अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) को बन्द कोठामा भेटवार्ता गरेका छन्। दुवैले ह्वाइट हाउसको क्याबिनेट रुममा सँगै खाना खाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका कुनै राष्ट्रपतिले पाकिस्तानका सेना प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गरेको यो पहिलोपटक हो।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनेकी छन्, 'मुनिरले मे महिनामा भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्ने श्रेय ट्रम्पलाई दिए। अनि उनको भनाइको सम्मान गर्दै ट्रम्पले उनलाई लन्चका लागि बोलाए।'
भेटमा ट्रम्पले मुनिरको प्रशंसा गर्दै उनले द्वन्द्व रोक्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
मुनिरसँग भेटवार्तापछि ट्रम्पले ह्वाइट हाउसको ल्यानमा पत्रकारसँग भने, 'यो मान्छेले पाकिस्तानका तर्फबाट यो (भारत-पाकिस्तान युद्ध) रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।'
ट्रम्पले मुनिरसँग इरान-इजरायल द्वन्द्वबारे पनि छलफल गरेको जानकारी पनि दिए।
पाकिस्तानका सेना प्रमुख असिम मुनिर हाल अमेरिका भ्रमणमा छन्।
मुनिरले ट्रम्पसँग भेट गर्नु केही घण्टाअघि बुधबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपतिसँग ३५ मिनेट फोन वार्ता गरेका थिए।
Shares

प्रतिक्रिया