ग्लोबल


हसिनाविरुद्ध तीनवटा ‘सामूहिक हत्या’ अभियोगमा अनुसन्धान सुरु

हसिनाविरुद्ध तीनवटा ‘सामूहिक हत्या’ अभियोगमा अनुसन्धान सुरु

फाइल फाेटाे : शेख हसिना


नेपालखबर
भदौ ४, २०८१ मंगलबार ६:३३, ढाका

बंगलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीनवटा ‘सामूहिक हत्या’ मुद्दामा अनुसन्धान सुरु गरेको छ। हसिनाले नै उक्त न्यायाधिकरण गठन गरेकी थिइन्। 

यही अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि हसिनाले १५ वर्षको आफ्नो शासनविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको एक महिनाको विरोध प्रदर्शनमा चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो। धेरैजसो प्रहरीको गोलीबाट मारिएका थिए।

‘हामी यस चरणमा प्रारम्भिक प्रमाणहरू संकनल गर्दै छौँ’, ‘सामूहिक हत्या’ सँग सम्बन्धित मुद्दा रहेको उल्लेख गर्दै न्यायाधिकरणको अनुसन्धान सेलका उपनिर्देशक अताउर रहमानले सोमबार भने, ‘त्यसपछि हामी अपराध भएका स्थानमा जानेछौँ।’

उनले सबै तीनवटै मुद्दा निजी व्यक्तिहरूले ल्याएको र हसिनाका धेरै पूर्व शीर्ष सहयोगीहरूको नाम पनि मुद्दामा रहेको बताए। यी मुद्दा राजधानी ढाकाका उपनगरहरू वा नजिकैका जिल्लाहरू मीरपुर, मुन्सिगन्ज र सावरमा भएका हिंसासँग सम्बन्धित छन्।

यसबाहेक स्थानीय मिडिया रिपोर्टहरूका अनुसार मुलुकभरमा स्थानीय प्रहरी एकाइहरूले हसिनाविरुद्ध कम्तीमा १५ मुद्दा दायर गरेका छन्। 

केही मुद्दा हालैको अशान्तिअघिका घटनासँग सम्बन्धित छन् र आरोपहरूमा हत्या र ‘मानवताविरुद्धको अपराध’ समावेश छन्।

पाकिस्तानविरुद्ध मुलुकको मुक्ति संग्राममा भएका अत्याचारहरूको छानबिन गर्न हसिनाले सन् २०१० मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) गठन गरेकी थिइन्। 

हसिनाको नेतृत्वमा आईसीटीले एक सयभन्दा बढी व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो र यसमा धेरैजसो उनका राजनीतिक प्रतिद्वन्द्वी थिए। 

अन्तर्राष्ट्रिय महासन्धिहरू पालना नगरेको भन्दै अधिकार समूहहरूले प्रायः अदालतको आलोचना गरेका थिए। हसिनाको सरकारविरुद्ध व्यापक मानवाधिकारको उल्लंघन गरेको आरोप लगाइएको थियो। यसमा उनका हजारौँ राजनीतिक विरोधीको गैरन्यायिक हत्या पनि समावेश थिए।  

बंगलादेशी सुरक्षा बलले विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहलाई दबाउन अनावश्यक रूपमा बल प्रयोग गरेको बलियो संकेत रहेको संयुक्त राष्ट्रसंघले शुक्रबार बताएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad