अमेरिकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि जलसन्धि वारपार तनाव चुलिएको छ। यस्तो अवस्थामा यो वर्षको चिनियाँ कम्युनिस्ट पार्टी सम्मेलनपछि कूटनीतिक क्षेत्रको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा सबैको चासो केन्द्रित छ।
अक्टोबर १६ (असोज ३०) बाट बेइजिङमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनमा राष्ट्रपति सी चिनफिङले पार्टी महासचिवका रुपमा तेस्रो कार्यकाल सुनिश्चित गर्ने अपेक्षा छ। साथै, अलि कम उमेरका कम्युनिस्ट पार्टीका नेताहरुको नयाँ समूह नेतृत्वमा आउनेछ।
सीका सबैभन्दा उच्चपदस्थ विदेशनीति सहयोगी याङ चिची पेलोसीको ताइवान भ्रमण घोषणा भएदेखि नै सार्वजनिक मञ्चहरुबाट गायब भइसकेका थिए। तर, केही समयअघि सियानमा बेल्ट एन्ड रोड इनिसियटिभको एउटा अन्तर्राष्ट्रिय एक्स्पोमा उनी पुनः देखा परे र तियानजिनमा जापानी राष्ट्रिय सुरक्षा सल्लाहकार ताकेओ अकिबालाई भेटे। अर्कोतिर विदेशमन्त्री वाङ यी अत्यन्त व्यस्त देखिएका छन्। हरेक दिनजसो उनी समाचार शीर्षकमा छाइरहेका छन्।
करिब एक दशकदेखि चिनियाँ कूटनीतिक संस्थापनको शीर्षमा आसीन ७२ वर्षीय याङले यो सम्मेलनबाट अवकाश पाउने अपेक्षा गरिएको छ। जुन सम्मेलनमा नयाँ पोलिट्ब्युरो र स्थायी समिति घोषणा हुनेछ।
अर्कोतिर स्टेट काउन्सिलर समेत रहेका वाङ ६८ वर्षमा अवकाश पाउने पार्टीको अलिखित नियमअनुसार निवृत्त हुन्छन् या हुँदैनन् भन्ने चाहिँ स्पष्ट छैन। अक्टोबरमा उनी ६९ वर्ष पुग्नेछन्। तर, चिनियाँ कूटनीतिज्ञहरु र विश्वभरका विश्लेषकहरु वाङका लागि यसपटक अवकाशको नियम लागू नगरिने सम्भावना रहेको बताउँछन्। खासगरी जलसन्धिको तनाव र चीन–अमेरिका सम्बन्ध खराब भइरहेका सन्दर्भमा।
कूटनीतिक संकट झेलिरहँदा चिनियाँ नेतृत्वले वाङको अनुभव, सम्बन्ध र सीपलाई अहिले नै परित्याग गर्न नसक्ने उनीहरुको भनाइ छ। त्यसैले उनले एक तह बढुवा भएर २५ सदस्यीय पोलिट्ब्युरोमा याङको सिट ओगट्ने अनुमान छ।
केही समयअघि वाङले सीको ‘केन्द्रीय नेतृत्व’को विस्तृत प्रशंसा गरेका थिए। यसलाई कयौँ चिनियाँ कूटनीतिज्ञहरुले वाङको माथिल्लो पदमा बढुवा हुने प्रयासको प्रमाणका रुपमा लिएका छन्।
‘२० औँ पार्टी कंग्रेसको ठिकअघि वाङ यति धेरै सक्रिय र उत्प्रेरित हुनु संयोग मात्र होजस्तो मलाई लाग्दैन,’ नाम उल्लेख गर्न नचाहने एक चिनियाँ राजनीतिशास्त्रीले भने, ‘पेलोसी, ताइवान, अमेरिका र जापानविरुद्ध सामान्य अवस्थामा भन्दा उनको कडा टिप्पणी र सीका बारेमा प्रशंसा घरेलु दर्शकका लागि सोचविचार गरेर चालिएको कदम हो।’
जुलाई २४ मा चिनियाँ विदेश मन्त्रालयले सहआयोजना गरेको गोष्ठीमा वाङले कूटनीतिमा सीको विचारधारा मौलिक र अभूतपूर्व भएको बताए। जसले चीनको बढ्दो विश्वव्यापी प्रभावका लागि सहयोगी वातावरण तयार गर्न भूमिका खेलेको उनको भनाइ थियो।
वाङले आफूसहित चर्को बोल्ने ‘वुल्फ वारिअर’ कूटनीतिज्ञहरुको उदयको प्रतिरक्षा गरे। र, सीले बारम्बार ‘साहसपूर्वक जिम्मेवारी वहन गर्न र लड्ने हिम्मत जुटाउन’ गरेको आह्वानको प्रशंसा पनि गरे।
सांस्कृतिक क्रान्तिपछिको पुस्ता भनिने युवा कूटनीतिज्ञहरुको उदयका बाबजुद चीन अहिले पुस्तैनी अन्तर र पाका तथा अनुभवी कूटनीतिज्ञहरुको अभाव झेलिरहेको छ। जबकि यहीबेला चीनले दशकौँयताको सबैभन्दा शत्रुतापूर्ण बाह्य वातावरणको सामना गरिरहेको विश्लेषण गरिँदैछ।
याङ र वाङसहित चिनियाँ अधिकारीहरुले बेइजिङको तानाशाही मोडेलको सर्वोच्चताप्रति अटुट विश्वास व्यक्त गरेका छन्। साथै तीव्र गतिमा पश्चिमको पतन भइरहेको उनीहरुको दाबी छ। तर, अन्तर्राष्ट्रिय जगतमा चीनको उदयप्रतिको सन्देह र त्यसको प्रतिरोध बढ्दो छ।
चीनका शीर्ष कूटनीतिज्ञहरुको फेरबदललाई समग्र नेतृत्व परिवर्तनको सन्दर्भमा हेरिनुपर्ने पुराना चीन विश्लेषक तथा फोर्डह्याम ल स्कुल न्युयोर्कका प्राध्यापक काल मिन्जनर बताउँछन्।
‘मलाई लाग्छ, यतिबेला बेइजिङमा विदेश नीति होइन घरेलु राजनीति सबैभन्दा केन्द्रमा छ,’ उनले भने।
सीलाई कति माथिसम्म उचालिन्छ र उनको वैचारिक हैसियत अध्यक्ष माओ हाराहारी पुग्छ पुग्दैन भन्ने विषयमा अहिले पार्टीका अधिकारीहरुले प्रश्नहरुको सामना गरिरहेको मिन्जनर बताउँछन्।
‘र, त्यो खेलले चीनको विदेशनीतिसम्बन्धी कर्मचारीतन्त्रमा तार्किक हिसाबले राष्ट्रिय हितको प्रबद्र्धन गर्न चाहने टेक्नोक्र्याटहरु पाखा लाग्दै गएका छन् भने वुल्फ वारिअर कूटनीतिको प्रबद्र्धन गरेर होस् वा सीका प्रिय योजनाहरुको प्रशंसा गरेर होस्, शीर्ष नेताबाट व्यक्तिगत रुपमा पक्षपोषण प्राप्त गर्ने खोज्नेहरु माथि पुग्दैछन्,’ उनले थपे।
पछिल्लो समय विश्वमा चीनको घट्दो साख र चीन तथा पश्चिमबीचको बढ्दो दुश्मनीमा याङ र वाङको दोष कति छ भन्नेबारेमा विश्लेषकहरु विभाजित छन्। तर, उनीहरुमध्ये थुप्रै वाङ पोलिट्ब्युरोमा बढुवा हुने सम्भावना ज्यादा रहेको बताउँछन्।
‘याङ र वाङ एकै पटक विदा हुने हो भने चीनको वैदेशिक सेवामा रिक्तता उत्पन्न हुनेछ। जसले चीनको विदेश सम्बन्धमा नीति–निरन्तरतालाई हानि गर्नेछ,’ वासिङ्टनस्थित इन्स्टिच्युट फर द एनालिसिस अफ ग्लोबल सेक्युरिटीका सहनिर्देशक गाल लुफ्त बताउँछन्।
पेलोसीको भ्रमणलाई लिएर भएको चीन–अमेरिका विवाद र लगत्तैको चीनको शक्तिप्रर्दशनले वाङको अवकाशलाई पछाडि धकेल्ने मौका दिएको उनको भनाइ छ।
‘यस्तो नाजुक अवस्थामा वाङ यीलाई अवकाश लिने अनुमति दिइयो भने म निकै चकित हुनेछ,’ लुफ्त भन्छन्, ‘चीन र अमेरिकाबीच सैन्य र जलवायुसम्बन्धी च्यानल बन्द भएको छ। यतिबेला कूटनीतिक च्यानलले मात्रै दुई देशबीचको सम्बन्धलाई जीवित राखेको छ। र, त्यसलाई सञ्चालन गर्ने सबैभन्दा उत्तम पात्र वाङ नै हुन्, खासगरी नोभेम्बरमा बाइडेन–सी भेट हुने हो भने।’
लुफ्तका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध गठबन्धन निर्माणमा जोड दिएको छ। त्यस्तोमा, आउँदा महिनाहरुमा बेइजिङले कूटनीतिक प्रत्याक्रमण गर्ने हो भने ‘वाङको अनुभव र सम्बन्धहरु अत्यन्त मूल्यवान हुने’ उनको भनाइ छ।
आफ्नै शासन लम्ब्याउन अवकाशको नियम बदल्ने सीका लागि वाङलाई अवकाश हुन नदिनु फाइदाजनक भएको पार्टीको पत्रिका सन्डे टाइम्सका पूर्व सम्पादक तेङ युवेन बताउँछन्।
‘सी नियम तोड्ने र बदल्ने मान्छे हुन्,’ तेङ भन्छन्, ‘सात माथि आठ तल भनिने अवकाशको नियम उनी पालना गर्छन् गर्दैनन् भन्ने पुरै अनिश्चित छ।’
यो अलिखित नियमअनुसार पार्टीको सम्मेलनका बेला ६७ वर्ष पुगेको व्यक्ति बढुवाका लागि योग्य हुन्छ भने ६८ वर्ष पुगेको व्यक्ति सामान्यतयः विदा हुन्छ।
त्यसबाहेक चिनियाँ कम्युनिस्ट पार्टीमा यतिबेला याङको ठाउँ लिएर पोलिटब्युरो तहको विदेश मामिला प्रमुख बनी चीनको फैलिँदो विश्वव्यापी स्वार्थहरुको रेखदेख गर्ने राम्रा उम्मेदवार पनि धेरै छैनन्।
याङको ठाउँ लिनका लागि वाङका प्रमुख प्रतिस्पर्धी हुन् सोङ ताओ। जसले जुन महिनाको सुरुवातसम्म पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागको नेतृत्व गरेका थिए। उनी २०१५ यता बेइजिङको अन्तरपार्टी कूटनीतिको प्रमुख थिए।
६७ वर्षीय सोङ सीको शिष्य भएको विश्वास गरिन्छ। तर, जुन महिनामा आश्चर्यजनक तरिकाले उनी चीनको सबैभन्दा उच्च राजनीतिक सल्लाहकार समिति चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्समा आकर्षक नमानिने पदमा सरुवा भए। यसलाई उनको अर्ध–अवकाशको संकेत पनि मान्न सकिन्छ।
अर्का सम्भावित उम्मेदवार हुन् ६४ वर्षीय लिउ चिएयी। उनी स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका निर्देशक हुन्। २०१३ मा विदेशमन्त्री नियुक्त हुनुअघि वाङ सोही पदमा थिए। राष्ट्रसंघका लागि पूर्व चिनियाँ राजदूत समेत रहेका लिउ वाङ र सोङजस्तै पार्टीको केन्द्रीय समिति सदस्य हुन्।
अमेरिकाका लागि चिनियाँ राजदूत चिन काङ र विदेश मन्त्रालयका उपमन्त्री सिएइ फेङजस्ता युवाहरु बढुवाका लागि तयार पारिँदै गरिएका उदाउँदा कूटनीतिज्ञ मानिन्छन्।
तर, वाङका सबैभन्दा वरिष्ठ उपमन्त्री तथा मन्त्रालयको दैनिक मामिला तथा युरेसिया सम्बन्ध प्रमुख ले युचेङको जुन महिनामा घटुवा भयो। त्यसैले विदेशमन्त्रीमा वाङलाई विस्थापित गर्ने प्रतिस्पर्धा झनै पेचिलो बनेको छ।
रुस विज्ञ तथा विदेशमन्त्रीका प्रमुख दाबेदार ५९ वर्षीय लेलाई टेलिभिजन र रेडियो प्रशारण हेर्ने मन्त्रालयको उपमन्त्रीमा सरुवा गरेर किन पाखा लगाइयो, स्पष्ट छैन। थुप्रैले युक्रेनमाथि रुसको आक्रमणको ठिकअघि चीन–रुस साझेदारी वृद्धि गर्ने बेइजिङको लज्जास्पद गल्तीका कारण उनलाई सरुवा गरिएको हुनसक्ने अनुमान गरेका छन्। सो साझेदारीलाई वासिङ्टन र मस्को दुवैले युक्रेन युद्धका लागि चीनको समर्थनका रुपमा अर्थ्याएका छन्।
त्यसैले विदेशमन्त्रीको पदका लागि अग्रस्थानमा तीन जना बाँकी रहन्छन्ः ताइवान मामिला कार्यालयका लिउ चिएची र उपविदेशमन्त्रीहरु मा चाओसु तथा सिएइ फेङ। ५८ वर्षका दुवै जना अमेरिकी मामिलामा विज्ञ हुन्।
मा पहिले विदेश मन्त्रालयका प्रवक्ता र चीनका लागि अस्ट्रेलिया र राष्ट्रसंघका लागि न्युयोर्क तथा जेनेभास्थित राजदूत थिए। अमेरिका मामिला हेर्ने सिएइ भने पहिले हङकङस्थित विदेश मन्त्रालयको कार्यालय प्रमुख थिए। गत वर्ष अमेरिकाका लागि चिनियाँ राजदूत कुइ तियानकाइलाई विस्थापित गर्नेमा यी दुईको नाम चर्चामा थियो। तर, धेरैजसो चिनियाँ विश्लेषकलाई आश्चर्यचकित पार्दै ५६ वर्षीय चिनले यी दुवैलाई पछि पारे। जबकि उनी अत्यन्त जटिल चीन–अमेरिका सम्बन्धलाई सम्हाल्न कम अनुभवी थिए। तर, उनी सीको नजिकका व्यक्ति मानिन्छन्।
अरु सम्भावित उम्मेदवारहरुमा राष्ट्रिय सुरक्षा आयोगका उपनिर्देशक लिउ हाइसिङ, ५९, केन्द्रीय विदेश मामिला आयोगस्थित याङका सहयोगी तेङ होङ्पो, ५७ र सोङलाई विस्थापित गरेर पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख बनेका लिउ चियनछाओ, ५८ हुन्।
यदि वाङको बढुवा भएन र उनले अवकाश लिए भने पोलिट्ब्युरोमा याङको पद लिने योग्य उम्मेदवार नभेटिए सो पद नै खारेजीमा पर्ने तेङ युवेन बताउँछन्।
‘यसो गर्दा कूटनीतिक क्षेत्रलाई नै कमजोर पारेबराबर हुन्छ। जुन चीनको विश्वव्यापी कूटनीतिको दिशा र उदाउँदो शक्तिको हैसियतसँग अमिल्दो हुन्छ,’ उनी भन्छन्, ‘अतः वाङले याङको पद (केन्द्रीय विदेश मामिला आयोगको कार्यालय निर्देशक) पाउने सम्भावना अत्यधिक छ।’
वाङलाई याङको पद नदिई अवकाशमा पठाइयो भने त्यो उनको विरासत र विदेश मामिलासम्बन्धी निर्णयमा विदेश मन्त्रालयको भूमिका दुवैका लागि कालो धब्बा हुने वासिङ्टनस्थित इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिजका अध्येता सौरभ गुप्ता बताउँछन्।
उनले वाङलाई मुलुककै सबैभन्दा ‘परिष्कृत कूटनीतिज्ञ’ भन्दै प्रशंसा गरे। वाङले ‘द्विपक्षीय सम्बन्ध बिग्रेका थुप्रै मुलुकसँग प्रमुख सम्बन्ध व्यवस्थापक’को भूमिका खेलेको उनको भनाइ छ।
चीन–अमेरिका सम्बन्धको सबैभन्दा नाजुक मुद्दा– ताइवान मामिलाका कारण पनि चीनको कूटनीतिमा वाङको महत्व ज्यादा हुनसक्ने उनले बताए।
‘त्यसले चीनको विदेश नीति संरचनामा वाङको केन्द्रीयता र प्रमुखता सुनिश्चित गर्नुपर्ने हो,’ गुप्ताले भने, ‘तर, चीनको राज्य सञ्चालनमा विदेश नीतिको प्रमुखता कति छ भन्नेमै प्रश्न छ। किनभने सीको झुकाव ज्यादा जनमुक्ति सेनातर्फ देखिन्छ।’
पाँच वर्षअघि याङ अमेरिका मामिलामा लामो समय काम गरेको आधारमा पोलिटब्युरोमा बढुवा भएका थिए। त्यसको तुलनामा उनको उत्तराधिकारी छनोटको मापदण्ड फेरिएको हुनसक्छ। गुप्ताका अनुसार उमेर, वरिष्ठता, योग्यता र कूटनीतिक कौशल महत्वपूर्ण भए पनि अहिले राजनीतिक निकटता सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ।
