ग्लोबल


इजरायली सेना प्रमुखले भने: बन्धक रिहाइका लागि सम्झौता तयार छ, अब यो प्रधानमन्त्रीको हातमा छ

इजरायली सेना प्रमुखले भने: बन्धक रिहाइका लागि सम्झौता तयार छ, अब यो प्रधानमन्त्रीको हातमा छ

इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर


नेपालखबर
भदौ ९, २०८२ सोमबार १९:४८, काठमाडौँ

इजरायलका सेना प्रमुखले गाजामा बाँकी रहेका बन्धक रिहाइका लागि सम्झौता तयार पारिएको बताएका छन्।

च्यानल १३ को रिपोर्टअनुसार, इजरायल रक्षा बल (आईडीएफ) का प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले इजरायली सेनाले सम्झौताका सर्त तयार पारेको र अब यो प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको 'हातमा' रहेको बताएक हुन्। 

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलबार क्षेत्रीय मध्यस्थकर्ताहरू (कतार र इजिप्ट) द्वारा इजरायल र हमासबीच सम्झौताका लागि प्रस्तुत पछिल्लो प्रस्तावमा छलफल गर्ने भएको छ। हमासले एक हप्ताअघि यो प्रस्ताव स्वीकार गरेको थियो।

यस महिनाको सुरुमा गाजामा युद्धविराम माग गर्दै इजरायलमा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो। तेल अभिभको सडकमा लाखौँ मानिस भेला भएर इजरायली सरकारसँग हमाससँग जारी युद्ध तुरुन्तै अन्त्य गरेर बन्धक रिहाइका लागि सम्झौता गर्न माग गरेका थिए।

बन्धक तथा बेपत्ता पारिएका व्यक्तिहरूको संयुक्त मञ्चले इजरायली सेना प्रमुखको भनाइलाई स्वागत गरेको छ।

मञ्चले मंगलबार इजरायली सरकारविरुद्ध ठूलो विरोध प्रदर्शनको योजना बनाइरहेको छ।

इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको पछिल्लो प्रस्ताव जुनमा अमेरिकाका राजदूत स्टिभ विटकफले प्रस्तुत गरेको ढाँचामा आधारित रहेको बताइएको छ।

यसअन्तर्गत हमासले प्रारम्भिक ६० दिनको युद्धविरामका क्रममा दुई चरणमा गरी लगभग आधा संख्यामा बन्धक रिहा गर्नेछ। यसका साथै स्थायी युद्धविराममा पनि वार्ता गर्नेछ। 

तर इजरायलका प्रधानमन्त्री नेतन्याहुको विचार यसभन्दा पूर्ण रूपमा फरक छ। उनले एकैपटक सबै बन्धक मुक्त गरिनुपर्ने माग गरेका छन्।

हमासको नियन्त्रणमा रहेका बन्धकमध्ये करिब २० जना जीवित रहेको विश्वास गरिएको छ। 

गाजामा युद्धविराम र बन्धक रिहाइका लागि हुने सम्झौता नेपालका लागि पनि महत्त्वपूर्ण विषय हो, किनभने नेपाली विद्यार्थी विपिन जोशी पनि झन्डै २ वर्षदेखि हमासको हिरासतमा छन्। तर उनको अवस्थाबारे सरकारले अहिलेसम्म स्पष्ट जानकारी प्राप्त गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad