नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितले विशेष महाधिवेशन माग गरिरहेको बेला कास्की कांग्रेस उनको पक्षमा उभिएको छ। कास्की कांग्रेसको आइतबार बसेको बैठकले यही मंसिरभित्र विशेष महाधिवेशन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णय गरेको हो।
कास्की कांग्रेसका सभापति किशोरदत्त बराल अहिले देश बाहिर छन् भने कार्यवाहक सभापतिको जिम्मेवारी रामबाबु भण्डारीको काँधमा छ।
बैठकले विशेष महाधिवेशनका निम्ति यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरिनुपर्ने र त्यो सम्भव नभए १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई नै विशेष महाधिवेशनको प्रतिनिधि कायम गरिनुपर्ने निष्कर्ष निकालेको हो।
बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणामाथिको आक्रमण तोडफोड तथा आगजानीको घटनाप्रति घोर निन्दा तथा भत्सर्ना गरेको पनि प्रवक्ता सिग्देलले बताए।
बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पत्तिमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर रहेको ठहरसमेत गरेको छ।
जेनजी आन्दोलनका क्रममा कास्की कांग्रेको कार्यालयमा भएको तोडफोड र आगजनी, चिप्लेढुंगामा रहेको बीपी कोइरालाको शालिक तथा हरिचोकमा रहेको सहिद हरिप्रसाद गुरुङको शालिक तोडफोड भएकोमा कास्की कांग्रेसले खेद प्रकट गर्दै सो कार्यमा संलग्नमाथि कारबाहीको माग गरेको छ। पार्टी कार्यालय तथा बीपी र हरिप्रसादको शालिक पुनर्निर्माणको लागि सहयोग गर्न कास्की कांग्रेसले सदस्य तथा शुभेच्छुकसँग आग्रह पनि गरेको छ।
त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढुुंगामा रहेको बीपी कोइरालाको शालिक, हरिचोकमा रहेको सहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य सहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ।
पार्टी कार्यालयको क्षति मूल्यांकन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य इन्जिनियर सागरमोहन भट्टराईलाई सुम्पिएको पनि प्रवक्ता सिग्देलले बताए।
Shares

प्रतिक्रिया