गण्डकी


सभापति बनेपछि पोखरामा गगनको पहिलो सम्बोधन: कांग्रेसलाई प्रश्न गर्नुहोस्, गाली गर्नुहोस्

‘कांग्रेसका केटाहरूले हिम्मत गरेर पार्टी बदलेका छन् भन्ने सन्देश घरघर पुर्‍याउनूस्’
सभापति बनेपछि पोखरामा गगनको पहिलो सम्बोधन: कांग्रेसलाई प्रश्न गर्नुहोस्, गाली गर्नुहोस्

वाशुदेव मिश्र
माघ २३, २०८२ शुक्रबार १४:४, पोखरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सम्हाल्ने र सुधार्ने शक्ति आफ्नो पार्टी मात्र भएको जिकिर गरेका छन्।

काठमाडौँबाट आज (शुक्रबार) बिहान पोखरा आइपुगेका सभापति थापाले कास्की कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा अहिले देशमा कोलाहल र हल्ला रहेको उल्लेख गर्दै त्यसबाट नतर्सीकन कांग्रेसले जिम्मेवारीबोधका साथ काम गर्ने उद्घोष गरेका हुन्। 

‘भाद्र २४ गते देश दन्दनी बल्यो। अर्को वर्ष भाद्र २४ गते फेरि देश जल्दैन भन्ने के ग्यारेन्टी छ? त्यो ग्यारेन्टी हामी दिन्छौँ,’ उनले भने, ‘हामी घृणा र प्रतिशोधको राजनीति गर्न सक्दैनौँ। आज नेपालमा मिलाउने र सम्हाल्ने शक्ति चाहिएको छ। जनतामा रिस छ तर त्यसलाई सम्हाल्ने शक्ति र चरित्र हामीसँग छ।’

नेपाली कांग्रेसले संकटको बेला देश सम्हाल्दै आएको जिकिर गर्दै उनले थपे, ‘आगो जसले पनि लगाउन सक्छ, तर निभाउन साहस र धैयर्ता चाहिन्छ। त्यो साहस हामीसँग छ। हामीलाई प्रश्न गर्नुहोस्, गाली गर्नुहोस्। हामी गाली सुन्छौँ र सच्चिन्छौँ। प्रश्नका उत्तर दिन्छौँ। हामी पुराना र नयाँलाई पनि मिलाउँछौँ। पहाड र मधेलाई पनि मिलाउँछौँ।’

उनले अहिले देशलाई सम्हाल्ने शक्ति मात्र नभएर सुधार्ने शक्ति पनि चाहिएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध सबैभन्दा ठुलो योद्धा नेपाली कांग्रेस नै भएको दाबी पनि गरे।

कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले भने, ‘जसरी हिजो कांग्रेसले हिंसाबाट देशलाई बाहिर निकाल्यो, आज भ्रष्टाचारबाट बाहिर निकाल्छ भन्ने सन्देश लिएर मतदाताकहाँ जानुहोस्।’

उनले नेपाली कांग्रेस सबैभन्दा पुरानो र सबैभन्दा नयाँ जेनजीको पार्टी पनि भएको जिकिर गरे।

‘हिजो जेनजीहरू सडकमा उत्रिए। सुशासनको माग गरे। उनीहरूको आवाज कसैले सुन्यो भने कांग्रेसले सुन्यो। यो जेनजीको पार्टी हो।देशको पुरानो पार्टी कुन हो भन्दा कांग्रेस हो र सबैभन्दा नयाँ पनि कांग्रेस हो। योसँग नयाँ युगको नयाँ चेतना छ,’ उनले भने, ‘आज भदौ २३ मात्र भनेर हुन्न। त्यसलाई बुझ्नुपर्छ। एउटा कुरा नागरिकसँग रिस छ र त्यो गहिरो छ। अर्को कुरा राज्यका संस्थाहरुसँग अविश्वास छ। त्यो अविश्वास झाँगिएर भित्रभित्र कोलाहल छ। त्यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो। मिलाएर लैजाने जिम्मेवारी हाम्रो हो।’

यस क्रममा सभापति थापाले बीपी कोइरालाको प्रसंग पनि सुनाए। 

‘बीपी कोइरालाले त्यो बेला सिक्किमसहितका केही देशहरू विलय भएपछि जेल परे परौँला, हाम्रो आन्दोलन पछि परे पर्ला भनेर देश फर्कनुभएको हो उनले भने, २०६० सालमा सबैभन्दा बढी को मारिएका थिए? कांग्रेस मारिएका थिए। युद्धमा गएर हैन, घरमै बसेका बेला मारिएका थिए। त्यो बेला पनि राष्ट्रिय शक्ति भएको महसुस भयो र आफ्नो छातीमा गोली हान्नेसँग हात मिलाएको हो नि! २०७० सालमा संविधान लेख्दा जातजातिका समस्या समाधानमा भूमिका पनि हामीले नै खेलेको हो।’

उनले कांग्रेसले अब पार्टी छोडेकालाई घर फर्काउने र निष्कृय भएकालाई पुनः सक्रिय बनाउनुपर्नेमा पनि उनको जोड दिए।

‘यो निर्वाचनमा सबैभन्दा ठुलो भर भनेको पार्टीका साथीहरू हुन्। हामी एक ढिक्का छौँ। यहाँ यो त्यो विभाजनको कुरा छैन। चुनाव सकेपछि सबै साथीहरूसँग कुरा गर्छौँ। सम्हालेर लान्छौँ। हिजो को कहाँ उभिएको थियो भन्ने कुरा हुँदैन’, उनले भने, ‘महाधिवशेन गर्नुछ। हिजो नेपाली कांग्रेस छाडेका साथीहरूलाई हृदय खुला राखेर घर फर्क भन्नुपर्नै छ। जेमा चित्त दुखाएर जानुभएको छ, त्यो चित्त बुझाउँछौँ भन्ने छ। उहाँहरूको हात समात्छौँ, आशीर्वाद लिन्छौँ। यो नयाँ कांग्रेस हो, तपाईंको घर हो। तपाईंले टोलटोलमा गएर बताउनुपर्नेछ। हिजो २७ लाखले समानुपातिकमा कांग्रेसमा मतदान गरेका हुन्। गुनासो थियो, तर मत हालेका हुुन्। तपाईंले उहाँहरूलाई चिन्नुहुन्छ। हिजो चित्त दुख्दा पनि मत दिनुभयो, अहिले कांग्रेसका तपाईंका केटाहरूले हिम्मत गरेर पार्टी बदलेका छन् भन्ने मेरो सन्देश घरघर पुर्‍याउनूस्।’

उनले गत चुनावमा कांग्रेसले प्रत्यक्ष निर्वाचनमा पाएको मतभन्दा समानुपातिकमा मत कम आएको तथ्य विश्लेषण गरेर त्यसको उत्तर खोज्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad