ग्लोबल


गाजाका बन्धक रिहा हुने खबरले इजरायलमा ऐतिहासिक उल्लास

गाजाका बन्धक रिहा हुने खबरले इजरायलमा ऐतिहासिक उल्लास

नेपालखबर
असोज २३, २०८२ बिहिबार १२:३, तेल अभिभ

करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनुपर्‍यो। तर बिहीबार बिहान मध्य तेल अभिभको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुसी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो।

समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्याहट मच्चियो। श्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेसन गरियो, मिठाई बाँडियो, अनि हाँसो र आलिङ्गनसहित आँसु बगाए- गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदियो।

बन्दीहरू मुक्त गराउने अभियानको प्रमुख अनुहार मानिएकी इना जाङ्गाउकरले आफ्नो बन्धक छोराको नाम उच्चारण गर्दै चिच्याए, ‘मतन घर आउँदै छ!’

हात आकाशतिर उठाउँदै उनले ‘धन्यवाद’ भने र भावनामा डुबे। वरिपरि समर्थकहरूको भिड, बन्धकका परिवार र पहिले मुक्त भएका पूर्वबन्दीहरूले चोक भरिदिएका थिए। पत्रकारहरूलाई उनले भने, ‘म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु। मेरो एउटा मात्र सपना छ- उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने।’

सन् २०२३ अक्टोबर ७ मा हमासको इजरायलमाथिको आक्रमणपछि जब उनीहरूको प्रियजनहरू अपहरणमा परे, त्यतिबेलादेखि यी परिवारहरू निरन्तर सङ्घर्षमा छन्। उनीहरूले विश्व नेताहरूसँग भेटघाट गरेका छन्, इजरायली राजनीतिज्ञहरूसँग वादविवाद गरेका छन्, अनि आफ्नो परिवारका सदस्यहरूलाई दुःस्वप्नजस्तो अवस्थाबाट मुक्त गराउने प्रतिज्ञा कहिल्यै त्यागेका छैनन्।

तर, बिहीबार त्यो सङ्घर्षको दिशानिर्देशक क्षण बन्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धक रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ स्क्वायरमा उत्साह र आशाको लहर फैलियो।

इजरायली तथ्याङ्कअनुसार, सुरुमा अपहरणमा परेका २५० जनामध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ।

सन् २०२३ अक्टोबर ७ को भयावह बिहानदेखि बन्धक परिवारहरूले प्रत्येक दिन, घण्टा र सेकेन्ड गन्दै बिताएका थिए। स्क्वायरमा राखिएको ‘काउन्टडाउन’ घडीले ती पीडाका क्षणहरू गन्दै आएको थियो।

तर आज ती सेकेन्डहरू अब स्वतन्त्रताको नजिक धकेलिँदै थिए, समयले बन्धकहरूको घरफिर्तीको आहट सुनाइरहेको थियो। रेबेका बोबोटले इन्स्टाग्राममा लेखेका छन्, ‘दुई वर्षदेखि म आफ्ना प्रियजनको जीवनका लागि लड्दै आएकी छु। यो त्यो क्षण हो- जब एउटा सानो केटाले आफ्ना बुबालाई अँगालोमा बेर्छ, जब मेरो परिवार फेरि जीवित हुन्छ।’

उनका पति एल्काना अक्टोबर ७ मा बन्धक बनाइएका थिए। उत्सवको केन्द्रबिन्दु राष्ट्रपति ट्रम्प नै बनेका थिए। 

धेरै जना इजरायली र बन्धक परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सम्झौतामा सहमत गराउन ट्रम्पको दबाब र मध्यस्थतालाई श्रेय दिए।

स्क्वायरमा केही व्यक्ति ट्रम्पको पोसाकमा सजिएका थिए, अमेरिकी झण्डा फहराइरहेका थिए, अनि भिडले ‘धन्यवाद, ट्रम्प’ भन्दै नारा लगाउँदै उनलाई नोबेल शान्ति पुरस्कारको योग्य ठहर गरे।

तर सबैभन्दा गहिरो कुरा सन् २०२३ अक्टोबर ७ पछि इजरायलमा फैलिएको उदासी र पीडाको वातावरणलाई पहिलोपटक आशाले प्रतिस्थापन गरेको देखियो।

होस्टेज स्क्वायरमा लामो समयपछि जीवन र मुस्कान फर्किएको थियो। त्यो दिनको अन्धकार अझै स्मृतिमा बाँकी भए पनि आजको रातमा इजरायलीहरूका आँखामा उज्यालो देखिन्थ्यो।

युद्धको प्रारम्भमा मुक्त भएका पूर्वबन्धक ओमर वेन्कर्टले सम्झौताको समाचार सुनेपछि भावनात्मक स्वरमा भने, ‘मलाई टाउकोदेखि खुट्टासम्म चिसो महसुस भइरहेको छ। म कल्पना पनि गर्न सक्दिनँ- हामी एक राष्ट्रका रूपमा कति गहिरो खुसी महसुस गर्न सक्षम हुनेछौँ।’ रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad