्न थालेपछि पीडितहरू बेचैन
जीबीका जेठान बमजन सुटुक्क अदालत आए, १० लाख धरौटीमा छुटे

वाशुदेव मिश्र
भदौ ८, २०८२ आइतबार २०:३१, पोखरा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बमजन १० लाख धरौटीमा तारेखमा रिहा भएका छन्।

लामो समयदेखि फरार रहेका ज्ञानबहादुर आइतबार एकाएक कास्की जिल्ला अदालतमा आत्मसमर्पण गर्न आइपुगेका थिए। सूर्यदर्शनका पूर्वअध्यक्ष रहेका ज्ञानबहादुरले आत्मसमर्पण गरेसँगै आइतबार थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको एकल इजलासले ज्ञानबहादुरलाई १० लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो। 

कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यका अनुसार बमजनले आइतबार नै १० लाख धरौटी बुझाएका छन्। 

थुनछेक बहसको क्रममा ज्ञानबहादुरले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको इन्कारी बयान दिएका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा ज्ञानबहादुर सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ अपचलन गरेको जिकिर गरिएको छ। त्यसका साथै सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि छ।

अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।

यता, सूर्यदर्शन सहकारीपीडितहरूले ठगीका मुख्य योजनाकारका जेठान धरौटीमा छुटेपछि असन्तुष्टि जाहेर गरेका छन्। सूर्यदर्शन सहकारी बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बमजनले एकाएक अदालतमा आत्मसमर्पण गरेको र थुनछेक बहसमा सरिक भएको जानकारी ढिला गरी प्राप्त भएको तथा अदालतमा बोल्नसमेत नदिइएको बताए। 

‘ज्ञानबहादुर अदालतमा उपस्थित भएको थाहा पाएपछि हामी पुग्यौँ तर मैले केही कुरा राख्छु भन्दा प्रहरीले चुप लाग्न भन्यो,’उनले भने। अभियुक्तहरू एकपछि अर्को गर्दै धरौटीमा छुट्न थालेपछि बचतकर्ताहररूमा बेचैनी बढेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad