गण्डकी


सहारा र राइजिङले देखाएको मोफसलको शक्ति र सम्भावना

सहारा र राइजिङले देखाएको मोफसलको शक्ति र सम्भावना

वाशुदेव मिश्र
माघ १०, २०८० बुधबार २१:५९, पोखरा

नवलपरासीको राइजिङ स्टार पहिलोपटक आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउँदै थियो। नेपालको सफल ‘ए’ डिभिजनको क्लबसँग खेल्दा मानसिक रुपले नै बलियो हुनुपर्छ।

खेलाडीले साँच्चै आफूलाई प्रमाणित गरे। गतिलो फुटबल पस्के। अनि त के थियो! सदाबहार रुपले विभागीय टोलीविरुद्ध उभिने दर्शकहरु सहजै राइजिङको पक्षमा देखिए।  

तर, फुटबलमा राम्रो प्रदर्शन र दर्शकको मन जित्नुको कुनै अर्थ रहँदैन। नतिजा आफ्नो पक्षमा पार्नैपर्छ। अझ, नकआउट प्रतियोगितामा त दर्शकको ताली र वाहवाहीको हौसलापछि राम्रो गरौंला भन्ने पनि हुँदैन।

बुधबार पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो खेल खेल्न मैदानमा उत्रेको राइजिङ स्टारको हकमा ठ्याक्कै त्यस्तै भयो। ९० मिनेटको खेलपछि दर्शक चुकचुकाउँदै घरतिर लागे, राइजिङ स्टार ०–१ को उल्टो नतिजा त्रिभुवन आर्मी क्लबलाई सुम्पँदै घर फर्कन विवश बन्यो।  

सजिलो भाषामा भन्दा राइजिङले गोल गर्न सकेन। बल पोस्टको नजिक लगे पनि ‘फिनिसिङ’मा राइजिङका खेलाडी असफल रहे।

राइजिङको तर्फबाट आर्मीका कप्तान भरत खवासले २७ औं मिनेटमा उत्कृष्ट हेडमार्फत् गरेको उत्कृष्ट गोल फर्किएन।  

राइजिङको अवसानसँगै आहा रारा पोखरा गोल्डकपमा मोफसलका क्लबहरुको चुनौती पनि समाप्त भयो। तर, दुवै टिमको खेलले मोफसलको ‘शक्ति र सम्भावना’ उजागर चाहिँ गर्यो। यसअघि मंगलबार भएको खेलमा आयोजक सहाराले थ्रिस्टारसँग २–१ ले पराजित भएको थियो।

त्यसो त, सहारा गृहमैदानमा एकपटक उपाधि र दुईपटक फाइनल पुगेको टिम हो। सहाराले ११ औं संस्करणको गोल्डकप उचालेको थियो भने १२ र १५ औं फाइनल पुगेको थियो। नत्र, आहा रारा पोखरा गोल्डकपमा कुनै पनि मोफसलका टिम सफल भएका  छैनन्।

धेरैपटक सहभागिता जनाएको धरान फुटबल क्लब,रुपन्देही ११, झाफाको नाइटचेस क्लब अनि झापा फुटबल क्लब, सुदूरपश्चिमलगायतका टिमहरु सधैं असफल रहे। उनीहरुमाथि कि ‘ए’ डिभिजन  त कि विदेशी क्लब हाबी हुँदै आए।  

हो, राइजिङले डटेर आर्मीको सामना गर्यो। ठ्याक्कै थ्रिस्टारविरुद्ध सहाराले विदेशी खेलाडी बिना नै सहाराले थ्रिस्टारलाई चुनौती दिएजस्तै।

राइजिङ स्टारका प्रशिक्षक सन्दीप केसीकै कुरा मान्ने हो भने मोफसलमा टिम बनाउनै महाभारत छ। रहरले खेल्ने खेलाडीलाई प्रशिक्षण दिन पनि उत्तिकै समस्या झेल्नुपर्छ।

खेलमा स्थानीय तहको सहयोग खासै हुँदैन। खेलमा अनुभवको पनि उत्तिकै महत्व हुन्छ। फुटबलमा गोल खाएपछि धैर्यता गुमाउने हैन, गति बढाउनुपर्छ तर अनुभवीले मात्र त्यस्तो गर्न सक्छन्।

‘सम्बन्धित निकायले जिल्ला वा प्रदेशमा प्रशिक्षकको व्यवस्थापन गरिदिएमा जस्तोसुकै प्रतियोगिताका लागि पनि मोफसल तयार हुन्छ,’उनले हार नमानेका उनले भने,‘मोफसलको टिमलाई यसरी गोल्डकपहरुमा सहभागी गराउने मात्र हो भनेपनि बलियो टिम बन्छ भन्ने आजको खेलले पनि देखाएको छ।’

आर्मी बलियो थियो। आर्मीले ३७ औं मिनेटमा अग्रता दोब्बर गर्ने अवसर पाएको थियो तर नरेन्द्र चौधरीले आफूलाई लडाएपछि प्राप्त फ्रिकिक प्रहारमा दीनेश हेन्जन चुके। ४३ औं मिनेटमा दिनेशको क्रसमा जर्ज कार्कीको हेडर सेकेन्ड बार हुँदै बाहिरियो।  

पहिलो हाफमा १–० ले पछि परेको राइजिङले दोस्रो हाफमा सुधारिएको खेल देखायो। आर्मीलाई आच्छुआच्छु पार्यो। ५१ औं मिनेटमा फागुराम थारुको प्रहार बाहिरिँदा बराबरी गर्ने अवसर गुम्यो। ५७ औं मिनेटमा आकाश कार्कीको पासमा फागुरामले गरेको उत्कृष्ट प्रहारमा आर्मीका गोलरक्षक समित श्रेष्ठ बाधक बने।

उक्त बलमा पाएको कर्नरमा राम शाहीको ब्याक फ्लिके पनि गोलरक्षकले बचाउ गरे। ८१ औं मिनेटमा अमन लामाको पासलाई चेष्टमार्फत् फागुरामले नियन्त्रणमा लिए पनि उनी ढिलो देखिए।

जित्नेको इतिहास बन्छ। तर, जितपछि प्रशिक्षक मेघराज केसीले बलियो दुस्मनको प्रशंसा गर्ने आर्मीकै शैलीमा राइजिङ स्टारको प्रशंसा गरे।

‘मोफसलको टिमले त्यतिको राम्रो खेलेकै हो। अलिकति अनुुभव भएको भए आज जित पनि हासिल गर्न सक्थे,’उनले थपे,‘ हाम्रोमा पनि ९० प्रतिशत नयाँ खेलाडी छन्। टिम बनाउँदै छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .