गत महिना भारत र पाकिस्तानबीच भएको द्वन्द्वको चर्चा फेरि चर्चामा आएको छ। कारण हो- इन्डोनेसियाको राजधानी जकार्तास्थित भारतीय दूतावास।
भारतीय दूतावासमा कार्यरत रक्षा सहचारीले पहलगाम आक्रमणपछि पाकिस्तानमा भारतले गरेको कारबाही अभियान 'अपरेसन सिन्दूर’बारे टिप्पणी गरेका छन्। जसका विषयमा भारतीय दूतावासले विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिनुपरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, रक्षा सहचारीले हालै जकार्तास्थित एक सेमिनारमा ‘अपरेसन सिन्दूर’को प्रारम्भिक चरणमा ‘भारतीय वायुसेनाका लडाकु विमान गुमेको तथा राजनीतिक नेतृत्वले अवरोध सिर्जना गरेको' कुरा गरेका छन्।
यसपछि आइतबार साँझ भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै ‘उनको भनाइलाई सन्दर्भभन्दा बाहिर उद्धृत गरिएको र सञ्चारमाध्यमले उनको मनसायलाई गलत तरिकाले प्रस्तुत गरेको’ दाबी गरेको छ।
अनि सुरु भयो चर्चा
जकार्तास्थित भारतीय दूतावासमा कार्यरत नौसेना अधिकारी क्याप्टेन शिव कुमारले बोलेको भिडिओ आइतबार सार्वजनिक भयो।
उनी जुन १० मा जकार्ताको एक विश्वविद्यालयमा आयोजित 'भारत-पाकिस्तान हवाई युद्धको विश्लेषण र वायु शक्तिको सन्दर्भमा इन्डोनेसियाको पूर्वानुमान रणनीति' सेमिनारमा सहभागी भएका थिए।
जसमा उनले 'राजनीतिक नेतृत्व' को आदेशले उत्पन्न केही 'अवरोध'का कारण अपरेसनको प्रारम्भिक चरणमा भारतीय वायुसेनाले पाकिस्तानी सैन्य प्रतिष्ठानमा आक्रमण गर्न नसकेको बताएका थिए।
समाचार एजेन्सी पीटीआईका अनुसार उनले भनेका थिए, 'हामीले केही विमानहरू गुमायौँ र यो राजनीतिक नेतृत्वले सैन्य प्रतिष्ठान वा उसको वायु रक्षा प्रणालीमा आक्रमण नगर्न अवरोध सिर्जना गरेका कारण भएको थियो।'
‘तर हारपछि हामीले हाम्रो रणनीति परिवर्तन गर्यौँ र हामी सैन्य प्रतिष्ठानहरूतिर लाग्यौँ। त्यसैले हामीले पहिले शत्रुको वायु रक्षालाई दमन र नष्ट गर्यौँ। त्यसैले हामी जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र र ब्रह्मोस क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गर्न सक्षम भयौँ।’
कांग्रेसले उठायो प्रश्न
यस विषयमा राजनीति पनि सुरु भएको छ।
आइतबार विपक्षी पार्टी कंग्रेसले विमान गुमाएकोबारे रक्षा सहचारीले दिएको अभिव्यक्तिका विषयमा भारत सरकारप्रति प्रश्न उठाउँदै देशलाई 'भ्रम'मा पारेको आरोप लगाएको छ।
कंग्रेस पार्टीले आफ्नो एक्स अकाउन्टमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन प्रश्न गरेको छ।
पहिलो प्रश्न हो- ‘प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सर्वदलीय बैठक बोलाउन किन अस्वीकार गरिरहनुभएको छ?'
दोस्रो प्रश्न- ‘यस विषयमा संसद्को विशेष सत्र बोलाउनुपर्ने माग किन खारिज गरियो?'
अनि कंग्रेसको गरेको तेस्रो तथा अन्तिम प्रश्न हो- ‘प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री जयशंकरले देशलाई के लुकाइरहेका छन्?'
करिब एक महिनाअघि रक्षा प्रमुख (सीडीएस) अनिल चौहानले सिंगापुरमा भनेका थिए, पाकिस्तानसँगको हालैको सैन्य झडपमा विमान गुमाएपछि भारतले पाकिस्तानी भूभागभित्र सुधारिएको रणनीतिका साथ आक्रमण गरेको थियो।
यद्यपि सीडीएस चौहानले कति र कस्तो प्रकारका विमान गुमे भनेर बताएनन्।
के भन्यो भारतीय दूतावासले?
जकार्तास्थित भारतीय दूतावासले उक्त प्रकरणका विषयमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत विज्ञप्ति जारी गरेको छ।
जसमा भनिएको छ, ‘अधिकारीले भारतका अन्य छिमेकी देशभन्दा फरक यसको रक्षा बल राजनीतिक नेतृत्वमा मात्र काम गर्छन् भन्ने तर्क मात्र उद्धृत गरेका छन्।
भारतीय दूतावासले अगाडि लेखेको छ, ‘हामीले मिडियामा केही रिपोर्ट देख्यौँ, जुन एक सेमिनारमा रक्षा सहचारीले प्रस्तुत गरेको विषयसँग सम्बन्धित छन्। उनको भनाइ वास्तविक सन्दर्भ हटाएर देखाइएको छ र मिडिया रिपोर्टमा उनका कुरालाई गलत तरिकाले प्रस्तुत गरिएको छ।’
’प्रस्तुतिकरणमा भनिएको थियो- ‘भारतीय सैन्य बल निर्वाचित सरकारको आदेशमा काम गर्छन्, जुन हाम्रा केही छिमेकी देशहरूभन्दा फरक छ।’
’यसो पनि भनिएको थियो- अपरेसन सिन्दूरको उद्देश्य आतंककारी लुक्ने ठाउँ लक्ष्य गर्नु थियो र भारतले गरेको कारबाही तनाव बढाउने खालको थिएन।’
पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले मे ७ मा पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा सैन्य अपरेसन सुरु गरेको थियो, जसलाई 'अपरेसन सिन्दूर' नाम दिइएको थियो।
बदलामा पाकिस्तानले पनि भारतमा हमला थालेपछि दुई देशबीच जुन मे १० सम्म हानाहान भएको थियो। तर पछि युद्धविराम गरिएको थियो।
Shares

प्रतिक्रिया