ग्लोबल


मेक्सिको र क्यानडा ट्रम्पको कोपभाजनमा पर्दा पहिलो दिन करबाट जोगियो चीन

मेक्सिको र क्यानडा ट्रम्पको कोपभाजनमा पर्दा पहिलो दिन करबाट जोगियो चीन

नेपालखबर
माघ ८, २०८१ मंगलबार १६:३२,

डोनाल्ड ट्रम्पले चुनावी अभियानमा चीनविरुद्ध ६० प्रतिशत कर लगाउने बताएका थिए। अमेरिकामा फेन्टानिल नामक लागुऔषध आउनबाट नरोकेकोमा चीनलाई थप १० प्रतिशत कर लगाउने उनको भनाइ थियो।

तर, ह्वाइट हाउसमा बिताएको पहिलो दिन अनेकौँ घोषणा गरे पनि ट्रम्पले चीनविरुद्ध कर लगाउने घोषणा भने गरेनन्। यसले बेइजिङसँगको तनाव व्यवस्थापनमा केही समय दिएको विश्लेषण गरिएको छ।

राष्ट्रपति कार्यालयमा ट्रम्प सोमबार चिनियाँ सामानमा कर लगाउने विषयमा बोल्नबाट बचे। 

‘सी चिनफिङसँग भेटघाट र फोन संवाद हुनेछ,’ ट्रम्पले भने।

उनले आफूलाई चीनले निम्ता पठाएको पनि बताए। तर, भ्रमण गर्ने योजना बनाएका छन् कि छैनन् भन्ने खुलाएनन्। 

टिकटकमाथिको प्रतिबन्ध लगाउन पनि उनले ७५ दिनको अवधि थप गरे।

चीनप्रति यसरी प्रस्तुत भएका ट्रम्प क्यानडा र मेक्सिकोविरुद्ध भने आक्रामक रुपमा पेस भए। शपथ लिएको केही घण्टाभित्रै उनले फेब्रुअरी १ बाट यी दुई मुलुकमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरे। 

जसका कारण मंगलबार चिनियाँ सेयर बजारमा उछाल आएको छ। 

ट्रम्पले तत्काल कठोर कदम नचालेकाले तुरुन्त प्रतिवाद गर्नुपर्ने दबाबबाट सीले राहत पाएको र सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धप्रति केही आशा जगाएको विश्लेषण गरिएको छ।

तर, दुई मुलुकबीचको सम्बन्ध सुधारको संकेत भने यो नभएको विश्लेषकहरू बताउँछन्। अनपेक्षित निर्णयका कारण परिचित ट्रम्प कुनै पनि बेला चीनतिर फर्किन सक्ने उनीहरूको भनाइ छ।

‘ट्रम्प धातुको ठूलो गोला हुन्। उनी कुन दिशातिर बत्तिन्छन्, अनुमान गर्न सकिन्न,’ अस्ट्रेलियाली थिंक ट्यांक जोन कर्टिन रिसर्च सेन्टरका निर्देशक डोमिनिक मिगरको भनाइ ब्लुमबर्गले उधृत गरेको छ, ‘उनी अहिलेसम्म चीनको दिशामा बत्तिएका छैनन्। यसको अर्थ, उनलाई प्रभावित गर्ने समय चिनियाँहरूसँग अझै छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad