सुदूरपश्चिम


इजरायल र हमासबीचको युद्धविरामले विपिनको परिवारमा जागेको आशा

बुवा भन्छन्ः घर फर्कने विश्वास छ
इजरायल र हमासबीचको युद्धविरामले विपिनको परिवारमा जागेको आशा

नेपालखबर
असोज २४, २०८२ शुक्रबार २१:२८, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका महानन्द जोशीले परिवारमा यसपालीको दसैँ मनाएन। उनलाई चाडबाड नबनाएको दुई वर्ष बितिसक्यो। 

छोराको पर्खाइमा बाटो कुरिरहेका महानन्द यसवर्षको तिहारमा खुसीयाली फर्किने आशमा छन्।

परिवारका एक्ला छोरा विपिन इजरायलबाट विद्रोही हमास समूहको बन्धक बनेको दुई वर्ष पूरा भइसकेपनि उनको अवस्था अज्ञात छ। हालै विपिनको एउटा पुरानो भिडिओ सार्वजनिक भएको छ। 

इजरायल र हमासबीच युद्ध अन्त्यको घोषणा भएसँगै विपिन घर फिर्ती हुने आश बढेको छ। शान्ति सम्झौता र बन्धक रिहा हुने खबरले जोशी खुसी छन्। र, छिट्टै छोरालाई हेर्न आतुर छ परिवार।
महानन्द हमासले बन्धक मुक्त गर्ने दिन गन्दै बसेका छन्। 

‘आइतबारदेखि हमासले बन्धक मुक्त गर्ने खबर सुनिदैछ। युद्ध अन्त्यले आशा पलाएको छ,’ महानन्द भन्छन्, ‘अवस्था अझैसम्म पत्ता लागेको छैन।’

विपिनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल हुँदै अमेरिका पुगेर रिहाइको याचना गरिरहेका छन्। महानन्द छोराको केही जानकारी आउँछ कि भनेर दिनहुँ समाचार हेर्ने छुटाउँदैनन्। 

अमेरिकामा रहेका पत्नी र छोरीसँग नयाँ समाचारका बारेमा निरन्तर सोधीखोजी गरिरहन्छन्। इजरायल र हमासबीच युद्ध विरामको खबर आउने बित्तिकै उनको मनमा आशा जाग्छ, अब त छोरा घर आउला भनेर। 

‘हामी विपिनको पर्खाइमा छौँ। छोरा घर आउला भन्ने आशमा छौँ।’ महानन्दले भने, ‘आशा मरेको छैन।’ 

विपिनको परिवार उनी आउने बाटो पर्खेर बसेको छ। इजरायलमा आक्रमण गरेर प्यालिस्टिनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिनलाई बन्दी बनाएको थियो। 

इजरायल गएका एक्ला छोरा विपिनलाई हमासले बन्धक बनाएपछि सम्पर्क हुन सकेको छैन। 

दुई पटक युद्धविराममा थुप्रै विदेशी बन्धक मुक्त भएपनि विपिन भने अज्ञात छन्।  

‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। 

युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो। 

त्यसपछि हाल परिवारलाई विपिनको पुरानो भिडिओ बाहेक कुनै अन्य जानकारी छैन।  ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। हमासले फालेको ‘ग्रिनेड’ हालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad