हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ।
अन्वेषकहरूले चीनको चाङ ई-६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण गरेका थिए। यो थोरै अन्वेषण गरिएको टाढाको छेउबाट चट्टान र माटो लिएर फर्केको पहिलो अन्तरिक्ष यान हो।
दुई अलगअलग टोलीले लगभग दुई अर्ब ८० करोड वर्ष पुराना ज्वालामुखीय चट्टानका टुक्रा फेला पारेका थिए। एउटा टुक्रा अझै पुरानो थियो। यसको उमेर चार अर्ब २० करोड वर्ष थियो।
‘यस क्षेत्रबाट नमुना प्राप्त गर्न साँच्चै महत्त्वपूर्ण छ किनकि यो त्यस्तो क्षेत्र हो जसको बारेमा हामीसँग कुनै तथ्याङ्क छैन’, अनुसन्धानमा संलग्न नभएका एरिजोना विश्वविद्यालयका ग्रहीय ज्वालामुखी विशेषज्ञ क्रिस्टोफर ह्यामिल्टनले भने।
पृथ्वीबाट देखिने चन्द्रमाको नजिकको भागमा यस्तै समय अवधिमा सक्रिय ज्वालामुखी थिए भन्ने वैज्ञानिकलाई थाहा छ।
नासाको लुनार रेकोनेसेन्स अर्बिटर लगायतका पूर्व अध्ययनहरूले टाढाको भागमा पनि ज्वालामुखीय इतिहास हुनसक्ने सङ्केत गरेका थिए। पृथ्वीबाट टाढा रहेको त्यस क्षेत्रबाट लिइएका पहिलो नमुनाहरूले सक्रिय इतिहासको पुष्टि गर्दछन्।
यी नतिजा शुक्रबार नेचर एन्ड साइन्स जर्नलमा प्रकाशन भएका हुन्।
चीनले चन्द्रमामा धेरै अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। सन् २०२० मा चाङ ई-५ अन्तरिक्ष यानले नजिकको भागबाट चन्द्रमाका चट्टानहरू फिर्ता ल्याएको थियो। यो नासाका अपोलो अन्तरिक्षयात्री र सोभियत सङ्घका अन्तरिक्षयानले सन् १९७० को दशकमा सङ्कलन गरेपछिको पहिलो थियो। चाङ ई-४ अन्तरिक्षयान सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा पुग्ने पहिलो यान बनेको थियो।
चन्द्रमाको टाढाको भाग क्रेटरहरूले भरिएको छ र नजिकैको समतल, अँध्यारो मैदानहरू लाभा प्रवाहद्वारा कुँदिएका छन्। अध्ययनका सहलेखक चिनियाँ एकेडेमी अफ साइन्सेसका क्यु-ली लीका अनुसार यी दुई भाग किन यति फरक छन् भन्ने कुरा अझै रहस्य नै छ।
लीका अनुसार नयाँ खोजले चन्द्रमाको टाढाको भागमा एक अर्ब वर्षभन्दा बढी समयसम्म भएका ज्वालामुखी विस्फोटका जानकारी दिन्छन्। भविष्यको अनुसन्धानले यो गतिविधि कसरी यति लामो समयसम्म टिक्यो भन्ने कुरा निर्धारण गर्नेछ।
Shares

प्रतिक्रिया