‘उच्च पदहरुमा धेरथोर समूहगत रुपमा छनोट हुन्छ,’ उनी हुन्छन्, ‘त्यसैले अन्ततः बफादार, सञ्चारसीप राम्रो भएको र सो समूहभित्र पार्टीको लाइनमा रहनेहरु माथिल्लो पदमा पुग्छन्।’
तर, कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिसका अध्येता फिलिप लु कोर वाङको सम्भावित बढुवामा शंका व्यक्त गर्छन्।
‘परम्परा के छ भने वाङजस्ता पार्टी लाइनको रक्षा गर्ने मामिलामा राम्रो काम गर्नेहरुको बढुवा हुन्छ। तर, उनको उमेर बाधा बन्न सक्छ,’ उनले भने, ‘पोलिट्ब्युरोमा बढुवा हुनका लागि सायद उनी ज्यादा बुढो भइसके। त्यसैले पार्टी नेतृत्वले करिअर डिप्लोम्याटको सट्टा कुनै सिद्धान्तकारलाई छान्यो भने म चकित हुन्नँ।’
पछिल्ला तीन वर्षमा परम्परागत कूटनीतिलाई कट्टर धारले उछिनेको स्पष्ट देखिएको लु कोरले बताए।
‘यो नेतृत्वको मातहतमा विदेशनीति आन्तरिक नीतिको एउटा औजार बनेको छ,’ उनले भने।
यद्यपि, चिनियाँ राजनीतिले जतिबेला पनि छक्क पार्न सक्ने उनको भनाइ छ।
‘थुप्रै विदेश मामिला विश्लेषकहरु ‘राम्रो’ आश्चर्यको पर्खाइमा हुनसक्छन्। किनकि गएका तीन वर्षमा चीन र बाँकी विश्वको सम्बन्ध सकारात्मक छैन,’ उनले भने।
अरुलाई आरोप लगाउने गरे पनि विदेश नीतिलाई चीन आफैँले राजनीतिकरण गरेको उनको आरोप छ।
नाम भन्न नचाहने बेइजिङका ती राजनीतिशास्त्री भने विगतको अनुभवका आधारमा भन्दा पार्टी सम्मेलनको उद्घाटनसम्म पर्दापछाडि उम्मेदवारहरुबीच चलखेल भइरहने बताउँछन्।
‘प्रतिनिधिहरु भेला नहुन्जेलसम्म अनेकथरी अनुमान चलिरहनेछ। र, वाङसहितका उम्मेदवारहरु भने खुलेआम अभियानको अभावमा आफूलाई कसरी बढुवा गर्ने भनेर विचार गरिरहेका हुनेछन्,’ उनले भने।
तर, याङ र वाङबाट शीर्ष कूटनीतिज्ञको पद जसले लिए पनि पश्चिमा मुलुकहरुसँग बलियो र मित्रवत् सम्बन्ध निर्माण गर्नु असाध्यै कठिन काम हुने अमेरिकाको बकनेल युनिभर्सिटीका प्राध्यापक चिछुन सु बताउँछन्।
‘चीनको आक्रमकताको कारण मात्र त्यस्तो स्थिति आएको होइन। पश्चिमले निर्भीक र विश्वस्त चीनसँग व्यवहार गर्ने प्रभावकारी तरिका फेला पार्न सकेको छैन,’ उनी भन्छन्, ‘अमेरिकाले आफ्नो विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने बराबरीको प्रतिस्पर्धीलाई सहँदैन। र उसले चीनलाई त्यस्तो प्रतिस्पर्धी मानेको छ।’
‘अर्कोतिर, चीन सरकारले आफ्नो राष्ट्रको कायाकल्प गर्ने र ऐतिहास गौरव पुनर्स्थापित गर्ने बाचा गरेको छ। अतः अमेरिका–चीन द्वन्द्व संरचनागत र भित्री हो। जसले के सुझाउँछ भने आउँदा वर्षहरुमा द्विपक्षीय सम्बन्ध सहज हुनेछैन।’
(साउथ चाइना मर्निङ पोस्टबाट। सी चियाङथाओ पूर्वकूटनीतिज्ञ तथा एक दशकभन्दा लामो समययता पोस्टका चीन रिपोर्टर हुन्)
Shares
प्रतिक्रिया