पूर्वसोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । ९१ वर्षको उमेरमा उनको निधन भएको हो ।
सोभियत कम्युनिष्ट सत्ताका अन्तिम नेता मानिने गोर्बाचेभ सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा थिए । उनकै पालामा सोभियत सत्ता ढलेको थियो ।
गोर्बाचेभले राजनीतिक लाइनलाई दुईवटा पदावलीमा व्याख्या गरिँदै आएको छ । एउटा हो– ग्लासनोस्ट र अर्को पेरेस्ट्रोइका ।
‘ग्लासनोस्ट’ भनेको रुसी भाषामा ‘अभिव्यक्तिको स्वतन्त्रता’ एवं ‘खुलापन’ हो भने ‘पेरेस्ट्रोइका’ भनेको ‘पुनर्गठन’ हो ।
गोर्भाचेभका पालामा खुलापनको नीति पछ्याउँदै सोभियत संघमा जनतालाई सरकारको आलोचना गर्ने अधिकार प्रदान गरिएको थियो, जुन रुसीहरुले कल्पना नगरेको विषय थियो।
अन्ततः खुलापन र पुनर्गठनको नारासँगै सोभियत संघको कम्युनिस्ष्ट सत्ता गोर्बाचेभले हेर्दाहेर्दै ढल्यो ।
त्यसो त सोभियत सत्ता ढलेको विषयमा नेपालका कम्युनिस्टहरुको मत विभाजित हुँदै आएको छ । एमाले नेता स्व. मदन भण्डारीले सोभियत संघमा खुल्लापन र बहुदल नभएकैले समस्या आएको विश्लेषण अघि सारेका थिए, जुन मान्यतामा अहिलेका एमाले नेताहरु उभिँदै आएका छन् ।
अर्कोतिर माओवादी नेताहरु चाहिँ स्टालिनपछि ख्रुश्चेभको उदयदेखि नै सोभियत संघ संशोधनवादी बाटोमा हिँडेको र गोर्बाचेभले पश्चिमाहरुको एजेन्टको भूमिका खेलेको आरोप लगाउँछन् ।

पश्चिममा हाईहाई, आफ्नै देशमा उपेक्षा
जीवनको अन्तिम घडीमा गोर्बाचेभको स्वास्थ्य राम्रो थिएन र उनी धेरै बोल्दैनथे।
गोर्बाचेभले सन् २०१६ डिसेम्बरमा मस्कोस्थित बीबीसी संवाददाता स्टीव रोजेनबर्गलाई एउटा अन्तर्वार्ता दिएका थिए। बीबीसीको सो अन्तरवार्तामा आधारित लेख यस्तो थियो–
धेरै मानिसहरू अझै पनि रूसलाई सोभियत संघका रूपमा उल्लेख गर्छन् र सोभियत संघको जिकिरका साथ साथ मिखाइल गोर्बाचेभको पनि नाम लिन्छन् । मिखाइल गोर्बाचेभ तिनै व्यक्ति हुन्, जसका आँखै अगाडि सोभियत संघ टुक्रा–टुक्रा भएको थियो।
अहिले ८५ वर्षीय मिखाइल गोर्बाचेभको स्वास्थ्यले उनलाई साथ दिएको छैन, तर उनले आफ्नो उपस्थिति कायम राखेका छन्। मस्कोमा भेट्ने क्रममा आफ्नो लठ्ठीतर्फ इशारा गर्दै मिखाइल गोर्बाचोफले भने, ‘हेर, मलाई हिँड्नका लागि अब तीनवटा खुट्टा चाहिन्छ।’
मिखाइल गोर्बाचेभ ती क्षणहरुका बारेमा कुरा गर्छन्, जब दुनियाँ बदलिएको थियो, सोभियत संघ विघटन भएको थियो र विश्व एक ध्रुवीय बनेको थियो ।
२१ डिसेम्बर १९९१ मा रूसी टेलिभिजनमा साँझको बुलेटिनको शुरुआत एक नाटकीय घोषणाका साथ भयो ः ‘शुभ साँझ। यो समयको खबर हो। अब सोभियत संघको अस्तित्व रहेन ।’
यसको केही दिन पहिले नै रुस, बेलारुस र युक्रेनका नेताहरुले सोभियत संघबाट अलग हुने विषयमा भेटवार्ता गरेका थिए ।
भेटवार्ताको एजेण्डामा स्ववतन्त्र राज्यहरुको एक राष्ट्र मण्डल गठनको विषय पनि थियो। अब अन्य ८ सोभियत राज्यहरूले पनि यो राष्ट्रमण्डलको हिस्सा बन्ने निर्णय गरिसकेका थिए।
तिनीहरू सबै मिलेर मिखाइल गोर्बाचेभलाई किनारा लगाउने निर्णय गरेका थिए।
गोर्बाचेभको राजीनामा
गोर्बाचेभ सोभियत संघका राज्यहरूलाई एक साथ राख्न संघर्ष गरिरहेका थिए।
मिखाइल गोर्बाचेभ भन्छन्, ‘मेरो पीठ पछाडि धोका भयो। ती मानिसहरु सिगरेट सल्काउन पूरै घर जलाउँदै थिए। केवल सत्ता प्राप्त गर्नका लागि ... तिनीहरूले लोकतान्त्रिक तरिकाले यस्तो गर्न सक्दैनथे। त्यसैले तिनीहरूले अपराध गरे। त्यो सबै विद्रोह थियो।’
२६ डिसेम्बर १९९१ मा मिखाइल गोर्बाचेभले सोभियत संघको राष्ट्रपति पदबाट राजीनामाको घोषणा गरे। त्यसपछि क्रेमलिनमा सोभियत झण्डा अन्तिम पटक झुकाइयो।
मिखाइल गोर्बाचेभ भन्छन्, ‘हामी गृहयुद्धतिर गइरहेका थियौं। म यसलाई बचाउन चाहन्थें। मानिसहरू विभाजित थिए। देशमा द्वन्द्वको स्थिति थियो । हतियारको बाढी आइरहेको थियो, तिनमा आणविक हतियार पनि थिए। धेरै मानिसहरुको ज्यान जान सक्थ्यो। ठूलो बर्बादी हुन्थ्यो। मैले सत्तामा टाँसिइरहनका लागि यो सब भएको हेर्न सकिनँ। राजीनामा दिनु मेरो जीत थियो।’

राष्ट्रपति पुटिन
आफ्नो राजीनामामा मिखाइल गोर्बाचेभले दाबी गरे कि उनको सुधार कार्यक्रममै कारण समाजमा स्वतन्त्रता मिल्यो। २५ वर्षपछि आजको रुसमा के त्यो स्वतन्त्रता खतरामा छ?
यसको जवाफ दिँदै उनी भन्छन्, ‘यो प्रक्रिया अझै पूरा भएको छैन। हामीले यसबारे खुलेर कुरा गर्न जरुरी छ। केही यस्ता मानिसहरु छन्, जो स्वतन्त्रतासँग चिढिन्छन्। उनीहरू यसलाई लिएर राम्रो महसुस गर्दैनन्।’
कुराकानीमा, मिखाइल गोर्बाचेभ वर्तमान राष्ट्रपति (पुटिन) को प्रत्यक्ष आलोचनाबाट बच्छन् । तर, भ्लादिमिर पुटिनसँग आफ्नो मतभेदतर्फ धेरै पटक ईशाारा गर्छन्।

शीतयुद्ध
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग मिखाइल गोर्बाचेभको न्यानो सम्बन्धले शीतयुद्धको अन्त्य गरेको थियो। त्यसोभए अमेरिकाका नवनिर्वाचित नेता (तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प) का बारेमा गोर्बाचेभ के सोच्छन्? के उनले कहिल्यै डोनाल्ड ट्रम्पलाई भेटेका छन्?
मिखाइल गोर्बाचेभ भन्छन्, ‘मैले उहाँका अग्ला भवनहरू देखेको छु तर उहाँलाई भेट्ने मौका कहिल्यै मिलेन। त्यसैले म उहाँको नीति र विचारका बारेमा कुनै राय दिन सक्दिनँ।’
पश्चिममा धेरै मानिसहरु मिखाइल गोर्बाचेभलाई नायकका रूपमा हेर्छन्। उनलाई पश्चिमी युरोपको स्वतन्त्रता र जर्मनीको एकीकरणलाई अनुमोदन गर्ने व्यक्तिका रूपमा हेरिन्छ । तर, आफ्नै देशमा गोर्बाचेभ ती नेता हुन् जसले आफ्नो साम्राज्य गुमाइदिए ।
(यो सामग्री बीबीसी हिन्दी संस्करणमा प्रकाशित पुरानाे रिपोर्टमा आधारित रहेर तयार पारिएको हो)
Shares

प्रतिक्रिया