ग्लोबल


अमेरिकी पत्रकारसँग पुटिनले गरे दुई घण्टा लामो अन्तर्वार्ता, यी हुन् ५ मुख्य बुँदा

अमेरिकी पत्रकारसँग पुटिनले गरे दुई घण्टा लामो अन्तर्वार्ता, यी हुन् ५ मुख्य बुँदा

नेपालखबर
माघ २६, २०८० शुक्रबार १३:४०,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई हराउनु असम्भव रहेको बताएका छन्। तर, पोल्यान्ड र लाट्भियाजस्ता मुलुकमा युद्ध विस्तार गर्ने आफ्नो चाहना नरहेको उनको भनाइ छ।

अमेरिकी सञ्चारकर्मी टकर कार्लसनलाई दुई घण्टा लामो अन्तर्वार्ता दिँदै पुटिनले युक्रेनमा आक्रमण गर्नु अत्यावश्यक कदम भएको दोहोर्याएका छन्। युरोपमा सीमा विस्तार गर्ने आफ्नो कुनै चाहना नरहेको भन्दै आफूमाथि आक्रमण भए मात्र छिमेकी मुलुकमा सेना पठाउने बताए।

‘यो बिल्कुल असम्भव कुरा हो। यति बुझ्न कुनै विश्लेषक हुनु जरुरी छैन। कुनै पनि विश्वव्यापी युद्धमा सहभागी हुनु सहजबुद्धिभन्दा बाहिरको कुरा हो,’ सामाजिक सञ्जालमा पोस्ट गरिएको सो अन्तर्वार्तामा पुटिनले भनेका छन्, ‘र, विश्वयुद्धले सम्पूर्ण मानवजातिलाई विनाशको सँघारमा पुर्‍याउनेछ।’

अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गरे मात्रै युद्धको शान्तिपूर्ण समाधान सम्भव भएको बताए।

‘साँच्चै लडाइँ बन्द होस् भन्ने चाहेको हो भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ। त्यसपछि केही हप्ताभित्रै लडाइँ समाप्त हुनेछ। कुरा त्यही हो। त्यसपछि हामी कुनै सर्तमा सहमत हुनसक्छौँ। त्यसअघि तपाईंले रोक्नपर्‍यो,’ उनले भनेका छन्।

आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग शान्तिवार्ताको प्रस्ताव कहिल्यै पनि अस्वीकार नगरेको बताए।

अन्तर्वार्ताका पाँच उल्लेख्य कुरा यसप्रकार छन्ः 

‘इलोन मस्क रोकिँदैनन्’
चेंगिज खाँदेखि रोमन साम्राज्यसम्मको इतिहासको पाठ सुनाएपछि पुटिनले मानवजातिको भविष्यबारे आफ्नो विचार व्यक्त गरे।

एक व्यक्तिले ‘सुपरह्युमन’ सिर्जना गर्न ठूलो छलाङ मारिरहेको उनले बताए। 

‘उसोभए एआई साम्राज्य कहिलेबाट सुरु होला?’ कार्लसन सोध्छन्।

पुटिनले आफू विज्ञ नभएको बताए। तर, यो कुरा इलोन मस्कलाई थाहा हुनसक्ने उनको भनाइ थियो।

‘मानवजातिले अहिले वंशाणु अध्येताहरुका कारण कयौँ खतरा सामना गरिरहेको छ। अब सुपरह्युमन बनाउन सम्भव हुनसक्छ। वंशाणु परिवर्तन गरिएका खेलाडी, वैज्ञानिक, सैनिक। इलोन मस्कले मानिसको दिमागमा चिप राखिसकेको खबर छ। मलाई लाग्छ, इलोन मस्क रोकिँदैनन्। उनलाई मन लागेको उनी गर्छन्,’ उनले भने।

विश्वयुद्धको धम्की
युक्रेनमा सेना पठाउने निर्णय नगर्न पनि उनले अमेरिकालाई चेतावनी दिए।

‘यदि कसैसँग नियमित सेना पठाउने चाहना छ भने त्यसले मानवजातिलाई गम्भीर विश्वयुद्धको सँघारमा पुर्‍याउनेछ,’ पुटिनले भने।

अमेरिकाले घरेलु मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो। 

‘तपाईंसँग गर्ने कुनै काम छैन? तपाईंको सीमामा समस्या छ, आप्रवासन, राष्ट्रिय ऋण ३३ ट्रिलियनभन्दा ज्यादा छ,’ पुटिनले भने।

‘नर्ड स्ट्रिमको विस्फोट सीआईएले गरायो’
रुसबाट फिनल्यान्ड हुँदै जर्मनी ल्याइएको नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट सीआईएले गराएको उनको भनाइ छ।

पश्चिमाहरुले त्यो रुसले गराएको दाबी गरेका थिए। पछि उनीहरुले युक्रेनले गराएको बताएका थिए।

कार्लसनले पुटिनलाई सोधे, ‘नर्ड स्ट्रिम कसले पड्कायो?’

पुटिनले जवाफ दिए, ‘तपाईंहरुले हो नि।’

कार्लसनले मजाक गरे, ‘त्यो दिन म व्यस्त थिएँ।’

पुटिनको जवाफ दियो, ‘सीआईएसँग त्यस्तो साक्षी छैन।’

प्रमाण दिन आग्रह गर्दा पुटिनले पाइपलाइन विस्फोट गराउने चाहना र शक्ति दुवै भएकालाई हेर्न आग्रह गरे।

‘अहंकारी’ बोरिस जोनसनले शान्ति सम्झौता भाँडे
पुटिनले तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २०२२ मा टर्कीको सहयोगमा हुन लागेको शान्तिवार्ता भाँडेको बताएका छन्।

‘तिनले जोनसनको माग वा तर्क माने। यो हास्यास्पद कुरा हो,’ पुटिनले भने, ‘अहिले जोनसन कहाँ छन्। र, युद्ध चाहिँ जारी छ।’

उनले किन त्यसो गरे भन्ने प्रश्नमा पुटिनको उत्तर थियो, ‘मलाई थाहा छैन, सायद अहंकारको कारण। शुद्ध मनका कारण। तर गतिलो दिमागका कारण होइन।’

पत्रकार एभन गेर्स्कोभिचलाई ‘छाड्न सकिन्छ’
वाल स्ट्रिट जर्नलका रिपोर्टरलाई कैदी सट्टापट्टा छाड्ने सकिने संकेत पनि उनले गरे। जासुसीको आरोपमा उनी एक वर्षदेखि जेलमा छन्।

दुई मुलुकबीच अनौपचारिक माध्यमबाट यसबारे वार्ता भइरहेको उनको भनाइ थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad