उत्तर कोरियाले दक्षिण कोरियासँग एकता गर्ने नीति परित्याग गरेको छ। सो मुलुकले संविधानबाटै एकीकरणको प्रतिबद्धता हटाउने भएको हो।
कोरियाली प्रायद्वीपमा बढ्दो सैन्य तनावका बीच उत्तर कोरियाले दशकौँदेखि लिँदै आएको नीति बदलेको हो।
सर्वोच्च नेता किम जोङ उनले सोमबार उत्तर कोरियाको संसद् सुप्रिम पिपुल्स एसेम्बलीमा दक्षिण कोरियालाई आफूहरुको ‘प्रधान शत्रु’ घोषणा गरे। उनले दक्षिण कोरियालीहरुलाई ‘स्वदेशबासी’ का रुपमा नलिने पनि बताए।
किमले दुई कोरियाबीच एकीकरण र आपसी पर्यटनका लागि भन्दै बनाइएको सरकारी एजेन्सी पनि बन्द गर्न आदेश दिएका छन्।
‘उत्तरी आधा भाग’ र ‘स्वतन्त्र, शान्तिपूर्ण एकीकरण अनि महान् राष्ट्रिय एकता’ भन्ने पदावली अब हाम्रो संविधानबाट हटाइनेछ,’ किमले भनेका छन्।
‘यथार्थ के हो भने उत्तर–दक्षिण सम्बन्ध अब नातेदारी वा सजातीय सम्बन्ध रहेन। बरु, दुई शत्रु मुलुकबीचको सम्बन्ध हो, विशुद्ध युद्धको माझमा लडिरहेका दुई पक्षबीचको सम्बन्ध,’ उनले थपे।
उनले राजधानी प्योङयाङमा अवस्थित एकीकरण प्रवर्द्धन गर्ने स्मारकलाई पनि ‘आँखै बिझाउने’ भन्दै भत्काउन आदेश दिए।
जापानले दशकौँसम्म कब्जा गरेको कोरिया दोस्रो विश्वयुद्धको अन्त्यमा उत्तरतर्फ सोभियत पक्षधर र दक्षिणतर्फ अमेरिका पक्षधर शक्तिहरुको नियन्त्रणमा पुगेपछि विभाजित भएको थियो।
दुवै कोरियाले १९५३ मा भएको युद्धविरामपछि आधिकारिक रुपमा पुनर्एकीकरणको प्रतिबद्धता कायम राख्दै आएका छन्। तर, गत महिना किमले ‘एक राष्ट्र, एक राज्य, दुई व्यवस्था’को यो नीति यथार्थपरक नभएको बताएका थिए।
‘दक्षिणतर्फको एकपछि अर्को सरकारले उत्तरलाई शोषेर एकीकरण गर्ने प्रयास गरेको र उदार लोकतन्त्रअन्तर्गत एकता गर्न खोजेको भन्दै किमले युद्धको अवस्थामा दक्षिण कोरियाको सम्पूर्ण भूभाग मिच्नका लागि तयार रहन पनि उत्तर कोरियालीहरुलाई आह्वान गरे।
कतिपय विश्लेषकले यसलाई दक्षिण कोरियामाथि आणविक आक्रमणको आधार तयार पार्ने प्रयास भनेका छन्।
गत वर्ष उत्तर कोरियाले पहिले आणविक आक्रमण नगर्ने नीति समेत बदलेको थियो। गैरआणविक मुलुकले आफूमाथि आक्रमण गर्दा पनि आणविक हतियार प्रयोग सकिनेगरी उत्तर कोरियाले नीति बदलेको छ।
यसैसाता उनले संसदमा भने, ‘हामी युद्ध चाहन्नौँ। तर, यसबाट छलिने हाम्रो कुनै उदेश्य छैन।’
यसले दक्षिण कोरियाले लिँदै आएको नीति समेत फेरबदल गर्ने स्थिति आउनसक्ने देखिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया