गण्डकी


को-को छन् गण्डकीबाट राष्ट्रिय सभा उम्मेदवार, कसको कति मतभार?

को-को छन् गण्डकीबाट राष्ट्रिय सभा उम्मेदवार, कसको कति मतभार?

नेपालखबर
पुस २३, २०८२ बुधबार १६:१९, पोखरा

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन बनाएर आज मनोनयन दर्ता गराएका छन्। 

अर्को ठूलो दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक्लै उम्मेदवारी दिएको छ।

अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि एमाले–कांग्रेसको जित करिब निश्चित नै छ।

यी हुन् कांग्रेस–एमाले गठबन्धनका राष्ट्रिय सभा उम्मेदवार 

प्राडा जगत तिमिल्सिना
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका प्राडा जगत तिमिल्सिना नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन्। तनहुँ शुक्लागण्डकी नगरपालिकाका डा तिमिल्सिना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट हुन्।

नेपाली कांग्रेस गण्डकीले राष्ट्रिय सभा उम्मेदवारमा सिफारिस गरेका ५० जनामा उनको नाम समावेश थिएन। तर, सभापति देउवाको आशिर्वादले उनले सोझै उम्मेदवार बन्ने अवसर पाएका हुन्। 

सम्झना देवकोटा
एमालेले गण्डकीमा महिलातर्फ भने गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ। गोरखाको गोरखा नगरपालिका ३, नारेश्वर, गाईखुर घर भएकी देवकोटा अघिल्लो चुनावमा उनलाई एमालेले गोरखा नगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो भने त्यसभन्दा अघिल्लो चुनावमा उनी उपमेयरको उम्मेदवार थिइन्।

गएको चुनावमा माओवादी केन्द्रका कृष्ण राना ८ हजार २ सय ९५ मत प्राप्त गर्दै विजयी हुँदा सम्झना तेस्रो बनेकी थिइन्। कांग्रेसका राजनराज पन्तले ६ हजार ४ सय ५६ मत ल्याउँदा सम्झनाले ४ हजार ९ सय ९ मत ल्याएकी थिइन्। २०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पसको इकाइ सहसचिव हुँदै २०४८ सालमा अखिल नेपाल महिला संघको गोरखा जिल्लाको संस्थापक अध्यक्ष बनेकी उनले शिक्षण पेशा पनि गरेकी थिइन्। 

यस्तो छ गण्डकीको अंकगणित 
गण्डकी प्रदेशबाट दुई सदस्यका लागि चुनाव हुन लागेको हो। अब आउने राष्ट्रिय सभा सदस्यले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) का भगवती न्यौपानेलाई विस्थापित गर्नेछन्। श्रेष्ठ अन्य र न्यौपाने महिला समूहबाट निर्वाचित भएका थिए। 
गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाका प्रमुख, उपप्रमुख गरी दुई सय २९ मतदाता छन्। एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कुल मतभार ६ हजार ३ सय ५७ छ।

यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ। गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ।

गण्डकीमा सबैभन्दा बलियो नेपाली कांग्रेस रहेको छ। कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी २ हजार ७ सय ४ मतभार छ। एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि हुँदा उससँग २ हजार ४ सय ५८ मतभार छ। एमालेबाट निर्वाचन बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा छन्। यी दुई दलबीच चुनावी गठबन्धन भएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी ९ सय ६० मतभार छ। साविक माओवादी केन्द्रकै चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा छन्। 

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य छन्। प्रदेशमा राप्रपाले कांग्रेस–एमाले गठबन्धनलाई सघाएको छ। दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ भने मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ अहिले एमाले बनेका छन्।

यता, एक्लै चुनाव लड्न लागेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट भने मनाङका कपिल लामा उम्मेदवार बनेका छन्। माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका लामा अहिलेको नेकपामा प्रचण्ड निकट व्यक्तिको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad