ग्लोबल


भेनेजुएलाकी मचाडोले पाइन् नोबेल शान्ति पुरस्कार, ट्रम्प परे हिस्स

भेनेजुएलाकी मचाडोले पाइन् नोबेल शान्ति पुरस्कार, ट्रम्प परे हिस्स

मारिया कोरिना मचाडो र डोनाल्ड ट्रम्प


नेपालखबर
असोज २४, २०८२ शुक्रबार २१:११, काठमाडौँ

अन्तत: २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ।

नोबेल शान्ति समितिले ‘भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि लडेकाले’ मचाडोलाई नोबेल शान्ति पुरस्कार दिइएको जनाएको छ।

उल्लेखनीय छ- यसअघि नोबेल शान्ति पुरस्कार कसले पाउला भनेर विश्व उत्सुकतापूर्वक पर्खिरहेको थियो। किनभने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार यो पुरस्कारको दाबेदार आफू भएको बताइरहेका थिए।

ट्रम्पले विश्वका धेरै देशमा आफूले युद्ध अन्त्य गराई शान्ति स्थापना गराएकाले यो पुरस्कार आफूले पाउनुपर्ने दाबी गरिरहेका थिए। हालै मात्र उनले गाजामा युद्धविरामका लागि हमास र इजरायलबीच सम्झौता गराएका थिए। 

यसैबीच ह्वाइट हाउसले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णयको आलोचना गरेको छ। 

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले नोबेल शान्ति समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको टिप्पणी गरेका छन्। 

उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता गराइरहनेछन्, युद्ध अन्त्य गराइरहनेछन् र जीवन बचाइरहनेछन्। नोबेल समितिले शान्ति होइन, राजनीति रोजेको प्रमाणित गरेको छ।’

उनले अगाडि लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पमा एक सच्चा मानवताको हृदय छ। उहाँजस्तो कोही पनि छैन, जसले इच्छाशक्तिबाट असम्भवलाई सम्भव बनाउन सक्छ।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि समितिलाई उनलाई पुरस्कार प्रदान गर्न अपिल गरेका थिए।

नोबेल शान्ति समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसलाई पनि डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्न गरिएको थियो।

उनलाई ट्रम्पलाई पुरस्कार प्रदान गर्न अमेरिकी राष्ट्रपति आफैँ र अन्तर्राष्ट्रिय समुदायबाट दबाब थियो कि थिएन र यो दबाबले समितिको छलफललाई प्रभाव पारेको थियो कि थिएन भनेर सोधिएको थियो।

जवाफमा फ्राइडनेसले भने, ‘नोबेल शान्ति पुरस्कारको लामो इतिहासको अवधिमा समितिले अभियान र 'मिडियाको ध्यान' देखेको छ र समितिले हरेक वर्ष मानिसहरूबाट हजारौँ पत्र प्राप्त गर्दछ, जसमा उनीहरूले शान्तिको मार्गका लागि के गरेका छन् भनेर बताउँछन्।’

‘हामी हाम्रा निर्णय अल्फ्रेड नोबेलको काम र उनको इच्छाका आधारमा लिन्छौँ’, उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad