ग्लोबल


वाराणसीबाट विमान उड्नै लाग्दा जब एक यात्रुले ‘मेरो ब्यागमा बम छ’ भने (भिडिओ)

वाराणसीबाट विमान उड्नै लाग्दा जब एक यात्रुले ‘मेरो ब्यागमा बम छ’ भने (भिडिओ)

नेपालखबर
बैशाख १४, २०८२ आइतबार २१:१०, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीको बारेपुर विमानस्थलबाट विमान बेंगलुरु उड्नै बम भएको हल्ला गरिएपछि हंगामा मच्चिएको छ।

भारतीय विमानहरूमा बारम्बार मेल वा फोनमार्फत बमको धम्की आउने गरेका खबर त नौला होइनन्। 

तर यसपटक बमको हल्ला विमानमै सवार एक यात्रुले गरेका हुन्। 

हिन्दुस्तानका अनुसार घटना शनिबार राति करिब १० बजेतिरको हो। इन्डिगो एयरलाइन्सको उडान ६ई ४९९ प्रस्थानका लागि धावनमार्गतर्फ गइरहेको थियो। 

यसै क्रममा विमानमा रहेका क्यानेडियन यात्री जोहानथन निशिकान्त आफ्नो सिटबाट उठे र अगाडिको सिटमा गएर बसे। यसपछि चालक दलका सदस्यले उनलाई आफ्नो सिटमै बस्न भने।

अनि उनी चिच्याउँदै भन्न थाले, ‘मेरो झोलामा बम छ, तिमीहरू सबै मारिनेछौ।’

यसपछि तत्काल एटीसीलाई खबर गरियो र विमानलाई एप्रोनमा फिर्ता ल्याइयो। सबै यात्रुलाई ओरालेपछि विमानलाई आइसोलेसनमा राखियो।

अनि बम डिस्पोजल टोली पुगेर रातभर विमानभित्र खानतलासी गर्‍यो। झन्डै ५ घण्टा खोज्दा पनि कुनै शंकास्पद वस्तु नभेटिएपछि सबैले राहतको सास फेरे।

यसअघि ५ घण्टासम्म यात्रुहरू टर्मिनल भवनमा भोकै, तिर्खै त्रासमा बसेका थिए। 

बमको धम्की दिने यात्रुलाई आइतबार बिहान ५ बजे फुलपुर प्रहरीकहाँ बुझाइयो र बाँकी यात्रु सबैलाई विमानमा चढ्न दिइयो।

यसपछि विमान बिहान ७:३५ बजे बेंगलुरुका लागि उड्यो।

धम्की दिने यात्रु दुई दिनअघि दर्शन र पूजाका लागि काशी आइपुगेका थिए। उनी शनिबार राति वाराणसीबाट बेंगलुरु र त्यसपछि क्यानडा जानुपर्ने थियो।

फुलपुर प्रहरी चौकीका प्रमुख प्रवीण सिंहले यात्रुविरुद्ध बमको हल्ला फैलाउने र दुर्व्यवहार गर्ने धाराअन्तर्गत मुद्दा दर्ता गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad