ग्लोबल


जसलाई पहलगाम हमलाका ‘मास्टरमाइन्ड’ मानिएको छ

कुनै बेला होनहार विद्यार्थी आदिल कसरी बने आतंककारी?
जसलाई पहलगाम हमलाका ‘मास्टरमाइन्ड’ मानिएको छ

आदिल हुसेन ठोकर


नेपालखबर
बैशाख १४, २०८२ आइतबार १४:२९, काठमाडौँ

भारत प्रशासित राज्य जम्मु-कश्मीरको पहलगाममा यही अप्रिल २२ का दिन २६ जना मारिएको आतंकवादी हमलाका ‘मास्टरमाइन्ड’ आदिल हुसेन ठोकर भएको आरोप लगाउँदै त्यहाँको प्रहरीले लश्कर-ए-तैयबासँग सम्बन्धित भनिएका उनीबारे सूचना दिने व्यक्तिलाई २० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिसकेको छ। 

घटनाविरुद्ध अनुसन्धान अघि बढाउने क्रममा सुरक्षा बलले आदिलको घरसमेत ध्वस्त पारिसकेको छ। खानतलासी गर्ने क्रममा भित्र राखिएका विस्फोटक पदार्थ अचानक पड्किँदा घर ध्वस्त भएको प्रहरीको दाबी छ। 

जम्मु-कश्मीरकै अनन्तनाग जिल्लाका बासिन्दा आदिल सन् २०१८ मा पाकिस्तान गएको र आतंकवादी तालिम लिएको दाबी गरिएको छ। स्थानीय भएका कारण उनले पहलगाम आक्रमणमा प्रमुख भूमिका खेलेको आरोप छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी कुनै बेला होनहार विद्यार्थी थिए। उनले इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (आईजीएनओयू) बाट स्नातकोत्तर गरेका छन् भने जम्मु-कश्मीरको अनन्तनागस्थित सरकारी डिग्री कलेज खानबलबाट पनि स्नातक गरेका छन्। 

उनी विद्यार्थीहरूलाई पढाउँथे र उनलाई मास्टर भनिन्थ्यो। आदिलको परिवारले उनले पढेर आफ्नो नाम चम्काउने सपना देखेको थियो। 

२०१८ देखि बेपत्ता
आदिल हुसेन दिनरात पढ्थे। उनको परिवारले सोचेको थियो- उनी एक दिन अफिसर बन्नेछन्। सबै कुरा ठिकठाक चलिरहेको थियो तर २९ अप्रिल २०१८ मा आदिल अचानक बेपत्ता भए। उनी त्यस दिन परीक्षा दिन बडगाम जाने भनी घरबाट निस्किएका थिए। तर त्यसपछि उनी फर्किएनन्। 

परिवारका सदस्यले उनलाई खोजे तर फेला पार्न सकेनन्। गुप्तचर एजेन्सीहरूले आदिल पढ्नका लागि भिसामा पाकिस्तान गएको दाबी गरेका छन्। त्यहाँ उनले कट्टरपन्थी नेताहरूलाई भेटे र राष्ट्रविरोधी गतिविधिमा संलग्न भए।

२०२४ मा घुसपैठ गरेर भारत आए
गुप्तचर स्रोतहरूलाई विश्वास गर्ने हो भने आदिल पाकिस्तानमा कट्टरपन्थी विचारधारामा संलग्न भए। उनले सैन्य तालिम लिए र भूमिगत भए। उनलाई पाकिस्तानमा आतंकवादी संगठन लश्कर-ए-तैयबा (एलईटी) मा ह्यान्डलर बनाइयो र आतंककारीहरूको एउटा टोली गठन गरियो। 
आदिल कश्मीरको स्थानीय व्यक्ति थिए, त्यसैले उनलाई यहाँका मार्ग राम्ररी थाहा थियो। जसको फाइदा उनले उठाए। उनले पुंछ-राजौरी सेक्टरको दुर्गम क्षेत्रबाट नियन्त्रण रेखा (एलओसी) पार गरेको दाबी छ। 

भारतीय सुरक्षा एजेन्सीहरूको दाबीअनुसार आदिल धेरै दिनसम्म अनन्तनागमै लुकेर बसेका थिए र अन्य आतंककारीसँग मिलेर ठूलो आक्रमण गर्न सही ठाउँ र अवसर खोजिरहेका थिए।

आदिलको परिवार 
आदिलको गाउँ गुरी अनन्तनागमा छ। जहाँ लगभग ४००० मानिस बसोबास गर्छन्। उनको परिवार सामान्य छ। उनका एक भाइ चित्रकार हुन् भने अर्का अटोमोबाइल सोरुममा काम गर्छन्। गाउँका धेरैजसो मानिस साना व्यवसाय वा मजदुरी गर्छन्। धेरै मानिस पर्यटनमा निर्भर छन्।

आदिलकी आमाको अपिल
आदिलकी आमा शहजादा बानोले अप्रिल २९, २०१८ देखि छोरासँग कुरासमेत हुन नपाएको बताएकी छन्। त्यस दिन आदिलले आफू परीक्षाका लागि बडगाम जाँदै गरेको बताएका थिए। उनी नफर्केपछि परिवार चिन्तित भयो। उनको फोन बन्द थियो। तीन दिनपछि परिवारले कश्मीर उनी बेपत्ता भएको विषयमा प्रहरीलाई जानकारी गरायो। उनी हराएको रिपोर्ट दर्ता गरियो। बानोले आफ्नो छोरा यस्तो आक्रमणमा संलग्न हुन सक्छ भनेर विश्वासै गर्न नसक्ने बताएकी छन्। 

उनले भनेकी छन्, ‘तर ऊ आतंकवादी गतिविधिमा संलग्न छ भने सेनाले कडा कारबाही गर्नुपर्छ।’

यस क्रममा उनले आफ्ना छोरा आदिललाई आत्मसमर्पण गर्न अपिल पनि गरेकी छन्। ताकि शान्तसँग बाँच्न पाइयोस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad