सोमबार दिउँसो बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलमा बंगलादेशी वायुसेनाको एफ-७ बीजेआई प्रशिक्षण विमान खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
बीबीसी बंगलाका अनुसार विमान दुर्घटनामा १६ जनाको मृत्यु र कम्तीमा १५० जना घाइते भएका छन्।
घाइतेहरूलाई राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र ढाका मेडिकल कलेज नजिकै रहेको उत्तरा मोडर्न अस्पताललगायत विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार पढाइ सकेर बिदा हुनै लागेका बेला विमान कलेज भवनमा खसेको थियो।
उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोकियो। अनि नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा बजारियो। स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिअनसार सोमबार दिउँसो १:०६ बजे (स्थानीय समय) उडेको विमान केही समयपछि नै नियन्त्रण गुमाउँदै खसेको थियो।
अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धारमा खटिएका छन्।
बंगलादेश सरकारले विमान दुर्घटनाका कारण मंगलबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। यस दिन सबै सरकारी, अर्ध-सरकारी, स्वायत्त संस्था र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ।
Shares

प्रतिक्रिया