फेसबुकमा साथी बनाएर पाकिस्तानी पुरुष भेट्न पाकिस्तानको खैबर पख्तुनख्वा पुगेकी भारतीय युवती अञ्जु भारत फर्किएकी छन्।
राजस्थानको भिवाडी निवासी अञ्जु करिब पाँच महिनापछि पाकिस्तानबाट भारत फर्किएकी हुन्।
भारत आइपुगेपछि एक प्रश्नको जवाफमा उनले भनिन्, ‘म खुसी छु।’
किन फिर्ता आएको भनेर सोध्दा उनले आफूसँग यस विषयमा कुनै प्रतिक्रिया नरहेको बताइन्।
अञ्जको पाकिस्तानको भिजा २१ अगस्टसम्मका लागि मात्र मान्य थियो। अगस्टमै उनले भिजाको अवधि थप एक वर्ष बढाउन खोजेको खबर आएको थियो।
तर, अञ्जुले आफू एकपटक भारत आएर आफ्ना छोराछोरीलाई भेट्न चाहन्छु पनि भनेकी थिइन् भनेर बीबीसी हिन्दीले लेखेको छ।
बीबीसी हिन्दीका अनुसार कुराकानीमा क्रममा अञ्जुले भनेकी थिइन्, ‘म यहाँ जुन योजना लिएर आएको थिएँ, हतारका कारण मबाट केही गल्ती हुन पुग्यो। यहाँ जे भयो, त्यसबाट त्यहाँ (भारतमा) मेरो परिवारको धेरै अपमान भएको छ।’
त्यस क्रममा उनले यो पनि भनेकी थिइन्, ‘म त्यहाँ (भारत) जान चाहन्छु। म त्यहाँ मिडियासँग सामना गर्न चाहन्छु। मसँग हरेक प्रश्नको जवाफ छ। म उनीहरूलाई भन्छु– मलाई कसैले जबर्जस्ती गरेको छैन। म आफ्नै इच्छाले यहाँ आएकी हुँ।’
‘म आफ्ना छोराछोरीलाई मिस गरिरहेकी छु, धेरै मिस गरिरहेकी छु। अहिले अब मसँग सबै रिसाएका छन्, केही छैन। म केवल मेरा बच्चाहरूलाई भेट्न चाहन्छु, उनीहरूलाई पाउन चाहन्छु, त्यसका लागि जे सम्भव छ, त्यो मग गर्छु।’
Shares
प्रतिक्रिया