दक्षिण इटालीको समुद्री तटमा एक डुंगा डुब्दा कम्तीमा पनि ६० जनाको ज्यान गएको छ। ज्यान गुमाउने सबै आप्रवासीहरु रहेका छन्।
ज्यान गुमाउनेहरुमा १२ बालबालिका पनि रहेका छन्। समाचार अनुसार अहिलेसम्म सयौँ बेपत्ता छन्।
इटालीको समाचार एजेन्सी एन्साका अनुसार ज्यान गुमाउनेमध्येमा केही महिनाका एकजना नाबालक पनि छन्।
समाचार अनुसार आप्रवासी मजदुर बोकेर टर्की हुँदै युरोप छिरिरहेको डुंगा बीच समुद्रमा फुटेर दुई टुक्रा भएको थियो।
यो दुर्घटना डुंगाले इटालीको कालाब्रियास्थित क्रोटोन शहरको तटमा किनार लाग्ने तयारी हुँदै गर्दा दुर्घटनामा परेको हो।
इटालीका राष्ट्रपति सर्जियो म्याटरेलाका अनुसार डुंगामा सवार कयौँ आप्रवासी आफ्नो खराब आर्थिक अवस्था सुधारेर भविष्य बनाउन इटाली छिरिरहेका थिए।
डुंगामा सवार मानिसमा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक सामेल थिए। घटनापछि अहिले त्यहाँ इटाली सरकारले उद्धार र बचाऊ अभियानलाई तीव्र पारेको छ।
यस डुंगामा कति मानिस सवार थिए भन्ने खुलेको छैन। तर उद्धारमा खटिएकाहरुले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यसमा कम्तीमा पनि २ सय जना सवार थिए।
यसको अर्थ अहिले पनि कम्तीमा ६० जना बेपत्ता रहेको अनुमान गरिएको छ। घटनास्थल पुगेका इटालीका गृहमन्त्री म्याटियो पियानटेडोसीले अहिले कम्तीमा पनि ३० जना बेपत्ता रहेको जनाएका छन्।
कोस्टगार्डले बताएअनुसार ८० जनालाई जीवितै उद्धार गर्न सकिएको जनाएका छन्। कयौँ मानिस आफैं पौडिएर किनार लागेका छन्।
गरिबी र लडाइँबाट जोगिने योजनासहित हरेक वर्ष ठूलो संख्यामा मानिसहरु अफ्रिकी र एसियाली देशबाट लुकीलुकी इटाली पुग्छन्। यसक्रममा कयौँ डुंगा यसैगरी दुर्घटनामा पर्ने गरेका छन्।
Shares

प्रतिक्रिया