धातुको गह्रौँ सिक्री लगाएका एक ६१ वर्षीय व्यक्तिलाई एमआरआई मेसिनले तान्दा उनको मृत्यु भएको छ। अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा सो घटना भएको हो।
ती व्यक्ति बिनाअनुमति एमआरआई मेसिन चालु रहेको कोठामा छिरेको प्रहरीले बताएको छ।
उनकी पत्नीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार उनले आफ्नो एमआरआई सकिएपछि पतिलाई भित्र बोलाएकी थिइन्। तर, कसरतका लागि धातुको नौ किलोको सिक्री लगाएका उनलाई मेसिनले तानेको उनको भनाइ छ।
एमआरआई गर्नुअघि बिरामीहरूलाई धातुका सरसामान हटाउन र कपडा फेर्न लगाइन्छ। किनकि मेसिनले धातुलाई तान्ने गर्छ।
‘ती पीडित पुरुषले धातुको ठूलो सिक्री लगाएका थिए, जसले गर्दा उनी मेसिनभित्र तानिए,’ प्रहरीले भनेको छ।
प्रहरीले पीडितको नाम सार्वजनिक नगरेपनि एड्रियाना जोन्स म्याकएलिस्टरले आफ्नो पति किथको ज्यान गएको बताएकी छन्।
कसरतका लागि उनले नौ किलोको सिक्री गलामा बेरेको म्याकएलिस्टरको भनाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया