भारतीय राज्य उत्तर प्रदेशमा एक युवकले एकैदिन फरक–फरक युवतीसँग दुईपटक विवाह गरेका छन्।
हिन्दुस्तानका अनुसार गोरखपुर बस्ने ती युवकले दिउँसो प्रेमिकासँग ‘कोर्ट म्यारिज’ (अदालती विवाह) गरेका हुन् भने फेरि परिवारको आग्रहमा त्यही राति अर्की केटीसँग बिहे गरेका हुन्।
यसपछि उनले कोर्ट म्यारिज गरेकी प्रेमिकालाई छोडे। दुई दिनपछि यो कुरा थाहा भएपछि प्रेमिका युवकको घरमा पुगिन्। उनको कुरा सुनेपछि परिवारका सदस्यले उनको चरित्रमा प्रश्न उठाउँदै घरबाट निकालिदिए।
यसपछि पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन्। यस विषयमा प्रहरीले दुई दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बनाउने तयारी गरेको छ।
यस्तो छ कहानी
हरपुर बुधत क्षेत्रकी एक युवती नजिकैको गाउँको सोही समुदायको एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। करिब चार वर्षपछि उनीहरूले मन्दिरमा विवाह गरे र सँगै बस्न थाले, तर यसबारे परिवारलाई जानकारी दिएनन्।
यसैबीच युवकको परिवारले उनको विवाह अर्को केटीसँग गर्ने तय गर्यो। जब युवकलाई यो कुरा थाहा भयो, उनले आफ्नी प्रेमिकालाई सुनाए र परिवारबाट दबाब आएको बताए। उता परिवारले बिहेको मितिसमेत तोकिसकेको थियो।
तर युवकले प्रेमिकालाई झुक्याए।
उनले भने, ‘अब हामी कोर्ट म्यारिज गरौँ र हामीले हाम्रो परिवारलाई यसबारे जानकारी गरायौँ भने उनीहरू हाम्रो सम्बन्ध स्वीकार गर्न बाध्य हुनेछन्।’
परिवारले जुन दिन उनको विवाह तय गरेको थियो, त्यही दिन अदालती विवाहको मिति पनि तोकियो।
बिहान अदालत खुल्नेबित्तिकै युवकले आफ्नी प्रेमिकासँग अदालतमै विवाह गरे र दुवै जना घर फर्किए।
यसपछि युवकले आफ्नो परिवारका सदस्यहरूलाई मनाउने भन्दै आफ्नी प्रेमिकाको घरबाट निस्किए र साँझ दोस्रोपटक अर्की युवतीसँग विवाह गरे।
दोस्रो बिहेपछि युवकले १५ दिनसम्म आफ्नी प्रेमिकासँग कुरा पनि गरेनन्। यसपछि ती युवती युवक खोज्दै घरमै पुगेपछि यो वास्तविकता खुलेको हो।
सम्भवत: व्यक्तिगत गोपनीयताका लागि हुन सक्छ- समाचारमा उनीहरूको परिचय भने खुलाइएको छैन।
Shares

प्रतिक्रिया