कस्मिरमा भएको आतंकवादी हमलालाई लिएर तनाव बढिरहँदा भारत र पाकिस्तानले आआफ्नो राष्ट्रिय सुरक्षा हेर्ने निकायमा परिवर्तन गरेका छन्।
पाकिस्तानले आईएसआईका महानिर्देशक लेफ्टिनेन्ट जर्नेल मुहम्मद असिम मलिकलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको हो।
पाकिस्तानले पहिलोपटक आईएसआई प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारको पद एकैपटक एकै व्यक्तिलाई दिएको हो।
मलिकले अक्टोबर २०२४ मा आईएसआई प्रमुखको जिम्मेवारी सम्हालेका थिए। आईएसआई पाकिस्तानको प्रमुख गुप्तचर निकाय हो।
यसअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारको पद दुई वर्षसम्म खाली थियो।
त्यस्तै, भारतले बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा परिवर्तन गरेको छ। भारतले बोर्डको प्रमुखमा रअ का पूर्वप्रमुख आलोक जोसीलाई नियुक्त गरेको छ।
बोर्डका सदस्यहरूमा पूर्व एयर मार्सल पीएम सिन्हा, पूर्व लेफ्टिनेन्ट जर्नेल एके सिंह र पूर्व रिअर एड्मिरल मोन्टी खन्ना छन्। त्यस्तै पूर्वप्रहरी अधिकारीहरू राजीव रञ्जन वर्मा र मनमोन सिंह तथा विदेश सेवाका पूर्वअधिकारी बी बेंकटेश वर्मा नियुक्त भएका छन्।
यो बोर्ड सरकारभन्दा बाहिर रहेका प्रभावशाली व्यक्तिहरूको सल्लाहकार समिति हो। जसले राष्ट्रिय सुरक्षा परिषद्लाई दीर्घकालीन विश्लेषण, सुझाव तथा नीतिगत विकल्पहरूका बारेमा सल्लाह दिन्छ।
अप्रिल २२ मा भारत शासित कस्मिरको पहलगाममा आतंकवादी आक्रमणमा परी २६ जना सर्वसाधारण मारिएपछि यी दुई आणविक छिमेकीहरू सैन्य मुठभेडको सँघारमा पुगेका छन्। भारतले सो हमलामा पाकिस्तानको हात भएको आरोप लगाएको छ।
पाकिस्तानले भने यसमा आफ्नो हात नरहेको दाबी गर्दै आएको छ। दुई मुलुकबीच तनाव चर्किरहँदा पाकिस्तानी अधिकारीहरूले भारतले २०१९ वा २०१६ मा जस्तै इस्लामावादविरुद्ध सैन्य कारबाही गर्ने सूचना प्राप्त भएको दाबी गर्दै आएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया