ग्लोबल


सुरु भयो रुस-भारत-चीन त्रिदेशीय सहकार्य ब्युँताउने प्रयास, कति सम्भव?

सुरु भयो रुस-भारत-चीन त्रिदेशीय सहकार्य ब्युँताउने प्रयास, कति सम्भव?

नेपालखबर
साउन २, २०८२ शुक्रबार १६:५९,

रुस–भारत–चीन (आरआईसी) त्रिपक्षीय सहकार्य ब्युँताउने प्रयास सुरु भएको छ। महामारी र भारत–चीन दुस्मनीका कारण रोकिएको यो सहकार्य रुसको प्रस्तावमा ब्युँतिन लागेको हो।

रुसको प्रस्तावमा चीन र भारत दुवै सकारात्मक देखिएका छन्। 

यी तीन देशका विदेशमन्त्रीहरूबीच बेइजिङमा भेट भएलगत्तै आरआईसीको चर्चा सुरु भएको हो। सांघाई कोअपरेसन अर्गनजाइजेसनको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन पुगेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले वाङ यी र सेर्गेइ लाभ्रोव दुवैसँग भेट गरेका थिए।

१९९० को दशकमा रुसी प्रधानमन्त्री यव्गेनी प्रिमाकोवले यो त्रिपक्षीय सहकार्यको विचार अघि सारेका थिए। पश्चिमा प्रभुत्व र अमेरिकी मनलाग्दीलाई टक्कर दिन उनले यस्तो प्रस्ताव राखेका थिए। २००२ मा आएर उनको प्रस्ताव फलिभूत भयो। 

२००२ देखि २०२० सम्ममा आरआईसीले २० पटकभन्दा बढी मन्त्रीस्तरीय बैठक आयोजना गरेको थियो। व्यापार, ऊर्जा र विपद् व्यवस्थापनमा उनीहरूले सहकार्य गरेका थिए।

तर, २०२० मा कोभिड १९ र लद्दाख झडपसँगै यसका गतिविधि ठप्प भए। तर, गत वर्षको अन्त्यदेखि भारत र चीन सम्बन्ध सुधारको दिशामा छन्।

हालै रुसी उपविदेशमन्त्री आन्द्रेइ रुदेन्कोले त्रिपक्षीय संवाद ब्युँताउनुपर्ने बताएका छन्।

‘यी दुवै देशसँगको वार्तामा यो विषय उठेको छ। यो ढाँचा सक्रिय होस् भन्ने हाम्रो चाहना छ। किनकि यी तीन मुलुक ब्रिक्सको संस्थापकका अलावा महत्वपूर्ण साझेदार पनि हुन्,’ रुदेन्कोले भनेका छन्, ‘त्यसैले यसको अनुपस्थिति मेरो विचारमा उचित छैन। त्यस हिसाबले मुलुकहरूले आरआईसीको खाकाभित्रको कामलाई निरन्तरता दिने आशा मलाई छ।’

यसमा चीनले पनि सहमति जनाएको छ। 

बिहीबार नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले भने, ‘चीन–रुस–भारत सहकार्यले यी तीन देशको हितको मात्र सेवा गर्दैन, विश्वकै शान्ति, सुरक्षा, स्थायित्व र प्रगतिलाई सहयोग पुर्‍याउँछ। त्रिपक्षीय सहकार्य अघि बढाउन रुस र भारतसँग सम्पर्कमा रहन चीन तयार छ।’

भारतीय विदेश मन्त्रालयले पनि यसमा सकारात्मक प्रतिक्रिया दिएको छ। यद्यपि, उसको धारणा रुस र चीनको भन्दा कम उत्साहजनक देखिन्छ।

‘आरआईसीको बैठक कहिले हुन्छ भन्ने सवालमा यो तीन मुलुकले आपसी सुविधाजनक ढंगले टुंगो लगाउने कुरा हो,’ प्रवक्ता रणधीर जैसवालले भनेका छन्।

बैठकको सहमति अहिलेसम्म नभएको उनले स्पष्ट पारेका छन्।

यो त्रिपक्षीय सहकार्यमा प्रमुख बाधाका रूपमा रहेको भारत–चीन सम्बन्धमा सुधार आएको छ। सी चिनफिङ र नरेन्द्र मोदीबीचबीच गत वर्ष रुसको कजानमा भेट भएको थियो। हालै जयशंकरअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र रक्षामन्त्री राजनाथ सिंहले पनि चीन भ्रमण गरेका छन्।

यी तीनै देशसँग एकअर्कासँग सहकार्य गर्नुपर्ने अनेकौँ कारणहरू छन्। पश्चिमबाट एक्लिएको रुसका लागि चीन र भारत सबैभन्दा निकट मुलुकमध्येका हुन्। तर, ती दुई देशबीचको दुस्मनीले उसलाई असहज तुल्याउने गरेको छ।

डोनाल्ड ट्रम्पको प्रमुख निसानामा रहेको चीन पनि भारतसँग सम्बन्ध सुधार गरी सम्पूर्ण ध्यान अमेरिकामा केन्द्रित गर्न चाहन्छ।

पछिल्लो केही दशक अमेरिकासँग निकट देखिएको भारत डोनाल्ड ट्रम्पका नीतिहरूका कारण असमञ्जसमा देखिन्छ। सोहीकारण चीनसँगको सम्बन्ध सुधार उसको हितमा देखिन्छ। तर, आफ्नो कट्टर शत्रु पाकिस्तानलाई साथ दिएको हुनाले भारतले चीनलाई पूर्ण रूपमा विश्वास गर्न सक्ने स्थिति देखिँदैन।

तैपनि यतिबेला आरआईसीको चर्चा चल्नु भनेको भारतले अमेरिकासँगको सम्बन्धमा सहज महसुस गर्न नसकेको संकेत भएको कतिपय विश्लेषकको भनाइ छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad