ग्लोबल


अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ)

अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ)

सैन्य हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खस्यो।


नेपालखबर
माघ १७, २०८१ बिहिबार १३:५७, काठमाडौँ

अमेरिकाको राजधानी वासिङ्टन डीसीको रेगन राष्ट्रिय विमानस्थलनजिकै बुधबार राति ६४ जना बोकेको अमेरिकी एअरलाइन्सको विमान र अमेरिकी सेनाकै ३ सदस्य सवार हेलिकप्टर आपसमा ठोकिएर पोटोम्याक नदीमा खसे। स्थानीय समयाअनुसार यो दुर्घटना राति ९ बजे भएको थियो। 

यो खबर लेखिरहँदा दुर्घटनास्थलबाट १८ शव निकालिएको र बाँकी यात्रुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विमान खसेको नदीको पानी धेरै चिसो भएकाले खोजी र उद्धारमा कठिनाइ भइरहेको छ। यो नदीमा केही मिनेट बसेमा मानिस जम्न सक्ने बताइएको छ।

यस्तो छ विमान र हेलिकप्टर खसेको नदी

पोटोम्याक नदी, जहाँ बुधबार राति विमान र सैन्य हेलिकप्टर ठोकिएर खसे।

आपसमा ठोकिएपछि विमान र हेलिकप्टर पोटोम्याक नदीमा खसेका थिए। यो संयुक्त राज्य अमेरिकाको मध्य-एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो। यो पश्चिम भर्जिनियाको पोटोम्याक हाइल्यान्ड्सबाट मेरिल्यान्डको चेसापिक खाडीमा बग्छ। पोटोम्याक नदी ४०५ माइल लामो छ।

यो अमेरिकाको २१औँ ठूलो नदी हो। यसको जलाधार क्षेत्रमा ५० लाखभन्दा बढी मानिस  बसोबास गर्छन्। यस नदीमा पसेपछि बाँच्न लगभग असम्भव छ किनभने पानीको तापक्रम यति कम छ कि कोही पनि पौडी खेलेर पनि पानीबाट बाहिर निस्कन सक्दैन।

नदीमा तैरिरहेका छन् बरफका टुक्रा

वासिङ्टन पोस्टका अनुसार यस नदीको पानीको तापक्रम लगभग ३५ देखि ३६ डिग्री फरेनहाइट अर्थात् -१.१११११ सेल्सियस छ। यसबाहेक हालै यस क्षेत्रमा हिमपात भएको छ, जसका कारण नदीमा बरफका टुक्रा पनि तैरिरहेका छन्।

यति चिसो पानीमा यात्रुहरूलाई बाँच्न गाह्रो देखिन्छ। नदीमा बरफ र अत्यधिक चिसो पानीले उद्धार कठिन बनाइरहेका छन्। यस्तो चिसो पानीम  शरीरको तापक्रम चाँडै घट्न सक्छ, जसले गर्दा यात्रुहरूको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ।

केही मिनेटमै हुनसक्छ मृत्यु

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यस्तो चिसो पानीमा शरीरबाट तातो चाँडै निस्कन्छ, जसका कारण पहिलो मिनेटमै चिसो पानीको झट्का लाग्न सक्छ। १० मिनेटभित्र मांसपेशीले नियन्त्रण गुमाउन सक्छ र हाइपोथर्मिया (कम तापक्रमको कारणले गर्दा न्यानो हुन नसक्नु) २० देखि ३० मिनेटभित्र हुन सक्छ। पानीमा प्रवेश गरेको केही समयपछि नै शरीर जम्न थाल्छ।

कसरी भयो दुर्घटना?

अमेरिकन इगल फ्लाइट ५३४२ विमान विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको थियो। पछाडिबाट आउँदै गरेको अमेरिकी सेनाको ब्ल्याकहक हेलिकप्टर विमानसँग ठोकियो। यसपछि दुवै पोटोम्याक नदीमा खसे। विमानसँग ठोकिएको हेलिकप्टर सिरोस्की एच-६० थियो।

रिपोर्टअनुसार विमान सानो यात्रुवाहक विमान थियो, जसमा ६५ जना बस्न सक्ने क्षमता थियो। दुर्घटनाका बेला विमानमा चालक दलका सदस्यसहित ६४ जना रहेको बताइएको छ। विमान कान्सासबाट वासिङ्टन आउँदै थियो।

हेर्नुहोस् विमान र हेलिकप्टर ठोकिएको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad