ग्लोबल


अमेरिकालाई चीनको आग्रह: गल्ती सच्याऊ, पारस्परिक कर पूर्ण रूपमा रद्द गर

अमेरिकालाई चीनको आग्रह: गल्ती सच्याऊ, पारस्परिक कर पूर्ण रूपमा रद्द गर

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फाइल तस्बिर।


नेपालखबर
बैशाख १, २०८२ सोमबार ७:५४, काठमाडौँ

चीनले अमेरिकालाई सबै पारस्परिक महसुल (रेसिप्रोकल ट्यारिफ) रद्द गर्न आग्रह गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्कबाट छुट दिने निर्णय गरेपछि चीनबाट उक्त प्रतिक्रिया आएको हो। 

अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गर्दा चीनलाई पनि राहत भएको छ। 

यसैबीच चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्ण रूपमा रद्द’ गर्न आह्वान गरेका हुन्।

ट्रम्पको पारस्परिक कर लागू भएदेखि नै विश्वका दुई ठूला अर्थतन्त्र (अमेरिका र चीन) बीच 'कर युद्ध' चलिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी अमेरिकालाई आफ्ना गल्ती सच्याउन, पारस्परिक करको गलत नीति पूर्ण रूपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन ठूलो कदम चाल्न आग्रह गर्दछौँ।’

ट्रम्प प्रशासनले शुक्रबार मोबाइल फोन र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ। यसमा चीनबाट आयात हुने सामान पनि पर्छन्। 

यद्यपि, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार एबीसी न्युजसँग यो छुट अस्थायी भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि विश्वका धेरै देशबाट आयात हुने सामानमा पारस्परिक शुल्क लगाएका छन्।

तथापि ट्रम्पले चीनबाहेक विश्वका बाँकी देशका लागि यो कर ९० दिनका लागि स्थगन गरेका गरेका छन्। 

अमेरिकाले चीनविरुद्ध भन्सार शुल्क १४५ प्रतिशत लगाएको छ भने चीनले पनि अमेरिकी सामान आयातमा ८४ प्रतिशत शुल्क लिने घोषणा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad