हमासले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको सर्तअन्तर्गत थप दुई इजरायली बन्धकको शव हस्तान्तरण गरिएको बताएको छ। बाँकी शव पत्ता लगाउन थप समय मागेको छ।
हमासको सशस्त्र शाखाले बाँकी बन्धकको शव खोज्न र निकाल्न विशेष उपकरण आवश्यक पर्ने बताएको छ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हमासले सम्झौताको पालना गरेन भने इजरायली सेनाले गाजामा पुनः लडाइँ सुरु गर्न सक्ने चेतावनी दिएका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी रेडक्रसमार्फत बन्धकहरूको शव प्राप्त भएको र पहिचानको प्रक्रिया चलिरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘इजरायली सुरक्षा बल (आईडीएफ) जनतालाई संवेदनशीलता अपनाउन र आधिकारिक पहिचानको प्रतीक्षा गर्न आग्रह गर्दछ, जसको सूचना सबैभन्दा पहिले मृतक बन्धकहरूको परिवारलाई दिइनेछ।’
गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले कुल २८ बन्धकको शव फिर्ता गर्नुपर्नेछ।
बुधबार राति फिर्ता गरिएका दुई शव इजरायली बन्धक भएको पुष्टि भएमा हमासले फिर्ता गरेको बन्धक शवको कुल संख्या ९ पुग्ने बीबीसीले जनाएको छ।
Shares

प्रतिक्रिया