ग्लोबल


धनीमानीलाई पनि गरिब महसुस गराउने दुबई सहर

धनीमानीलाई पनि गरिब महसुस गराउने दुबई सहर

क्लोइ कर्निस
माघ ११, २०८१ शुक्रबार १०:२७, काठमाडौँ

गत वर्षको सुरुवातमा दुबईको एउटा बारमा आफूलाई स्केन्डिभियन करोडपति दाबी गर्ने व्यक्तिले अर्को चरण टकिला मगाए र मलाई आफ्नो सफलताको सूत्र सुनाए, ‘प्रसिद्धि, शक्ति र पैसा।’ सुनौलो केस भएकी उनकी एयर होस्टेस साथी बसिरहेको टुलबाट खसिन्।

त्यो निरर्थक क्षण सम्झिँदा अहिले एउटा अपशगुनजस्तो लाग्छ। गत वर्ष ठूलो संख्यामा दुबईमा असली करोडपतिहरू ओइरिए। जोसँग सायद केही प्रसिद्ध र शक्ति पनि थियो होला, तर पैसा भने साँच्चै थियो। २०२४ मा यूएईमा ६ हजार ७०० करोडपति आउने अनुमान हेन्ली एन्ड पार्टनर्सले गरेको थियो। त्यो भनेको विश्वको कुनै पनि गन्तव्यमा भन्दा ज्यादा हो।

कहिले उछाल र कहिले मन्दी हुने दुबईको रियल स्टेट बजारले अहिले अभूतपूर्व उचाइ लिएको छ। त्यसैले धनीमानी यहाँ ओइरिनु दुबईका लागि ठूलो जित हो। लामो समयदेखि दुबईले आफूलाई विलासी जीवनशैलीको गन्तव्यका रूपमा पेस गर्दै आएको छ। 

एक ब्यांकर भन्छन्, ‘दुबई सधैँ मोनाको र सिंगापुर बन्न चाहन्थ्यो। अहिले त्यही दिशातिर अघि बढिरहेको छ।’

कुनै समय मौकाछोपुवा र नक्कली नोटको बिगबिगी रहेको यो सहरमा अहिले असली प्रतिभा र वैध रकम चाहिँदो छ।

दुबईले करोडपति बजारमा पकड जमाइसकेको छ। तर, यो सहरले अब मध्यम वर्गलाई ध्यान दिनुपर्ने हुन सक्छ।

‘अत्यधिक धनीहरूको आगमनले ठूलो मात्रामा पैसा खर्च गर्ने धेरै विकल्प जन्माएको छ,’ करिब दुई दशक दुबईमा बिताएर भर्खरै युरोप आएका एक प्रवासीले भने, ‘तर, यो ठाउँले मान्छेहरूलाई निकै गरिब महसुस गराउँछ।’

सम्पन्न विश्व नागरिकहरूले महँगा रेस्टुराँ भरिभराउ छन्। तिनले समुद्री किनारका महल किनिरहेका छन्। त्यसमाथि दुबईको उन्नतिबाट लाभ लिन कामदारहरूको भीड लाग्दा सहरको हाउजिङ बजारमा दबाब बढेको छ। जसका कारण कम आय भएका परिवारहरू समस्यामा पर्न थालेका छन्।

मर्सर नामक कन्सल्टेन्सीले तयार गरेको सूचीमा बसोबासका लागि दुबई विश्वको १५ औँ महँगो सहरमा पर्छ। जीविका खर्च यो क्षेत्रकै उच्च छ यहाँ। २०२० मा यो सहर सो सूचीको २२ औँ नम्बरमा थियो। प्रवासीहरूको अनलाइन मञ्च ‘ब्रिटिस मम्स’को गत वर्षको अनुमान अनुसार एउटा परिवारलाई सहज जीवनयापनका लागि मासिक ५० हजार दिराम (१३ हजार ६ सय डलर) चाहिन्छ।

मान्छे आउने क्रमलाई महँगीले रोक्न सकेको छैन। ग्ल्यामर, आयकर नलाग्ने व्यवस्था, जाडोको समयमा पनि सानदार मौसम र यूएईको १० वर्षे ‘गोल्डेन भिसा’लगायतका कारण दुबईले आप्रवासीहरूलाई आकर्षित गरिरहेकै छ।

तर, बढ्दो भाडाले असर पार्न थालेको छ। सम्पत्ति सम्बन्धी कानुनले अत्यधिक मूल्यवृद्धिबाट भाडावालहरूलाई केही हदसम्म बचाउँछ। तैपनि भाडामा अत्यधिक वृद्धि भइसकेको छ। औसतमा गत दुई वर्षमा वार्षिक २० प्रतिशतका दरले भाडा बढेको छ। जसका कारण यहाँ लामो समय बस्ने मान्छेहरू घर बदल्न बाध्य हुँदै छन्। बँगैचासहितको भिल्लामा बस्ने एक मित्र अहिले एउटा बेडरुम भएको फ्ल्याटमा सरेका छन्।

दुबईको भूमि विभागले घरको माग बढेको स्वीकार गर्‍यो। तर, हाउजिङको आपूर्ति सन्तुलित राख्न रियल स्टेट क्षेत्रको निगरानी गरेको र अनेक आम्दानी समूहका बासिन्दाहरूलाई सहयोग गर्न विभिन्न कदम चालेको बतायो।

यसअघि राम्रो कमाइ गरेका सफेदपोश कामदारप्रति ज्यादा सहानुभूति राखिने छैन। दुबईमा भाडामा बस्नु पेरिस वा फ्र्यांकफर्टभन्दा पनि महँगो हुन सक्छ। तर, मर्सरको आँकडाअनुसार लन्डन र सिंगापुरजस्ता वित्तीय केन्द्रभन्दा दुबई अझै सस्तो छ। 

यो सहरलाई चलाइरहेका ड्राइभर, वेटर, क्लिनरजस्ता कम आम्दानी भएका कामदारहरू भने टाढाटाढाका इलाकामा साँघुरो ठाउँमा खाँदिएर बस्न बाध्य छन्। अन्यथा परिवारलाई पठाउने रकम कम हुन पुग्छ।

प्रवासीहरू निकै बहस गर्छन्– अब पनि दुबईमा बसिराख्नुमा कुनै फाइदा छ र?  

‘भाडा र शिक्षा, स्वास्थ्य लगायतको खर्चले हामीलाई लन्डनमा बस्दा ठिक होलाजस्तो लागेको छ,’ एकजनाले लेखेका छन्, ‘लन्डनमा करका कारण खर्चका हिसाबले उस्तैउस्तै होला। तर, हामी आफ्नो परिवार र पुराना साथीहरूसँग त बस्न पाउँछौँ नि।’

थुप्रै मान्छे प्रसिद्धि, शक्ति र पैसा कमाउने आशा लिएर दुबई आउँछन्। तर, हालै दुबई छाडेर फर्केका प्रवासीले भनेजस्तै यथार्थ फरक हुन सक्छ।

‘चमकदमक र ग्ल्यामरभन्दा पर दुबईमा धेरै आँसु र दुःख छ,’ उनी भन्छन्। 

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad