ग्लोबल


ट्रम्पले फोन गरे भने उठाउन तयार छु : पुटिन

‘युक्रेनको चाहनाअनुसार होइन, यथार्थका आधारमा शान्तिवार्ता हुन्छ’
ट्रम्पले फोन गरे भने उठाउन तयार छु : पुटिन

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १५:३,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिको चुनाव जितेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै आफू ट्रम्पसँग कुरा गर्न तयार रहेको पनि उनले बताए।

‘अमेरिकाको राष्ट्रपतिको चुनाव जितेकामा उहाँलाई बधाई दिन्छु,’ बिहीबार सोचीमा एक कार्यक्रममा पुटिनले भने। 

विश्वभरका नेताहरूले ट्रम्पलाई फोन गरेर बधाई दिइरहँदा पुटिन भने मौन थिए। उनले ट्रम्पसँग कुरा नभएको उल्लेख गरे।

आफूले ट्रम्पलाई फोन नगर्नुको कारण खोल्दै उनले भने, ‘किनकि कुनैबेला पश्चिमा मुलुकका नेताहरूले मलाई लगभग प्रत्येक साता फोन गरिरहेका थिए। त्यसपछि अचानक उनीहरूले गर्न छाडे। उनीहरूमध्ये कुनै पनि नेताले सम्पर्क गर्न चाहे मैले पहिले पनि भनेको थिएँ, फेरि भन्छु, हामी त्यसको विपक्षमा छैनौँ।’

शपथ नलिइकनै ट्रम्पसँग छलफल गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले भने, ‘तयार, तयार!’

हत्याप्रयास भएपछि ट्रम्पले त्यसलाई जसरी लिए, त्यसबाट आफू प्रभावित भएको पुटिनको भनाइ थियो। 

‘मेरो विचारमा उहाँले आफूलाई सही तरिकाले प्रस्तुत गर्नुभयो– साहसी, मर्दजसरी।’

युक्रेन संकट समाधानका सवालमा ट्रम्पले ल्याउने प्रस्ताव ध्यान दिन लायक भएको पुटिनको टिप्पणी थियो।

‘हामी शान्तिवार्ताका लागि तयार छौँ। तर, युक्रेनको महिना महिनामा बदलिने मागका आधारमा होइन, बरु यथार्थका अधारमा,’ पुटिनले भने।

पुटिनको सो टिप्पणीलगत्तै ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ, हामी कुरा गर्नेछौँ।’

ट्रम्पले चुनाव जितेयता ७० जनाभन्दा बढी विदेशी नेतासँग कुरा गरिसकेको पनि खुलाए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad