ग्लोबल


यी हुन् ताइवानको राष्ट्रपति बन्न प्रतिस्पर्धा गरिरहेका ३ नेता, को कस्ता?

यी हुन् ताइवानको राष्ट्रपति बन्न प्रतिस्पर्धा गरिरहेका ३ नेता, को कस्ता?

नेपालखबर
पुस २५, २०८० बुधबार २०:३,

जनवरी १३ मा ताइवानमा नयाँ राष्ट्रपति चुनिँदैछन्। ताइवानमा को राष्ट्रपति बन्छ भन्ने कुराले उसको चीनसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने निर्धारण गर्ने हुनाले यो चुनावलाई महत्वपूर्ण मानिएको छ।

सन् १९९६ देखि चुनाव हुँदै आएको ताइवानमा चीन प्रमुख चुनावी मुद्दा बन्दै आएको छ।

यसपटकको चुनावले वर्तमान राष्ट्रपति साइ यिङ वेनलाई विदाई गर्नेछ। ताइवान पछिल्लो समय अमेरिका–चीन तनावको एपिसेन्टर बनेको छ। भूराजनीतिबाहेक ताइवानको चुनावमा न्यून पारिश्रमिक र घरजग्गाको आकासिँदो मूल्य चुनावी मुद्दा बनेका छन्।

चुनावमा सत्तारुढ डीपीपी पार्टीका तर्फबाट हालका उपराष्ट्रपति, कोमिन्ताङका तर्फबाट पूर्व प्रहरी प्रमुख र टीपीपी पार्टीका तर्फबाट ताइपेइका पूर्वमेयर भिड्दै छन्। 

विलियम लाइ चिङ–ते
नरम बोलीचाली भएका ६४ वर्षीय उपराष्ट्रपति लाइ यो टापुको स्वशासनको कडा समर्थक हुन्। उनी २०१७ देखि २०१९ सम्म ताइवानका प्रधानमन्त्री थिए। उनी प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन्। 

उनी दुई वर्षको हुँदा उनका बुबाको मृत्यु भएको थियो। उनकी आमा एक्लैले ६ जना केटकेटी हुर्काएको देखेर आफूमा कामप्रति उच्च लगाव पैदा भएको उनको भनाइ छ। 

उनले हार्वर्ड युनिभर्सिटीमा चिकित्साशास्त्र अध्ययन गरे। १९९० को दशकमा सार्वजनिक सेवामा प्रवेश गर्नुअघि उनी मिर्गौलाको डाक्टर थिए।

उनी २०१० मा ताइनान सहरको मेयर बने। २०१४ मा ७३ प्रतिशत पाएर पुनः सो पदमा निर्वाचित भए।

चुनावी अभियानमा उनले ताइवान चीनको मित्र बन्ने अपेक्षामा रहेको बताएका छन्। 

‘हामी शत्रु बन्न चाहन्नौँ। हामी मित्र बन्न सक्छौँ। र, चीनमा पनि हाम्रोजस्तो लोकतन्त्र र स्वतन्त्रता हेर्न चाहन्छौँ,’ उनले अगस्टमा भने।

उनको उपराष्ट्रपतिकी उम्मेदवार स्याओ बी किमले बेइजिङलाई अझ क्रुद्ध तुल्याएकी छन्। उनी जापानमा जन्मेकी र अमेरिकामा हुर्केकी हुन्। गत ३ वर्षदेखि उनी अमेरिकाका लागि ताइवानी दूत थिइन्। 

उनी आफूलाई ‘क्याट वारिअर’ भन्ने गर्छिन्।

होउ यु इ
कोमिन्ताङका उम्मेदवार होउले बालयकालमा आमाबुबाको व्यवसायलाई सघाए। उनीहरु स्थानीय बजारमा सुंगुर बेच्ने काम गर्थे। उनी सुंगुर समात्न बुबाआमालाई सघाउँथे।

सुंगुर समात्ने सीपले प्रहरीको आफ्नो करिअर विकासमा सघाएको उनले बताएका थिए। उनले हाइप्रोफाइल मुद्दाका अभियुक्तहरुलाई समाएका थिए।

६६ वर्षीय होउ २०१० मा राजनीतिमा लागे। उनी २०१८ मा न्यु ताइपेइको मेयर भए। २०२२ मा ठूलो मतअन्तरसहित उनी पुनः निर्वाचित भए। 

योग्य प्रहरी र लोकप्रिय मेयर रहिसकेका उनलाई पार्टीले राष्ट्रपतिको उम्म्मेदवार बनायो। जो ८ वर्षपछि ताइवानको सत्तामा आफ्नो हातमा फर्काउन चाहन्छ। होउले अर्का उम्मेदवार को वे जीसँग साझेदारी गर्न चाहेका थिए। तर, त्यसो हुन सकेन।

ताइवानको स्वतन्त्रता घोषणाको विपक्षमा छन् उनी। तर, यो अभियानमा उनले यसबारे खासै टिप्पणी गरेका छैनन्। जसका कारण उनको आलोचना पनि हुने गरेको छ। 

उनका उपराष्ट्रपतिका उम्मेदवार ज श कङ राजनीतिक विश्लेषक हुन्। ७३ वर्षका उनी ताइवान चीनसँग पुनः एकीकरण हुनुपर्ने पक्षमा छन्। 

को वेन जी
डाक्टरी छाडेर नेता बनेका उनी चीनलाई उक्साउने र आलटाल गर्ने उम्मेदवारहरुबीचको आफू तेस्रो विकल्प भएको बताउँछन्। उनी टीपीपी पार्टीका हुन्। उनी युवाहरुमा लोकप्रिय छन्।

एक समय सर्जन रहेका उनले १० वर्षअघि यो पेसा छाडेका थिए। २०१४ मा चीनविरोधी विद्यार्थी प्रदर्शनलाई सघाएपछि उनी चर्चामा आएका थिए।

त्यही वर्ष उनी ताइपेइको मेयर चुनिए। सिकारु राजनीतिकर्मी भए पनि उनले पार्टी र सो आन्दोलनका अगुवाहरुको समर्थन पाए।

त्यसपछि चीनप्रति उनको अडान बदलियो। उनले सांघाइसँग ताइपेइको सम्बन्ध स्थापना गरे।

२०१९ मा उनले टीपीपी स्थापना गरे। जसलाई उनले डीपीपी र कोमिन्ताङको विकल्पको रुपमा अघि सारे। २०२० को आमचुनावमा उनको पार्टीले ११३ मध्ये ५ सिट जितेको थियो र संसदको तेस्रो ठूलो दल बनेको थियो।

उनका उपराष्ट्रपतिकी उम्मेदवार सिन्थिया वु वर्तमान सांसद र ताइवानको सबैभन्दा ठूलोमध्येको व्यापारिक घरानाकी उत्तराधिकारी हुन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad