रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताएका छन्।
हमासले इजरायलविरुद्ध अकस्मात् व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँगको भेटमा रुसी नेताले उक्त टिप्पणी गरेका हुन्।
पुटिनले भने, ‘धेरै मानिसहरू मसँग सहमत हुनेछन् भन्ने मलाई लाग्छ। यो मध्यपूर्वमा अमेरिकी राजनीतिको असफलताको स्पष्ट उदाहरण हो।’
उनले स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राज्यको निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को निर्णयहरू कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
पुटिनले भने, ‘अमेरिकाले द्वन्द्वलाई नियमन गर्ने (द्वन्द्व) मा एकाधिकार जमाउने प्रयास गरेको छ तर दुर्भाग्यवश, दुवै पक्षलाई स्वीकार्य हुने गरी सम्झौताको खोजीमा व्यस्त छैन।’
उनले भने, ‘पश्चिमा मुलुकले प्यालेस्टिनी जनताको आधारभूत हितलाई ध्यानमा राखेको छैन।’
एक दिनअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टिनी राज्यको निर्माण इजरायलमा शान्तिका लागि ‘सबैभन्दा भरपर्दो’ समाधान भएको बताएका थिए।
इजरायलविरुद्ध हमासले आक्रमण गर्नुअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको मस्को भ्रमणको तयारी भइरहेको क्रेमलिनले जनाएको छ।
मस्कोले अमेरिकाले आफ्नो सहयोगी इजरायलसँग युद्धपोत सारेपछि कुनै विदेशी खेलाडी द्वन्द्वमा प्रवेश गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया