जुलियन असान्जले सन् २०१० मा अमेरिकी हेलिकोप्टरले बगदादको एउटा सडकमा निहत्था इराकीहरूलाई गोलीले भुटेको फुटेज सार्वजनिक गरे। त्यसअघि नै यी अस्ट्रेलियाली ह्याकरले थुप्रै मानिसलाई क्रुद्ध तुल्याइसकेका थिए।
‘कोल्याटरल मर्डर’ नाम दिइएको सो भिडिओ विकिलिक्सले प्रकाशित गरेको अमेरिकी सेनाको हजारौँ गोप्य दस्तावेजमध्ये एक थियो। त्यसले विकिलिक्सका संस्थापक असान्जलाई अमेरिकासँग टक्करको स्थितिमा पुर्याइदियो। जसको समाधान १४ वर्षपछि यसैसाता मात्र भएको छ।
सन् २०१९ देखि कैद बेलायतको बेलमार्स जेलबाट उनी हालै मुक्त भएका छन्। जासुसीको आरोपमा अमेरिका सुपुर्दगीविरुद्ध उनी मुद्दा लडिरहेका थिए।
जेलबाट मुक्त भएपछि उनी अस्ट्रेलियानजिक प्रशान्त महासागरमा अवस्थित अमेरिकी नियन्त्रणमा रहेको नर्दन मरिआना आइल्यान्ड्स पुगे, जहाँको अदालतमा उनले गुप्त सूचना प्राप्त गर्न र त्यसलाई फैल्याउन षड्यन्त्र रचेको एउटा आरोप स्वीकार गरे। त्यसको बदलामा उनीविरुद्धको अन्य सबै आरोप फिर्ता लिइएको थियो।
त्यहाँबाट उनी एक स्वतन्त्र व्यक्तिका रूपमा बाहिर निस्केका छन्।
उनको मुक्तिका लागि अस्ट्रेलियाले निकै धैर्यपूर्वक कूटनीतिक सहयोग गरेको छ। सो सहयोगबिना उनले आजको दिन देख्न नपाउने उनका कतिपय सहयोगीहरूको भनाइ छ।
‘यो स्वतन्त्रताको विजय हो कि होइन, विवादास्पद कुरा हो,’ उनलाई सुरुदेखि सहयोग गरेका पत्रकार तथा फ्रन्टलाइन क्लब नामक समूहका संस्थापक भोन स्मिथ भन्छन्।
उतिबेला समर्थकहरूले असान्जलाई प्रेस स्वतन्त्रताका निडर योद्धाका रूपमा लिन्थे। जसले शक्तिको केन्द्रमा रहेको दोहोरो मापदण्डलाई उजागर गर्ने काम गरेको थियो। उनका आलोचकहरूको तर्क बेग्लै थियो– उनीहरू असान्जलाई खतरनाक मान्थे, जसले परिणाम विचार नगरी सूचना फैलाउने काम गरे।
तर, उनका वफादार मित्र रहेको स्मिथ भने जसरी हेरे पनि असान्जले डरलाग्दो कष्ट बेहोर्नुपरेको बताउँछन्।
स्विडेनमा बलात्कार आरोप सामना गरिरहँदा उनले लन्डनस्थित इक्वेडरको दूतावासमा सात वर्ष बिताए। दूतावासमा अनेक खालका सेलेब्रिटीको हुल आइरहन्थ्यो। जसमा पामेला एन्डर्सन, लेडी गागादेखि ग्रिसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिससम्म थिए।
इक्वेडर उनीबाट दिक्क भएपछि उनलाई गिरफ्तार गरियो र बेलमार्स जेल लगियो।
‘उनलाई जसरी सताइयो, त्यो निकै दुखद छ,’ स्मिथ भन्छन्।
कोल्याटरल मर्डर इराक र अफगान युद्धसम्बन्धी अमेरिकी सैन्य दस्तावेजहरूसँगै २०१० मा प्रकाशित भएको थियो। ती दस्तावेज अमेरिकी सेनाकी पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङबाट प्राप्त गरिएको थियो। जसलाई पक्राउ गरी ३५ वर्ष कैद सजाय सुनाइयो। त्यसमध्ये ७ वर्ष उनले जेलमा गुजारेर माफी पाइन्।
अपाचे हेलिकोप्टरबाट खिचिएको सो हत्याको दृश्यले अमेरिकी सेनाका हर्कत उजागर गरेको थियो। २००७ को सो घटनामा सैन्य कमान्डरहरूले मारिएका व्यक्तिहरू सशस्त्र भएको दाबी गरेका थिए। जुन झुटो ठहरियो।
त्यतिधेरै दस्तावेजमध्ये यो एउटै विस्फोटक प्रमाणले अमेरिकी सेनाको प्रतिष्ठालाई ठूलो चोट पुर्यायो। मारिएका ११ सर्वसाधारणमध्ये दुई जना रोयटर्सका कर्मचारी थिए।
सुरुमा यो सूचना विकिलिक्सले द गार्डियन, न्युयोर्क टाइम्स, देर स्पिगेल, एल पाइस र लु मुंद पत्रिकासँगको सहकार्यमा प्रकाशित गरेको थियो। जसमा स्रोत र मान्छेहरूको नाम मेटिएको थियो।
तर, केही समयपछि असान्ज र उनले सहकार्य गरेका केही पत्रिकाबीचको सम्बन्ध बिग्रियो। र, एक जर्मन ह्याकरले ती फाइल प्राप्त गरे। त्यसपछि विकिलिक्सले अढाई लाख कूटनीतिक केबलसहित सम्पूर्ण सामग्री जस्ताको तस्तै प्रकाशित गर्यो।
गार्डियनका पूर्वसम्पादक आलन रसब्रिजर २००६ मा केन्यामा भ्रष्टाचार खुलासा गरेर सुरु भएको विकिलिक्सले पारदर्शिताको नयाँ सुरु गरेको बताउँछन्।
यी गुप्त सूचनामा हात हाल्ने जोसुकैमाथि पनि पश्चिमा जासुसी एजेन्सीहरूले जोरजुलुम गर्न थालेपछि थुप्रै पत्रकारहरूले लामो समय आलोचना बेहोर्नुपर्यो।
‘इराक र अफगानिस्तानसम्बन्धी ती सामग्री बाहिर आउनै पर्थ्यो,’ रसब्रिजर भन्छन्।
कूटनीतिक केबलहरूमा प्रयोग गरिएका गैरकूटनीतिक भाषाका कारण अमेरिकाको उसका केही सहयोगीसँगको सम्बन्धमा असर पर्यो। अझ अमेरिकीहरूको दाबी के छ भने यो खुलासाले स्रोतहरूलाई खतरामा पारिदियो।

२०१९ मा उनीमाथि आरोपपत्र दायर भएको बेला अमेरिकी न्याय मन्त्रालयका अधिकारी जोन डेमर्सले भनेका थिए, ‘कुनै पनि जिम्मेवार व्यक्ति, पत्रकार होस् वा अन्य, ले जानीबुझी ती व्यक्तिको नाम प्रकाशित गर्दैन, जो युद्धक्षेत्रका गोप्य स्रोत हुन्।’
असान्जले किशोरावस्थामा ह्याकरका रूपमा आफ्नो सीप तिखारे। त्यहीँ उनको कानुनसँग पहिलो टक्कर पनि पर्यो। स्मिथका अनुसार असान्जका कतिपय पछिल्ला समस्याको कारण उनी ‘अलग’ हुनु हो।
उनको कामसँगसँगै चरित्रले पनि मानिसहरूलाई पक्षविपक्षमा विभाजन गर्ने गरेको छ।
‘उनी सबैसँग मिल्छन् भन्ने छैन। समयसमयमा हामी देख्छौँ, अलग विचार व्यक्त गर्नेविरुद्ध मान्छेहरू खनिन्छन्,’ स्मिथ भन्छन्, ‘बलात्कार आरोपले उनलाई आम मान्छेको नजरमा दूषित तुल्यायो।’
उनलाई भेट्ने कतिपय मानिसहरू पनि उनीप्रति नकारात्मक धारणा राख्छन्।
‘कुनै बेला उनी सीईओजस्तो व्यवहार देखाउँछन्, एकदम रणनीतिक र कुशल। तर, अरुबेला उनी बेहोरा बिग्रेको बच्चाजस्तो हुन्छन्,’ एकजनाले भने।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश माइकल स्नोले उनलाई ‘आफ्नो स्वार्थभन्दा पर हेर्ननसक्ने आत्मप्रशंसक’ भनेका थिए।
थुनिँदा पनि असान्ज शक्तिशाली रहे। २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि विकिलिक्सले डेमोक्र्याटिक पार्टीको इमेलहरू सार्वजनिक गर्यो। त्यो रुसी गुप्तचरबाट लिइएको अमेरिकाको आरोप थियो।
सुरुमा उनका प्रशंसक रहेका डोनाल्ड ट्रम्प पनि पछि उनीविरुद्ध खनिए।
सुपुर्दगी मुद्दा चलिरहेका बेला बेलायतले असान्जलाई गरेको व्यवहार पनि विवादित रह्यो। प्रेस स्वतन्त्रता पक्षधरहरूका नजरमा बेलायत खराब देखियो, जो अमेरिकी स्वार्थको चाकर बन्यो।
सुपुर्दगी सन्धि कानुनका ज्ञाता निक वामोस भने असहमति व्यक्त गर्छन्। यसपटक सुपुर्दगी गर्ने फैसलाविरुद्ध पुनरावेदन गर्न दिने उच्च अदालतको निर्णयले उनको उन्मुक्तिमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
‘यसले अन्ततः सबैलाई सहमतिको टेबलमा ल्यायो,’ उनी भन्छन्।
तर, असान्जका अमेरिकास्थित प्रमुख वकिल ब्यारी पोलक गुप्तचर कानुनको सय वर्षको इतिहासमा असान्जमाथिको मुद्दा अभूतपूर्व भएको बताउँछन्।
‘पत्रकारहरूलाई यसरी मुद्दा लगाइएको यो पहिलो र अन्तिम पटक होस् भन्ने मेरो आशा छ,’ उनी भन्छन्, ‘असान्ज शक्तिशाली आवाज हुन्, त्यो आवाजलाई दबाउनु हुँदैन।’ फाइनान्सियल टाइम्सबाट
Shares

प्रतिक्रिया