इरानले भेनेजुएलालाई बेचेको विमान अमेरिकाले कब्जा गरेको छ। भेनेजुएलाको सरकारी एयरलाइनले किनेको बोइङ ७४७ कार्गो विमान खोसिएपछि इरानले त्यसको भर्त्सना गरेको छ।
अमेरिकाको न्याय विभागले सोमबार सो विमान नियन्त्रणमा लिएको जनाएको छ। दक्षिण अमेरिकी देश भेनेजुएलाले १८ महिना सो विमान नउडाई राखेको थियो।
इरानको महान एयरले २०२२ मा भेनेजुएलालाई सो विमान बेचेको थियो। त्यसले इरानमाथि लगाइएको प्रतिबन्ध उल्लंघन गरेको अमेरिकाको दाबी छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बन्ध रहेको भन्दै महान एयरमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ।
‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका हतियार र लडाकु ओसार्न चिनिएको महान एयरले विमान भेनेजुएलाको एयरलाइनलाई बेचेर निर्यात प्रतिबन्धलाई उल्लंघन गरेको छ। अब सो विमान अमेरिकी सरकारको सम्पत्ति भएको छ,’ अमेरिकी अधिकारी म्याथ्यु एस एक्सेलरडले भनेका छन्।
सो विमान सोमबार नै अमेरिकाको फ्लोरिडा पुगेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया