ग्लोबल


महाशक्ति बन्ने भारतको चाहनामा पाकिस्तानले हालेको भाँजो

भारतले सैन्य शक्तिको भरमा यसकारण समाधान गर्न सक्दैन पाकिस्तान समस्या
महाशक्ति बन्ने भारतको चाहनामा पाकिस्तानले हालेको भाँजो

नेपालखबर
जेठ ४, २०८२ आइतबार २१:२९,

सैन्य हिसाबले पाकिस्तानसँग हालै भएको भिडन्तमा भारतले नतिजा अलिकति आफ्नो पक्षमा ढल्कायो।

भारतीय फौज पाकिस्तानका संवेदनशील हवाइ अड्डाहरूको ह्यांगारमा क्षति पुर्‍याउन र धावनमार्गमा खाल्डाखुल्डी पार्न सफल भयो। यद्यपि उसले आफ्नो लडाकु विमान गुमायो।

तर, रणनीतिक रूपले यो लडाइँबाट भारतलाई स्पष्ट रूपमा झट्का लागेको छ। एक कूटनीतिक र आर्थिक शक्ति बन्न खोजिरहेको भारत यतिबेला पाकिस्तानसँग बराबरी दाँजिन बाध्य भएको छ। जबकि पाकिस्तान भारतभन्दा निकै सानो, निकै कमजोर देश हो। जसलाई भारतीय अधिकारीहरूले आतंकवादको प्रायोजन गर्ने दुष्ट मुलुक भन्छन्।

छिमेकीसँग ७८ वर्ष पुरानो द्वन्द्व समाधान गर्न भारत असफल रहँदै आएको छ। यो चार दिनको झडपले दुनियाँलाई भारतको यही अक्षमता सम्झायो। तर, टक्कर लिने भारतको कुनै पनि कदमले पाकिस्तानलाई फाइदा हुन्छ। पाकिस्तान लामो समयदेखि भारतसँगको टकरावकै कारण जीवित छ। सिधा सैन्य जित लगभग असम्भव छ किनकि दुवै देशसँग आणविक हतियार छ।

‘दुर्भाग्यको कुरा, हामीले हाम्रो यति धेरै समय र शक्ति पाकिस्तानको आतंकवादमा खर्चिनुपर्ने अवस्था छ, जुन हाम्रो लागि रणनीतिक विचलन हो,’ भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन भन्छन्, ‘तर, यो जीवनको यथार्थ हो र हामी यसलाई समाधान गर्न सक्छौँ।’

तर, त्यो समाधान कसरी गर्ने, विभाजनपछिका भारतीय नेताहरू यसैमा अल्झिए। एक दर्जनबढी कूटनीतिज्ञ, विश्लेषक र अधिकारीहरूसँग कुरा गर्दा भारतको यो निरन्तरको द्विविधा प्रस्ट देखिन्छ। अनेकपटकको युद्ध र विवाद समाधान गर्ने कयौँ प्रयासपछि जटिलता झन् बढेको छ।

यसपालि पहलगाम आतंकवादी हमलाको दोष पाकिस्तानलाई दिँदै भारतले आक्रमण गरेको थियो। दुवै पक्षले पहिलोपटक ठूलो मात्रामा ड्रोन र अरु अत्याधुनिक हतियार प्रयोग गर्दा व्यापक युद्धको जोखिम ह्वात्तै बढ्यो। भारतप्रति अमेरिकाको बढ्दो कूटनीतिक र सैन्य सहायता अनि पाकिस्तानप्रति चीनको सहयोगका कारण महाशक्ति राजनीति पनि यसमा घुस्यो।

अर्कोतिर दुवै देशको नेतृत्वले धार्मिक राष्ट्रवाद अपनाएका छन्। दुवैले अर्काप्रतिको धारणालाई कट्टर बनाएका छन्, जसले सहमति लगभग असम्भव बनाएको छ।

पाकिस्तानी सेनाले लामो समयदेखि देशको राजनीतिलाई विकृत तुल्याएको छ। डि–फ्याक्टो शासक बनेको उसले यस्तो धार्मिक कट्टरता प्रवद्र्धन गरेको हो। भारतमा हिन्दु राष्ट्रवादी शासनमा जब तनाव बढ्छ, तब प्रधानमन्त्री नरेन्द्र मोदीको जनाधार रगतको माग गर्छ।

यसले गर्दा २००८ मा मुम्बईमा आतंकवादीहरूले १६० जनाको ज्यान लिँदा भारतले जस्तो संयम अपनाएको थियो, त्यस्तो संयम अपनाउन कठिन छ। त्यतिबेला युद्धले भारतको उत्थानलाई पछाडि धकेल्छ भन्ने जागरुकताले बदला लिने घरेलु दबाबलाई जितेको थियो। 

मेनन त्यतिबेला भारतको सर्वोच्च कूटनीतिज्ञ थिए। र, भारत सरकारले मुम्बई हमलापछि पाकिस्तानमा आक्रमण नगर्ने निर्णय गरेको थियो। बरु भारतले कूटनीतिक रूपमा पाकिस्तानलाई एक्ल्याउन चाह्यो। 

१७ वर्षपछि आतंकवादीहरूले पहलगामको घाँसे मैदानमा फेरि निर्दोष मानिसहरूमाथि आक्रमण गरे। जसमा दुई दर्जन हिन्दु पर्यटकहरूको हत्या भयो। यसपटक भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो र दुवै युद्धको सँघारमा पुगे।

पाकिस्तानले छद्म युद्धको नीतिको मूल्य चुकाउनुपर्ने सन्देश दिन आवश्यक भएको भारतीय अधिकारीहरू बताउँछन्। र, पछिल्लो हमला शत्रुलाई दबाउने एउटा ठूलो रणनीतिको हिस्सा भएको उनीहरूको तर्क छ। 

मेननजस्ता आलोचकहरू पनि भारतसामु अरु विकल्प नभएको बताउँछन्।

भारतको राफेल विमान

अडिग छिमेकी
वर्षौंदेखि भारत र पाकिस्तान एकदमै अलग बाटोमा हिँडिरहेका छन्।

भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ। चीनसँग प्रतिभार कायम गर्न र लगानी गन्तव्यका रूपमा भारतलाई अमेरिका र उसका सहयोगीहरूले साझेदार बनाएका छन्। अमेरिकी र भारतीय नेताहरू पुरानो ‘इन्डो–पाकिस्तान’ समस्याको होइन, पूर्वी एसियासहितको ‘इन्डो–प्यासिफिक’ क्षेत्रको कुरा गर्न रुचाउँछन्। 

‘आज भारतको चिन्ताको सूचीमा पाकिस्तानभन्दा निकै माथि चीन देखिन्छ,’ अमेरिकाका पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फाइनरले हालै भनेका छन्, ‘चीनसँगको समस्या सल्टाइरहँदा पाकिस्तानसँग लडाइँमा अल्झिनु भारतको चाहना होइन।’

तर, पाकिस्तान सधैँ भारतको पृष्ठभूमिमा छ। जन्मदेखि नै सेनाको हालिमुहाली चलिरहेको पाकिस्तानले भारतलाई स्थायी शत्रुको रूपमा परिभाषित गरेको छ।

भारतको अर्थतन्त्र पाकिस्तानलाई उछिनेर तीव्र गतिमा अघि बढ्न थालेपछि १९९८ मा भारत भूमिगत आणविक विस्फोट गराएर विश्वशक्ति बन्ने दिशामा लम्कियो।

तर, दुई साता नबित्दै पाकिस्तानले पनि आफ्नै आणविक परीक्षण गर्‍यो। यो परमाणु निरोधकले अचानक भारतको सैन्य अग्रतालाई नष्ट गरिदियो।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले यो क्षेत्रलाई ‘विश्वकै सबैभन्दा खतरनाक स्थान’ भनिदिए। भारतले हासिल गर्न चाहेको कुरा यो थिएन। चीन, रुस र अन्य पश्चिमा शक्तिहरूसँग जोडिनुको साटो भारत एउटा डरलाग्दो नयाँ दलदलमा फस्न पुग्यो।

यो परमाणु गतिरोधले पनि शान्ति आएन। पाकिस्तानले अमेरिकी लगानीमा सोभियत संघविरुद्ध अफगानिस्तानमा जेहादी मिलिसिया परिचालन गरेको अनुभवलाई भारतविरुद्ध लड्न प्रयोग गर्‍यो।

पाकिस्तानी सेनाप्रमुख असिम मुनिर

कठोर तरिका
आफूअघिका नेताहरूले जस्तै मोदीले पनि प्रधानमन्त्री भएपछि शान्तिको प्रयास गरे।

२०१४ को चुनावमा ठूलो जितको नसा नउत्रिँदै अर्को वर्ष उनले अचानक पाकिस्तान भ्रमण गरे।  एक दशकमा पाकिस्तान पुग्ने उनी पहिलो भारतीय प्रधानमन्त्री थिए। उनले भारतलाई विकसित बनाउने कसम खाएका थिए र स्रोतसाधन बर्बाद पार्ने यो मोर्चाको समाधान खोज्न सकिन्छ कि– उनी हेर्न चाहन्थे।

नौ महिनापछि आतंकवादीहरूले भारतीय सैन्य शिविरमा हमला गरे। जसको दोष भारतले पाकिस्तानलाई दियो र शान्तिको कुरा तत्कालै सेलायो। 

सो हमलाको प्रतिक्रियामा भारतले गरेको कारबाहीले सैन्य प्रतिशोधको शृंखला नै सुरु गर्‍यो। २०१९ र यसपालि। भारतले  पाकिस्तानलाई दण्डित गर्ने रणनीति पनि अपनायो। संवाद रोक्ने, कूटनीतिक रूपले एक्ल्याउने, सीमा सुरक्षा बढाउने र गुप्त रूपमा घरेलु समस्या चर्काइदिने। 

मोदीको राष्ट्रिय सुरक्षा सिद्धान्तका रचनाकार अजित डोभालले भारतका यसअघिका सरकारहरू परमाणु टकरावको डरले ज्यादा रक्षात्मक बनेको बताएका छन्। २०१४ मा राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुअघि उनले भनेका थिए, ‘त्यस्तो (रक्षात्मक बनेको) अवस्थामा म कहिल्यै जित्न सक्दिनँ। किनकि या त म हार्छु, या गतिरोध उत्पन्न हुन्छ।’

उनले ‘रक्षात्मक आक्रमण’को अवधारणा प्रस्ताव गरे। त्यो वास्तवमा पाकिस्तानको असमान युद्धको रणनीतिकै नक्कल हो। 

पछिल्ला वर्षहरूमा भारतविरुद्ध लडिरहेका उग्रवादीहरूलाई सिध्याउन भारतले हत्या अभियान नै चलाएको विश्लेषक तथा अधिकारीहरूको भनाइ छ। पाकिस्तानभित्रै लडाकु समूहहरूलाई सहयोग गरेको आरोप पनि भारतमाथि छ। खासगरी बलोचिस्तान प्रान्तको पृथकतावादी आन्दोलनमा। 

‘तिमी एउटा मुम्बई हमला गर्छौ भने तिमी बलुचिस्तान गुमाउन सक्छौ,’ डोभलले २०१४ मा भनेका थिए, ‘त्यसमा आणविक युद्ध हुँदैन। सेनाले लडाइँमा भाग लिँदैन। तिमीलाई यस्तो चाल चल्न आउँछ भने हामीलाई त्यसभन्दा राम्रो चाल आउँछ।’

पछिल्लो शत्रुतापछि भारतले सिधा सैन्य हमलाको धम्की दिएको छ। भविष्यमा हुने आतंकवादी हमलालाई युद्ध मानिने बताएको छ। सम्भवतः लगातारको सैन्य टकराव सामान्य घटना बन्न सक्छ।

तर, परमाणु युद्धको जोखिमका माझ भारतले सैन्य माध्यमबाट हासिल गर्न सक्ने उपलब्धि भने सीमित छ। 

‘निरोधक भन्ने कुरा विषयगत हुन्छ। यो अरुको मन पढ्ने खेल हो,’ मेनन भन्छन्। बरु पाकिस्तानी सेनालाई प्रेरित गर्ने प्रोत्साहन पुनर्स्थापना गर्न भारतले सक्छ कि सक्दैन भन्ने प्रश्न ज्यादा व्यावहारिक हुने उनको भनाइ छ।

चार दिनको अप्रत्याशित तनावले भारतको महत्त्वाकांक्षा र उसका बाधाबीचको अन्तर प्रस्ट पारेको छ। विश्वमञ्चमा आफ्नो उदयका लागि भारतले पर्याप्त कूटनीतिक शक्ति बनाएको र विश्व अर्थतन्त्रमा पनि पर्याप्त मात्रामा एकीकृत भइसकेको दिल्लीस्थित एक पश्चिमा कूटनीतिज्ञ बताउँछन्।

‘तर, कुनै विन्दुमा पुगेर भारतका नेताहरूले के स्वीकार्नुपर्ने छ भने आफूलाई छिमेकीहरूबाट छुट्याएर विश्व शक्ति बन्न सकिँदैन,’ अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूत हुसेन हक्कानी भन्छन्, ‘तपाईंले हरेक छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्वको प्रबन्ध गर्नुपर्ने हुन्छ, त्यो तपाईंको शत्रु होस् या मित्र।’

(न्युयोर्क टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad