मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद बिहीबार १०० वर्ष पुगेका छन्। तैपनि उनी मलेसियाको राजनीतिमा उत्तिकै सक्रिय छन्। उनलाई मानसिक र शारीरिक स्वास्थ्यले पनि साथ दिएको देखिन्छ।
पछिल्ला केही दिनयता महाथिरलाई सामाजिक सञ्जालमा प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन्। खासगरी मुस्लिम विश्वमा उनलाई पश्चिमविरुद्ध बोल्नसक्ने नेताको रूपमा प्रशंसा गर्ने गरिन्छ।
दुईपटक गरी २४ वर्ष मलेसियाको सत्तामा रहेका उनले सो देशमा कहिल्यै नमेटिने प्रभाव छाडेका छन्। शताब्दी टेक्नुअघिको अन्तिम दिन पनि उनले आफ्नो कार्यालयमा उसैगरी बिताए, जसरी अरु दिन बिताउने गर्थे। मानिसहरूसँग भेटघाट र लेखपढ गर्दै।
पूर्वयुवामन्त्री सइद सिद्दिक सइद अब्दुल रहमान सय वर्षको उमेरमा पनि महाथिरको सक्रियता अरुलाई लज्जित तुल्याउने खालको रहेको बताउँछन्।
‘उहाँ अझै पढ्नुहुन्छ, लेख्नुहुन्छ, कसरत गर्नुहुन्छ, स्पष्ट रूपमा बोल्नुहुन्छ। यी सबै कुरा तन र मन तीक्ष्ण राख्ने हो भने उमेर भनेको एउटा अंक मात्रै रहेछ भन्ने कुराका प्रमाण हुन्,’ सइद भन्छन्।
आफ्नो दीर्घजीवनबारे महाथिरले भन्ने गरेका छन्, ‘अघाउञ्जेल नखाने।’ हुन पनि ४० वर्षयता उनले आफ्नो तौल ६२ किलो कायम राखेका छन्।
‘तपाईं उहाँको राजनीतिमा असहमत हुन सक्नुहुन्छ, तर उहाँ मलेसियाको सबैभन्दा परिचित र उल्लेखनीय राजनेता हो भन्ने तथ्यलाई अस्वीकार गर्न सक्नुहुन्न,’ सइद भन्छन्।
महाथिरको राजनीतिक प्रभाव अहिले कमजोर भएको छ। २०२२ को चुनावमा उनले आफ्नो सिट जोगाउन सकेनन्। उनी आफ्नै पार्टीबाट अलग भए। तथापि, उनी मलेसियाको राजनीतिमा एउटा शक्तिका रूपमा अझै कायम छन्। उनी सधैँ राजनीतिक घटनाक्रमबारे तिखो टिप्पणी गरिरहन्छन्।
थुप्रैले महाथिरलाई उनीपछिका प्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीजसरी शान्त निवृत्त जीवन बिताउन सुझाव दिएका छन्। तर, महाथिरलाई आफ्नो जिम्मेवारी ज्यादा रहेको महसुस हुन्छ।

‘मान्छेहरू आफ्नो समस्या लिएर मकहाँ आउँछन् र केही भनिदिनुपर्यो भन्छन्। त्यसैले म मौन बस्न सक्दिनँ,’ उनले गत मेमा एक अन्तर्वार्तामा भनेका थिए।
महाथिर सधैँ कार्यालयमा सबैभन्दा अगाडि आउँछन् र सबैभन्दा पछाडि निस्किन्छन्। पहिलो कार्यकालमा प्रेसलाई मुठ्ठीमा राखेका उनी दोस्रो कार्यकालपछि प्रेस स्वतन्त्रता पक्षधर भएका छन्।
सय वर्ष पुग्दै गर्दा उनी आफ्नो दीर्घजीवनबारे पनि ठट्टा गर्ने गर्छन्। समर्थकहरूले ‘महाथिर जिन्दावाद’ को नारा लगाउँदा उनी भन्ने गर्छन्, ‘म अझै जिउँदै छु।’
पछिल्लो समय उनी पडकास्टमा निरन्तर देखिइरहेका छन् जसमा उनी स्थानीय र विश्वव्यापी मुद्दामा बोलिरहेका हुन्छन्। एजेन्सी
Shares

प्रतिक्रिया