ग्लोबल


पाकिस्तानमा बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित, ६४ लाखलाई मानवीय सहयोग आवश्यक

पाकिस्तानमा बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित, ६४ लाखलाई मानवीय सहयोग आवश्यक

नेपालखबर
भदौ १६, २०७९ बिहिबार ७:४०, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ।

पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका बेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ। करिब ३५० बालबालिकासहित एक हजार १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै एक हजार ६०० भन्दा बढी मानिस घाइते भएका छन् भने दुई  लाख ८७ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भएका छन्।

यसबाहेक, करिब सात लाख ३५ हजार भन्दा बढी पशुपंक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ। 

डब्ल्यूएचओले एक रिपोर्टमा भनेको छ,“जुलाई २०२२ को मध्यमा पाकिस्तानमा सुरु भएको भारी मनसुनी वर्षा देशका धेरै भागहरूमा जारी छ र यसले पाकिस्तानका १५४ जिल्लाहरू मध्ये ११६ जिल्लाहरू (७५ प्रतिशत) लाई प्रभावित पारेको छ। सबैभन्दा बढी सिन्ध प्रभावित बनेको छ भने बलुचिस्तान दोस्रो प्रभावित प्रान्त हो।” 

संयुक्त राष्ट्रसंघले भनेको छ, “पाकिस्तानमा २५ अगस्ट २०२२ सम्ममा बर्षा र बाढीका कारण तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका छन्। चार लाख २१ हजार शरणार्थीसहित ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ। एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब १५ हजार मानिस घाइते भएका छन्।” 

डब्लूएचओका अनुसार बर्षा र बाढीको कारण देशका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन् भने सन् २०२२ अगष्ट २८ सम्ममा ८८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये १८० वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीमा पहुँच अहिलेका लागि मुख्य स्वास्थ्य चुनौतीका रूपमा रहेको डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनले देशको स्वास्थ्य प्रणालीले कोभिड–१९, हैजा, टाइफाइड र दादुराजस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ।

यद्यपि पाकिस्तानमा अहिलेको बाढी आउनुभन्दा पहिले पनि ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो असमानता थियो। 

संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप तीन करोड अमेरिकी डलरको जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ भने अन्य मुलुकबाट पनि सहयोगको लागि प्रतिवद्धताहरू आएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad