कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन्।
भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमवार उक्त प्रदर्शन भएको हो।
आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विगतमा गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरे।
प्रदर्शनकारीहरूले ‘हाम्रो नारा हाम्रो भोट, बिर्स्यौ वाचा, दियौ चोट’, ‘आवासको हक सुनिश्चित गर’ तथा ‘झुटो बोल्न आउँदैन, अर्को चोटी भोट पाउँदैन’ जस्ता नाराहरू लगाएका थिए।
संघर्ष समितिले निर्वाचनका समयमा गरिएका वाचाहरू कार्यान्वयन नभएको र भूमिहीनहरूको समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाएको छ।
संविधान प्रदत्त आवासको हकलाई व्यवहारमा उतार्न र अव्यवस्थित बसोवासीलाई स्थायी बसोवासको व्यवस्था मिलाउन उनीहरूले जोडदार माग गरेका छन्।
वर्षौंदेखि थातथलोको सुरक्षा र लालपुर्जाको प्रतीक्षामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।
Shares

प्रतिक्रिया