ad ad

ग्लोबल


मित्रहरुको मन जित्न सी चिनफिङले यसरी बदले चीनको विदेश नीति

मित्रहरुको मन जित्न सी चिनफिङले यसरी बदले चीनको विदेश नीति

नेपालखबर
पुस २७, २०७९ बुधबार ९:५०,

चीनमा कोभिडको कहर जारी छ। भर्खरै शून्य कोभिड नीति त्यागेको र संक्रमितहरुको संख्या बढिरहेको बेला चीन अस्तव्यस्त देखिन्छ। तर, यही अस्तव्यस्ताको माझमा राष्ट्रपति सी चिनफिङको विदेश तथा आर्थिक नीतिमा भने आधारभूत परिवर्तन देखिन थालेको छ। चिनियाँ अधिकारीहरु तथा सरकारी सल्लाहकारहरुका अनुसार बेइजिङले पछिल्लो समय पश्चिमाहरुसँग तिक्त बनेको सम्बन्ध सुधार्ने तथा कठिनाइमा परेको अर्थतन्त्र उकास्ने उदेश्यले थुप्रै नयाँ नीतिहरु अवलम्बन गरेको छ।

आर्थिक, सामाजिक र विदेशनीतिसम्बन्धी दबाब चरम विन्दुमा पुगेका कारण यो नीतिगत परिवर्तन गरिएको उनीहरु बताउँछन्। ती कयौँ नयाँ नीतिहरु अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको ‘स्पिरिट’ अनुसार रहेको उनीहरुले बताएका छन्। सो महाधिवेशनबाट चीनको नेतृत्वमा सी तेस्रो कार्यकालका लागि चयन भएका थिए। 

आर्थिक हिसाबले यतिबेला चीनको मुख्य लक्ष्य भनेको चीनको मन्द हुँदै गएको वृद्धिदरलाई गति दिनु, करोडौँ ग्रामीण कामदारको जीवनस्तर उकास्नु, कमजोर हुँदै गएको घरजग्गा बजारलाई स्थिर पार्नु र स्थानीय सरकारहरुको वित्तीय अवस्था सुधार्नु हो।

बेइजिङले वृद्धिमुखी नीति लिने अपेक्षा गरिरहेका कयौँ अर्थशास्त्रीमध्ये एक चेन चिउले २०२३ का लागि सरकारले ६ प्रतिशतमाथिको वृद्धिदर कायम राख्ने लक्ष्य लिने बताए। अन्तर्राष्ट्रिय मुद्राकोषले भने चीनका लागि ४.४ प्रतिशतको वृद्धिदर प्रक्षेपण गरेको छ।

‘२०२२ मा वृद्धिदर ३ प्रतिशत कायम हुनसक्छ। त्यसैले ५ प्रतिशतको औसत लक्ष्य कायम राख्न पनि २०२३ मा उनीहरुले ७ प्रतिशतको लक्ष्य राख्नुपर्छ,’ हङकङ युनिभर्सिटीका प्राध्यापक चेन भन्छन्। 

कूटनीतिक हिसाबले चीनको मुख्य उदेश्य भनेको तिक्तता बढेका केही पश्चिमा मुलुकसँगको सम्बन्ध सुधार हो। गएका केही वर्षमा कुनैकुनै अवधिमा बेइजिङ एक्लिएको जस्तो समेत देखियो। अब बेइजिङको मुख्य ध्यान युरोपसँगको सम्बन्धमा देखिन्छ। जुन सम्बन्ध चीनले रुसलाई गरेको समर्थनका कारण नराम्ररी बिग्रेको थियो। 

‘कूटनीतिक रुपले बेइजिङ पश्चिमका हरेक मुलुकको प्रतिद्वन्द्वी नबनौँ भन्ने अपेक्षा राख्छ, त्यस्तै बहुपक्षीय मञ्चमा एक्लो देखिन पनि ऊ चाहँदैन,’ बेलायती थिंक ट्यांक च्याटम हाउसका चीन विज्ञ यु ची भन्छन्, ‘युक्रेनमा रुसको सैन्य दुस्साहस असफल हुँदैछ। त्यसले मस्कोसँगको द्विपक्षीय सम्बन्धमा बेइजिङले गर्ने लगानीको नाफा ह्वात्तै घटेको छ।’

गत महिना सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्विपक्षीय सम्बन्ध गहिरो पार्ने बाचा गरे। तर, कयौँ चिनियाँ अधिकारीहरुले कुराकानीमा दुई मुलुकबीच युक्रेन मुद्दामा ठूलो अन्तर रहेको बताए। उनीहरुले केही युरोपेली कूटनीतिज्ञहरुलाई पनि सोही सन्देश दिएका छन्।

केहीले तिखो टिप्पणी गरे। ‘पुटिन पागल हुन्,’ एक चिनियाँ अधिकारीले भने, ‘आक्रमणको निर्णय एउटा सानो समूहले गरेको हो। चीन रुसको पछि लाग्दैन।’

मस्कोसँग अविश्वास
सीको कूटनीतिक दिशा परिवर्तनको सुरुवाती विन्दु थियो, मस्कोसँगको सम्बन्धको पुनर्मूल्यांकन। एक चिनियाँ अधिकारीका अनुसार रुस युक्रेनमा विजयी हुन नसकी एउटा कमजोर शक्तिका रुपमा स्थापित हुने र उसको आर्थिक तथा कूटनीतिक हैसियत विश्वमञ्चमा खुम्चिने सम्भावना चीनले देखेको छ।

बाहिर जति प्रशंसा गरे पनि चिनियाँ अधिकारीहरु गोप्य रुपमा पुटिनप्रति अविश्वास प्रकट गर्छन्। गएको ९ महिनामा पाँच अलगअलग चिनियाँ अधिकारीहरुले पुटिनले आक्रमणको आदेश जारी गर्नुअघि यसको सूचना चीनलाई नदिएको बताए। जबकि त्यसको २० दिनअघि मात्रै सी र पुटिनले चीन–रुस सम्बन्ध सीमहीन भएको वक्तव्य दिएका थिए।

उनीहरुको संवादको विवरण सार्वजनिक भएन, त्यसैले के कुराकानी भयो, स्पष्ट छैन। एक अधिकारीका अनुसार पुटिनले बोलेको सबैभन्दा स्पष्ट कुरा थियो– ‘युक्रेनीहरुले रुसी भूमिमा आक्रमण गर्ने र मानवीय प्रलय सिर्जना गर्ने सम्भावनालाई रोक्न आवश्यक सबै कदम चालिनेछ।’ यसलाई चिनियाँहरुले सम्भावित सैन्य कदमको संकेत त मानेका थिए तर आक्रमण नै सुरु होला भन्ने नसोचेको ती अधिकारीको भनाइ छ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनलाई युक्रेन आक्रमणको कुनै सूचना नरहेको प्रमाण भनेको विदेश मन्त्रालयका उपमन्त्री ली युचेङको घटुवा हो। ली चिनियाँ विदेश मन्त्रालयका शीर्षस्थ रुस विज्ञ थिए। थुप्रैले महाधिवेशनपछि उनी चिनियाँ विदेशमन्त्री बन्ने प्रक्षेपण पनि गरेका थिए। तर, अहिले उनलाई हटाएर रेडियो तथा टेलिभिजन प्रशासनको उपप्रमुख बनाइएको छ।

‘लीलाई दुई तह घटुवा गरिएको छ,’ एक अधिकारीले भने, ‘रुसी आक्रमणमा गुप्तचर असफलताको जिम्मेवार लीलाई मानिएको छ।’

युरोपसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका चिनियाँ कूटनीतिज्ञहरु पनि यसै भन्छन्। यो चीनको एक्लोपन हटाउने र युरोपलाई अझ अमेरिकाको नजिक जान नदिने ठूलो रणनीतिको एउटा हिस्सा मात्र हो।

त्यसका लागि मस्कोसँगको निकटतालाई उपयोग गरेर पुटिनलाई आणविक हतियार प्रयोग गर्नबाट रोक्ने प्रयास गर्न चीन तयार रहेको सन्देश चिनियाँ कूटनीतिज्ञहरुले युरोपेली समकक्षीहरुलाई दिएका छन्।

बेइजिङको रणनीतिको अर्को हिस्सा भनेको आफूलाई सम्भावित मध्यस्थकर्ता मात्र होइन, युद्धपछि युक्रेनको पुननिर्माणको हिस्सेदारका रुपमा पनि प्रस्तुत गर्नु हो। गत महिना पुटिनसँगको भेटपछि पनि सीले आफू शान्तिको पक्षधर रहेको बताएका थिए।

चीन पश्चिमाहरुसँगको दुश्मनी कम गर्न चाहन्छ भन्ने अर्को संकेत हो, चाओ लिचेनको बहिर्गमन। ‘वुल्फ वारियर’ कूटनीतिको प्रतिरुप बनेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओलाई सो पदबाट हटाएर सीमा तथा समुद्र मामिला विभागको उपनिर्देशक बनाइएको छ।

ट्विटरमा १९ लाख फलोअर्स भएका चाओले पश्चिमविरुद्ध चर्को अभिव्यक्ति दिने गरेका थिए।

‘चीनले अति धेरै मुलुकहरुलाई एकै पटक दुश्मन बनाएको कुरा महसुस गरेको छ, खासगरी विकसित मुलुकहरु, जो चीनका मुख्य व्यापारिक तथा आर्थिक साझेदार हुन्,’ हङकङ बाप्टिस्ट युनिभर्सिटीका चीन विज्ञ जाँ पिएर क्याबिस्ताँ भन्छन्, ‘त्यसैले युरोपेली संघ र जर्मनी, फ्रान्स, इटली र स्पेनसहित अमेरिकाका एसियाली सहयोगीहरु जापान र दक्षिण कोरिया अनि अमेरिकाको साझेदार भियतनामसँग सम्बन्ध सुधारको ठूलो प्रयास गरिरहेको छ।’

युरोपेली संघ चीनको सबैभन्दा ठूलो व्यापार साझेदार हो। जुन व्यापारबाट चीनलाई ठूलो फाइदा पनि छ। 

चीनको यो प्रयासको प्रतिफल पनि देखिन थालिसकेको छ। नोभेम्बरमा जर्मन चान्सलर ओलाफ सोल्ज र युरोपेली परिषदका अध्यक्ष चार्ल्स माइकलले बेइजिङ भ्रमण गरे। यो वर्ष फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले पनि चीन भ्रमण गर्ने छन्।

म्याक्रोँले पनि सोल्जले जस्तै चीनसँग आर्थिक सम्बन्धविच्छेदको विरोध गर्ने अपेक्षा गरिएको छ। यसले युरोपेली शक्तिहरु र अमेरिकाबीच विभाजन रोप्ने चीनको दीर्घकालीन रणनीतिमा केही सघाउ पुग्नेछ।

सोल्जले बेइजिङ भ्रमणमा चीनसँगको निर्भरता घटाउने कुरा पनि गरे। तर, उनले आर्थिक सम्बन्धविच्छेदलाई खारेज गर्दै चीनलाई आफूहरुले महत्वपूर्ण आर्थिक तथा व्यापारिक साझेदार मानेको बताएका थिए।

‘सोल्जजस्तै म्याक्रोँ पनि चीनसँग सम्बन्धविच्छेदको विपक्षमा छन्। उनी अझै सम्बन्ध बढाउनुपर्ने बताउँदै छन्,’ क्याबिस्ताँ भन्छन्, ‘म्याक्रोँको रणनीतिक स्वायत्तताको आकांक्षालाई चीनले युरोप र अमेरिकाबीच दरार पैदा गर्न प्रयोग गर्ने कोसिस गर्नेछ।’

रुसलाई आणविक हतियार प्रयोग गर्नबाट चीनले रोक्नेछ भन्ने आशा नै युरोपेली राजधानीहरुमा चीन–युरोप सम्बन्धको उत्प्रेरक बनेको अधिकारीहरु तथा विश्लेषकहरु बताउँछन्। 

‘चीनले आणविक हतियार प्रयोगको विरोध सधैँ गर्नेछ,’ सान डिएगोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको ट्वेन्टी फर्स्ट सेन्चुरी चाइना सेन्टरकी प्रमुख सुसान सक भन्छिन्, ‘तर, जब यो कुरा सी चिनफिङले नै युरोपेली नेताहरुसँग भन्छन् भने उनी रुससँग रहेको दुरीमा जोड दिन चाहन्छन्।’

चीनको यो तरिकाले उसलाई फाइदा पुग्न थालेको संकेत पनि देखिन्छ।

‘चीन–युरोप सम्बन्धमा धेरै सुधार आएको छ। किनभने युरोपले चीनसँग सम्बन्धविच्छेदको वकालत गरेको छैन र रणनीतिक स्वतन्त्रता पनि माग गरिरहेको छ,’ सांघाइस्थित फुदान युनिभर्सिटीको सेन्टर फर युरोपियन स्टडिजका निर्देशक तिङ चुन भन्छन्, ‘युरोपले पनि उर्जा संकटदेखि आर्थिक दबाबसम्मका अनेक समस्या झेलिरहेको छ। सम्बन्ध सुधार हुँदैछ। तर, त्यो कति परसम्म पुग्छ, भन्न सकिन्न। हामीले धेरै अपेक्षा राख्नु हुन्न।’

यद्यपि, थुप्रै युरोपेली अधिकारीहरु अझै पनि चीनले रुसलाई समर्थन गरिरहेको भन्दै असन्तुष्ट छन्। रुसी इन्धनमा युरोपको निर्भरताले जस्तो परिस्थिति निम्त्यायो, त्यसलाई हेरेर कच्चा पदार्थ र प्रविधिमा चीनमाथि रहेको उस्तै निर्भरता घटाउनुपर्ने प्रयासले युरोपमा तीव्रता पाएको छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .