ग्लोबल


मोदीको हुँकार: हाम्रा सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनायो

‘सिन्दूर बारुदमा परिणत हुँदा नतिजा के हुन्छ, संसारसँगै दुस्मनले पनि देखे’
मोदीको हुँकार: हाम्रा सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनायो

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १४:५५, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सुरु भएको सैन्य आक्रमण मे १० मा युद्धविराम भएयता रोकिएको त छ तर एकअर्काविरुद्ध धम्की दिने क्रम जारी छ। 

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक पाकिस्तानविरुद्ध हमलाको बखान गरेका छन्।

बिहीबार राजस्थानको बिकानेर पुगेका मोदीले त्यहाँ आयोजित जनसभालाई सम्बोधन गर्दै भारतीय सेनाले पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनाएको दाबी गरेका हुन्। 

मोदीले भने, ‘२२ अप्रिलमा आतंककारीहरूले धर्म सोधीसोधी हाम्रा दिदीबहिनीहरूको सिउँदोको सिन्दूर पुछिदिए। गोली पहलगाममा चलाइएको थियो तर तिनले १४० करोड देशवासीको मुटु छेडे।’

उनले अगाडि भने, ‘हाम्रो सरकारले तीनै सेनालाई स्वतन्त्रता दिएको थियो। र, तीन सेनाले यस्तो चक्रव्यूह सिर्जना गरे कि पाकिस्तान घुँडा टेक्न बाध्य भयो।’

भारतीय प्रधानमन्त्री मोदीले पहलगाममा अप्रिल २२ तारिख गरिएको आक्रमणको जवाफमा २२ मिनेटभित्र आतंककारी लुक्ने नौ ठूला ठाउँ ध्वस्त पारेको दाबी पनि गरे। 

उनले भने, ‘सिन्दूर बारुदमा परिणत हुँदा नतिजा के हुन्छ, संसारसँगै देशका दुस्मनले पनि देखे।’

प्रधानमन्त्री मोदीले आफ्ना हतियारमा गर्व गर्नेहरू आज भग्नावशेषको थुप्रोमा परिणत भएको दाबी पनि गरे।

गत अप्रिल २२ मा पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारतले मे ६ को राति र मे ७ को बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो।

भारतले यस कारबाहीलाई 'अपरेशन सिन्दूर' नाम दियो। त्यसपछि पाकिस्तानले पनि भारतका धेरै सीमावर्ती क्षेत्रमा गोलाबारी सुरु गर्दै ड्रोन र मिसाइल आक्रमण गर्‍यो। 

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको द्वन्द्वपछि मे १० का दिन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम सम्झौताको घोषणा गरे।

यसपछि दुई देशबीच युद्धविराम सहमति भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad