शुक्रबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न मञ्चमा जाँदा धेरै देशका प्रतिनिधिले बहिष्कार गरेका छन्।
बीबीसीका अनुसार उनी सम्बोधनका लागि मञ्चतर्फ जाँदै गर्दा विरोधमा धेरै देशका प्रतिनिधि बाहिर निस्किएका हुन्। जसले गर्दा सभा हलका धेरै कुर्सी खाली भएका थिए।
यद्यपि महासभा हलको माथिको बाल्कोनीमा बसेका धेरै मानिसहरूले नेतन्याहुलाई ताली बजाएर स्वागत गरे।
हालै फ्रान्स र स्पेनले प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिएका छन्।
यसै महिना संयुक्त राष्ट्रसंघले गाजामा इजरायलले ‘प्यालेस्टिनीविरुद्ध नरसंहार’ गरेको निष्कर्ष निकालेको थियो।
आफ्नो भाषणमा नेतन्याहुले प्यालेस्टिनीलाई देशको मान्यता प्रदान गर्नुलाई "पागलपन’ र "लज्जास्पद’ भनी टिप्पणी गरे।
उनले हमासलाई भने, ‘आफ्नो हतियार तल राख, हामीलाई भित्र पस्न देऊ र बन्धकहरूलाई मुक्त गर, नत्र हामी तिमीलाई खोजेर मार्नेछौँ।’
हमासद्वारा बन्धक बनाइएकाहरूलाई सम्बोधन गर्दै उनले थपे, ‘हामीले तपाईंहरूलाई बिर्सेका छैनौँ एकछिन पनि। इजरायलका जनता तपाईंहरूसँगै छन्।’
उनको यो अभिव्यक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जा गर्न अनुमति नदिने बताएपछि आएको हो।
ट्रम्प र नेतन्याहु सोमबार भेट्ने कार्यक्रम छ।
Shares

प्रतिक्रिया